सुदूरपश्चिम प्रदेशमा मनाइने साँस्कृतिक पर्व ‘भुवा’ आजबाट सुरु, बझाङ ,बाजुरा र अछाममा आज सार्वजनिक बिदा

सेयर गरौं

सुदूरपश्चिमका मनाइने साँस्कृतिक पर्व ‘भुवा’ आजबाट सुरु भएको छ । महाभारतको कथा र पाण्डव र कौरवको युद्ध गाथामा आधारित भुवा पर्वलाई स्थानीयले ‘भस्सो’ पनि भन्ने गरेका छन् ।

दमाहाको तालसँगै एक हातमा तरबार र अर्को हातमा ढाल नचाइने यो पर्वमा सुदूरपश्चिमका गाउँबेसीमा युद्धकालीन कौशलताको झल्को दिने झाँकी प्रदर्शन हुन्छन् ।

द्वापरयुगदेखि महाभारत युद्धपश्चात असत्यमाथि सत्यको विजय भएको खुसीयालीमा पाँच पाण्डवले यो पर्व चलाएको मानिन्छ यो पर्व खासगरी सुदूरपश्चिमका बझाङ, बाजुरा र अछाम जिल्लामा प्रत्येक वर्ष मनाइन्छ । ढाल, तरबार समातेर बाजाको चाल अनुसार चाल मिलाउँदै खेलिने यो मौलिक पर्व पुष महिनाको औँसीदेखि पूर्णिमासम्म वा माघ मसान्तसम्म इच्छा अनुसार खेल्न सकिन्छ ।

पर्वको अवसरमा सुदूरपश्चिमका बिभिन्न ठाउँमा औपचारीक कार्यक्रम पनि आयोजना गरिएका छन । पर्वको अवसरमा कञ्चनपुरको हल्दुखालमा सुदूरपश्चिम क्षेत्रको मौलिक संस्कृतिक पर्व भुवा भस्सो खेलिने भएको छ ।

शिद्ध सामुदायिक समिति हल्दुखालको आयोजनामा आइतबार जनसेवा मावि हल्दुखालमा भुवा भस्सो खेलिन लागिएको हो । भुवा भस्सोको सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजक समितिका अध्यक्ष तथा देउडा गायक लक्ष्मण अधिकारीले जानकारी दिएका छन ।

कार्यक्रममा सुदूरपश्चिमका वरिष्ट गायक नरेन्द्रराज रेग्मी, देउडा गायक लालबहादुर धामी, गायिका संगीता शाह, गायक तथा र्यापर अराज केशव र गायक लक्ष्मण अधिकारीको विशेष प्रस्तुति रहनेछ । साथै कार्यक्रममा महिलाको देउडा खेल समेत हुने अध्यक्ष अधिकारीले बताए ।
यसैबिच भुवापर्व धनगढीको खुल्लामञ्चमा पनि मनाईने भएको छ ।

बाजुरेली सेवा समाजले धनगढी आईतबार खुल्ला मञ्चमा बिहानै मुढा जलाएर भुवा पर्वको सुरुवात गर्ने भएको हो । धनगढीमा हुने भुवा पर्वको पनि सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख जोशीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

भुवा पर्वको अवसरमा आइतबार अछाम, बाजुरा र बझाङमा आइतबार सार्वजनिक बिदा हुने भएको छ । सुदूरपश्चिम प्रदेश सरकारले तीन जिल्लामा आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । विदा दिने निर्णय प्रदेश सरकाले २०७८ वैशाख १९ गतेको राजपत्रमा उल्लेख गरेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1401