२७ आश्विन २०८१, आईतवार
कर्णाली करिडोर अवरुद्ध : यात्रुलाई सास्ती, पहिरो पन्छाउन छैन पैसा
हस्तान्तरण भएको दुई साता नपुग्दै कर्णाली करिडोरअन्तर्गतको खुलालु–लैफु–सल्लीसल्ला सडक अवरुद्ध भएको छ । वर्षाले करिडोरका ठाउँठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो । कालीकोटको खुलालुदेखि सल्लीसल्लासम्मको १ सय २२ किमि सडक नेपाली सेनाले निर्माण सकेर गत असार ३१ मा सडक विभागलाई हस्तान्तरण गरेको थियो ।
ठाउँठाउँमा पहिरो खस्दा र गत वर्षको वर्षामा बाढीले बगाएको फुगाडखोलाको बेलिब्रिज निर्माण नहुँदा सडक अवरुद्ध भएको हो । सडकको पहिरो पन्छाउने काम नेपाली सेनाले गर्ने लिखित सहमति भए बजेट नहुँदा समस्या भएको निर्माण कार्यदल प्रमुख मिलन कार्कीले जानकारी दिए । ‘फुगाडमा खोला बढेकाले साना गाडी तर्न सक्ने अवस्था छैन,’ उनले भने, ‘अरू ठाउँको पहिरो हटाउन पनि पैसाको सुनिश्चितता नभएकाले काम अघि बढेको छैन ।
कालीकोटको अँधेरीखोलादेखि भुराबगरसम्म फुकोट जलविद्युत् आयोजनाका कारण पनि पहिरो खसेको सडक निर्माण कार्यदलले जानकारी दिएको छ । वर्षाले करिडोर अवरुद्ध भएपछि स्थानीयलाई सास्ती भएको छ । बिरामीलाई काँधमा बोकेर अस्पताल लैजानुपर्ने बाध्यता भएको पलाता–१ पुलाहाका खडक भण्डारीले बताए । ‘वर्षाले सडकको बिजोग छ,’ उनले भने, ‘वर्षा नसकिएसम्म गाडी चढ्न पाइएला जस्तो छैन ।’ घरबाट दुई दिन पैदल हिँडेर सदरमुकाम मान्म पुगेको उनको गुनासो छ । कर्णाली करिडोर अवरुद्ध हुँदा थिर्पुबाट पैदल हिँडेर मान्म आएको पलाता गाउँपालिकाका कर्मचारी बिअराज बमले बताए । कर्णाली करिडोरका रेगिंल, फुगाड, लाफा, बाजुराको रातालगायत ठाउँमा पहिरो खसेको छ भने दर्जनौं ठाउँमा हिलोले गाडी चल्ने अवस्था छैन ।
सरकारले २०७१ चैतमा कर्णाली करिडोरको खुलालु–लैफु सल्लीसल्ला सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो । कडा चट्टान भएकाले नेपाली सेनाले सात ठाउँमा सैनिक क्याम्प राखी सात वर्षमा सडक निर्माण सकेको थियो । सबै कागजात सडक विभागलाई बुझाइसकेको प्रमुख सेनानी कार्कीले जानकारी दिए । कालीकोटको फुगाड, हुम्लाको सल्लीसल्लालगायत ५ वटा खोलामा बेलिब्रिज बनाउन विभागसँग स्वीकृति लिने काम भइरहेको छ । छिट्टै टेन्डर निकालेर बेलिब्रिज बनाइने उनले बताए ।
सेनाले जिम्मा लिएको १ सय २२ किमि सडक खन्न १ अर्ब ६५ करोड ५५ लाख रुपैयाँ खर्च भएको छ । खुलालुदेखि हिल्सासम्म २ सय ८१ किमि लम्बाइ रहेको करिडोरको कालीकोटमा ४०, बाजुरामा ४४ र हुम्लाको कुवाडी खोलाखेखि सल्लीसल्लासम्म ३९ किलोमिटर सडक पर्छ । अहिले खुलालुसम्म कर्णाली राजमार्गअन्तर्गत सुर्खेत–जुम्ला सडक जोडिएको छ । सल्लीसल्लाभन्दा माथि १२ किमि दुलीकुनासम्म सडक विभागले ट्र्याक खोलेको थियो । अहिले करिडोरको केही खण्डमा जिप चले पनि ठूलो पानी परेको बेला समस्या भएको यातायात व्यवसायी अमरबहादुर बुढाले गुनासो गरे ।
बनेन कर्णालीमा पुल
कर्णाली राजमार्गबाट कर्णाली करिडोर जोड्न कालीकोटको खुलालुस्थित कर्णाली नदीमा थालिएको पुल निर्माण अझै सकिएको छैन । कर्णाली राजमार्गसँग कालीकोटका पाँच स्थानीय तहसहित बाजुरा, मुगु र हुम्ला जोड्ने सडकमा पुल नबन्दा यात्रु सास्ती भोग्न बाध्य छन् ।
खुलालुस्थित कर्णाली नदीमा पक्की पुल निर्माणको ठेक्का २०६९ सालमा भएको हो । दुई वर्षभित्र काम सक्ने गरी कन्काई जेभीले ठेक्का लिए पनि पाँच वर्षसम्म सम्पन्न भएको छैन । सुरुमा १३ करोड रुपैयाँ लागत बढेर १५ करोड ९२ लाख रुपैयाँ पुगेको छ । कन्काई जेभीले अर्को ठेकेदारलाई निर्माण जिम्मा दिएपछि विभागले कारबाही थालेको थियो । तर ठेकेदारको अनुरोधपछि पुनः सम्झौता गरेर गत वर्षबाट काम अघि बढाइएको हो । कोरोना महामारीका कारण पुल निर्माणमा ढिलाइ भएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख लीलाबहादुर भण्डारीले बताए । स्टिल टससहितको ७५ मिटर लम्बाइको पुल बनाउने काम जारी छ ।