१३ माघ २०८१, आईतवार
बझाङको थलारा गाउँपालिका ५ मा सरोकारवालाको पहिचान तथा लेखाजोखा अभिमुखीकरण कार्यक्रम सम्पन्न – थलारा खबर
बझाङ , थलारा पौष ७
बझाङको थलारा गाउँपालिका वडा नम्बर ५ ठाडाढुङ्गा दुवालीमा सरोकारवालाको पहिचान तथा लेखाजोखा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
खाद्य अधिकारका बारेमा वकालत गर्दै आएको मानवअधिकार वादी संस्था फियान नेपालको आयोजनामा ठाडाढुङ्गाका निगालाबाट बन्चित खाद्य समुह सँग ३ दिने अभिमुखिकरण गरिएको हो ।
खप्तड राष्ट्रिय निकुञ्जबाट निगाला ल्याइ परम्परागत रुपमा चोया चित्राका बस्तु निर्माण गरि जिविका चलाउँदै आएका २५परिवार पार्की समुदाय र १० सार्की परिवार निगाला पीडित खाद्य समुहमा आवद्ध भएका छन् ।
परम्परात रुपमा निगालाबाट चोया चित्राका डोका डाला भकारी लगायतका बस्तु निर्माण गरि व्यवसाय गर्दै आएका पार्की परिवार खप्तडबाट निगाला ल्याउन नपाउँदा मर्कामा परेपछि खाद्य अधिकार समुह गठन गरिएको फियान नेपालका कार्यक्रम अधिकृत सीता सिंहले बताइन् ।
उनका अनुसार समुहमा २५ सदस्य रहेका छन् ।
तीन दिनसम्म सञ्चालन गरिएको सरोकारवालाको पहिचान तथा शक्ति लेखाजोखा अभिमुखीकरणमा खप्तड राष्ट्रिय निकुञ्जबाट निगाला ल्याउन नपाउँदा जिविको पार्जन गर्न कठिन हुँदा कयौं युवाहरू आफ्नो पेशा छोडी भारत जानुपर्ने बाध्यता आएको सरकारबाट खाद्य अधिकार हनन भएको समिक्षा गरिएको समुहका अध्यक्ष पिरु पार्कीले बताए ।
उनको भनाइमा पार्की समुदायको खाद्य अधिकार हनन हुन नदिन सरकारले महिनामा ४ पटक खप्तड राष्ट्रिय निकुञ्जबाट निगाला ल्याउन दिनुपर्ने , चोया चित्राका भाडाकुडा बनाउने सीप सिकाउने तालिम दिनुपर्ने , निगाला पीडित समुदायमा शिक्षाको पहुँच कम भएकाले निःशुुल्क छात्रवृत्ति सहित , प्राबिधिक शिक्षा दिनु पर्ने र निगालो रोपण कार्यक्रम ल्याउनु पर्ने माग गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि तथा थलारा गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष दिर्घराज जोशीले माग सम्बोधनका लागि खप्तड राष्ट्रिय निकुञ्जसँग समन्वय गर्ने र निगालो रोपण कार्यक्रममा सहयोग गर्ने बताउनु भएको थियोे ।