२५ मंसिर २०८१, मंगलवार
बैतडीमा जीप दुर्घटना हुँदा चारजनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु – थलारा खबर
बैतडीमा सोमबार साँझ जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको छ ।
जिल्लाको पाटन बजारबाट कैलपाल जाँदै गरेको से १ ज ८८८ नम्बरको जीप पाटन नगरपालिका-१ सकार थलीमा दुर्घटना हुँदा पाटन नगरपालिका-१ सकारकै १३ वर्षीय विनोद भट्टराई, ७२ वर्षीया रमा भट्टराई, २४ वर्षीय प्रेम चुनारा र २० वर्षीया मनिषा विकको घटनास्थलमै मृत्यु भएको हो। भने दुर्घटनामा गम्भीर घाइते भएकी पाटन नगरपालिका-१ सकारकी ४० वर्षीया जानकी भट्टराईको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएसँगै मृतकको संख्या पाँच पुगेको छ ।
जानकीलाई पाटन प्राथमिक स्वास्थ्य केन्द्रबाट थप उपचारका लागि डडेल्धुरा सिफासिर गर्ने तयारी हुँदै गर्दा मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले बताए ।
दुर्घटनामा परि घाइते पाटन नगरपालिका-१ सकारका ओमप्रकाश भट्टराई र मानध्वज भट्टराईको अवस्था गम्भीर रहेको छ। यी दुवै जनालाई थप उपचारका लागि डडेल्धुरा सिफारिस गरिएको छ।
अन्य घाइते पाटन नगरपालिका-१ सकारकै दीपक भट्टराई, विष्णु भट्टराई र गोविन्द विकको पाटन प्राथमिक उपचार केन्द्रमै उपचार भइरहेको छ।
जीपमा चालकसहित ११ जना सवार रहेका बताइएको छ।
चालक पाटन-५ वसन्तरपुरका खेमराज पाण्डेय फरार छन्। दुर्घटनाग्रस्त जीप सडकबाट १०० मिटर तल खसेको हो । कच्ची, चिप्लो र भिरालो बाटोका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ।