२९ मंसिर २०८१, शनिबार
दार्चुलाको छाङ्गरु र तिङ्करमा जनगणना गर्न गएका गणकलाई हेलिकोप्टरमार्फत खलंगा ल्याईयो
दार्चुलाको व्याँस गाउँपालिका-१ को छाङ्गरु र तिङ्करमा जनगणना गर्न गएका गणक टोलीलाई हेलिकोप्टर मार्फत सदरमुकाम खलंगा झारेको छ ।
भौगोलिक कठिनाइ चिर्दै जनगणनाका लागि व्याँस पुगेका सहायक जिल्ला जनगणना अधिकारी खगेन्द्र कार्कीलाई बिहीवार सुर्खेतबाट आएको हेलिकप्टरले खलंगा ल्याएको हो। व्याँसबाट खलङ्गा आउन बाटो जोखिमपूर्ण हुदाँ हेलिकोप्टरको माग गरिएको थियो ।
छाङ्गरु र तिङ्करमा जनगणना गर्न शुक्रवार सहायक जिल्ला जनगणना अधिकारी कार्की र एक जना सहयोगी साथमा लिएर खलंगाबाट हिडेका थिए । उनले तीन दिनमा छाङ्गरु र तिङ्करको गणना गरेका छन् ।
तिङ्करका बासिन्दा त्यहाँबाट बसाइ सरि खलंगा आएकाले उनीहरुको जनगणना सदरमुकाममै हुने जिल्ला जनगणना कार्यालय दार्चुलाले जनाएको छ । भारतले गणकलाई छाङ्गरु जान बाटो नदिएपछि नेपालकै भूमी भएर गणक टोली व्याँस गएको थियो । रासस