२९ मंसिर २०८१, शनिबार
थलाराका पहिरोमा बेपत्ताको खोजीकार्य गित
बझाङ थलारा ,बेमौसमी वर्षा कारणले पहिरोमा परेर बेपत्ता १९ जनाको अवस्था पत्ता नलाग्दै खोजीकार्य बन्द गरिएको छ । कात्तिक १ मा बझाङको थलारा–४ डिक्लाका आएको पहिरोमा परेर बेपत्तामध्ये चार जनाको शव फेला परेको थियो ।
आठ दिनसम्म खोजी गरेको उद्धार टोलीले फेला पारेका चार शवमध्ये दुइवटाको कम्मरभन्दा तलको भाग मात्रै भेटिएको थियो । १९ जना अझै बेपत्ता रहेको अवस्थामा पीडित परिवारलाई खबर नै नगरी टोली बुधबार फर्किएको हो ।
‘खाना खाएर खोजीका लागि आउनुहुन्छ होला भन्ने ठानेर पर्खेका थियौं । दिउँसोतिर त उद्धार टोली नै फर्कियो भन्ने खबर आयो,’ परिवारका १८ जना सदस्य गुमाएका कलक सार्कीले भने, ‘हामीलाई केही पनि भन्नुभएको छैन । सद्गत गरौं भने शव फेला परेको छैन । मान्छे जिउँदै होलान् भन्ने आसा पनि छैन । के गर्ने कसो गर्ने केही सोच्नै सकेका छैनौं ।’ परिवारका सदस्यको शव भेटे अन्तिम संस्कार गर्न सजिलो हुने उनले बताए ।
पहिरो गएको दोस्रो दिनमात्रै हेलिकप्टरमार्फत घटनास्थलमा पुगेको टोलीले खोजीकार्य थालेको थियो । पर्याप्त जनशक्ति, उपकरण र प्रविधिको अभावमा खोजीकार्य सफल हुन नसकेको हो । सेना, सशस्त्र र नेपाल प्रहरी सम्मिलत टोली उद्धार कार्यमा संलग्न थियो ।
‘खोजी टोलीमा ४५ जना छन् भनिए पनि १०र१२ जना मात्रै खोजीमा जुटेका देखिन्थे,’ घटनास्थलमा पुगेर उद्धार कार्यमा सहयोग गरेका अनेरास्वियुका पूर्वअध्यक्ष ऐन महरले भने ‘त्यत्रो ठूलो पहिरोमा हराएकाहरूलाई खोज्न उद्धारकर्मीको संख्या नै कम भयो । प्रविधि र उपकरण पनि भने जति परिचालन नहुँदा खोजी सफल हुन सकेन ।’ वेपत्ताको खोजीलाई सरकारले गम्भीरतापूर्वक नलिएको देखिएको उनले बताए ।
डीएसपी रूपक खडकाले खोजीमा प्रविधि अभाव र धेरै दिन बितेकाले स्थगन गरिएको बताए । वेपत्ता भएकाहरू भेटिने सम्भावना नरहेकाले खोजी बन्द भएको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताए । ‘अब भेटिने सम्भावना नदेखेरै टोली फिर्ता भएको हो,’ उनले भने, ‘प्रक्रिया पुर्याएर बेपत्ता सबैलाई मृत घोषणा गर्ने तयारी गरेका छौं ।’