१३ माघ २०८१, आईतवार
स्थानीय तहको निर्वाचनलाई लक्षित गरी मतदाता नामावली सङ्कलन गरिँदै – थलारा खबर
निर्वाचन आयोगले आउँदो स्थानीय तहको निर्वाचनलाई लक्षित गरी पालिका स्तरमै टोली खटाएर मतदाता नामावली सङ्कलन विशेष अभियान सञ्चालन गर्ने भएको छ ।
स्थानीय तहको निर्वाचनको मिति घोषणा हुनु पूर्व नै मतदाता नामावली सम्बन्धी काम सम्पन्न गर्नुपर्ने कानुनी व्यवस्थाअनुरूप आयोगले नामावली सङ्कलनको अभियान सञ्चालन गर्न लागेको हो ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मुलुकका सबै पालिका केन्द्रमा मङ्सिर १ गते वा अर्को कुनै उपयुक्त समयमा टोली खटाएर मतदाता नामावली सङ्कलन विशेष अभियान अघि बढाइने जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “आउँदो चैतसम्ममा स्थानीय तहको निर्वाचन हुन्छ भन्ने कानुनी व्यवस्थालाई टेकेर आउँदो मङ्सिर मसान्तसम्ममा अभियान सम्पन्न गर्ने हेतुले मतदाता नामावली सङ्कलन विशेष अभियान सञ्चालन गरिनेछ ।”
जनताको घरदैलो नजिक पुगेर सेवा प्रदान गर्ने क्रममा आयोगले नामावली सङ्कलन गाउँपालिकाको केन्द्रमै दर्ता टोली खटाएर गराउन लागेको हो ।
मतदाता नामावलीमा नाम दर्ताका लागि १८ वर्ष पुगिसकेका व्यक्तिले पालिका केन्द्रमा आउने टोलीसमक्ष नेपाली नागरिकताको प्रमाणपत्र देखाएर आफ्नो नाम दर्ता गराउन सक्नेछन् ।
अभियानमा नाम दर्ताका सन्दर्भमा १६ वर्ष उमेर पुगेका व्यक्तिको समेत नाम दर्ता र तस्बिर खिच्ने काम हुनेछ । निर्वाचनका लागि मतदाता नामावली सबैभन्दा प्राथमिक विषय मानिएकाले आयोगले विशेष अभियानमार्फत मतदाता नामावली अद्यावधिक गर्न लागेको हो ।
आयोगले रोजगारी, पठनपाठन र व्यवसायका सिलसिलामा स्थायी ठेगानाभन्दा बाहिर रहे बसेका मतदातालाई छिट्टै नै सबै निर्वाचन कार्यालय, इलाका प्रशासन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा ३ सय६५ दिन नियमित रुपमा मतदाता नामावली नाम दर्ताका लागि आवश्यक स्थायी बन्दोबस्ती मिलाउन लागेको छ ।
कार्य स्थलबाटै आफ्नो स्थायी ठेगानामा मतदाता नामावलीमा नाम सङ्कलन गर्न चाहनेलाई सहज तुल्याउने हेतुले आयोगले मुलुकभरका सबै निर्वाचन कार्यालयबाट बाह्य जिल्लाको समेत मतदाता नामावलीमा नाम दर्ता गर्ने अभियान पनि प्रारम्भ गर्न लागेको हो ।
आगामी दिनमा यो अभियानलाई कानुनी बन्दोबस्तभित्र राखेर सधैँ नियमित रूपमै सङ्कलन गर्ने व्यवस्था मिलाइने प्रमुख आयुक्त थपलियाले जानकारी दिनुभयो ।
विद्यमान निर्वाचन ऐनअनुरूप निर्वाचनको मिति तय भएपछि मतदाता नामावली सङ्कलन गर्न नसकिने प्रावधान छ । मतदाता नामावली सङ्कलन गर्नका निम्ति निर्वाचन आयोगलाई एकाधिकार छ ।
आयोगले नियमित रुपमा जिल्ला प्रशासन कार्यालय, जिल्ला निर्वाचन कार्यालय र इलाका प्रशासन कार्यालय मतदाता नामावली दर्ता गर्दै आएको छ ।
निर्वाचन आयोगले कुनै पनि मतदाता मतदानमा नछुटुन् भन्ने ध्येयले निर्वाचन अघि निर्वाचनलाई लक्षित गरी नामावली सङ्कलनसम्बन्धी विशेष कार्यक्रम सञ्चालन गरी मतदाता नामावली सङ्कलन गर्दै आएको छ ।