माओवादीको अध्यक्षमा फेरि प्रचण्ड, केन्द्रीय सदस्यले लिए शपथ

सेयर गरौं

नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित हुनुभएको छ । आज साेमवार बसेको केन्द्रीय कमिटीको बैठकले प्रचण्डलाई अध्यक्षमा निर्वाचित गरेको हो ।

प्रचण्डलाई अध्यक्ष बनाउन नारायणकाजी श्रेष्ठले प्रस्ताव गर्नुभएको थियो । उहाँको प्रस्ताव सर्वसम्मतिले पारित भएको छ । अध्यक्षमा निर्वाचित भएपछि बैठकलाई सम्बोधन गर्दै प्रचण्डले आफू अब नेतृत्वबाट अलग हुनुपर्छ भन्ने लागे पनि देश र पार्टीको आवश्यकता र केही बाध्यताका कारण अध्यक्ष बन्नुपरेको बताउनुभयो ।

‘अब नेतृत्व छाडेर भिन्न भूमिकामा जानुपर्ने बेला आएको जस्तो लाग्छ, तर देश र पार्टी रूपान्तरणको आवश्यकतालाई हर्दा केही समय दुःख गर्नुपर्छ, सक्रिय हुनुपर्छ भन्ने बाध्यता रहेको महसुस हुन्छ’, उहाँले भन्नुभयो ।

त्यस्तै नेकपा माओवादी केन्द्रका नवनिर्वाचित केन्द्रीय समितिका सदस्यहरूले शपथ लिएका छन् । ललितपुरको सानेपा हाइटमा रहेकाे हेरिटेज गार्डेनमा आज साेमवार आयोजित केन्द्रीय समितिको बैठकअघि नवर्निवाचित केन्द्रीय सदस्यहरूले शपथ लिएका हुन् ।   

नवनिर्वाचित केन्द्रीय सदस्यलाई पार्टीको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठले शपथ गराउनुभयो । यही पुस ११ गतेदेखि सुरु भएको माओवादीको आठौँ राष्ट्रिय महाधिवेशनले हिजाे आइतवार खुलातर्फ एक सय ११ र समावेशीतर्फ एक सय २५ गरी दुई सय ३६ केन्द्रीय सदस्य चयन गरेको थियो ।   

माओवादीको विधानले केन्द्रीय समिति दुई सय ९९ सदस्यीय बनाउने व्यवस्था गरेको छ । १५ प्रतिशत केन्द्रीय समितिले मनोनयन गर्नेछ ।

शपथपछि केन्द्रीय समितिको पहिलो बैठक सुरु भएको छ । केन्द्रीय समितिले पदाधिकारी चयन गर्नेछ । माओवादीमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष गरी १५ सदस्यीय पदाधिकारी हुने व्यवस्था छ ।  रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1325