१३ माघ २०८१, आईतवार
बझाङका तीन युवा धनगढीमा स्रोत नखुलेको पौने ९ लाख नगदसहित पक्राउ
स्रोत नखुलेको पौने ९ लाख नगदसहित बझाङका तीन युवा धनगढीमा पक्राउ परेका छन् ।
बझाङको मष्टा गाउपालिका वडा नं १ कोटदेवलका २२ वर्षीय मुकेश खड्का, १८ वर्षीय किरण खड्का र २४ वर्षीय नारायण खड्कालाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुको साथबाट ८ लाख ६९ हजार नेपाली र तीन हजार दुई सय भारतीय रकम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले जानकारी दिनुभयो। गोप्य सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई धनगढी उपमहानगरपालीका वडा नम्बर ४ स्थित होटल अमन प्लाजाबाट पक्राउ गरिएको हो।
चेकजाँच गर्दा उनीहरुको साथबाट स्रोत नखुलेको रकमसहित सुन जस्तो देखिने ३४.३६० ग्राम गरगहना र ७३७.८७ ग्राम चाँदी जस्तो धातुका विभिन्न गहना र सामान पनि बरामद गरिएको प्रहरी नायब उपरीक्षक बिष्टले बताउनु भयो।
उनीहरुलाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुर बाँके पठाईएको छ।