३ फाल्गुन २०८१, शनिबार

बझाङको साइपाल गाउँपालिकामा भेडा च्याङ्ग्रामार्फत खाद्यान्न ढुवानी – थलारा खबर
बझाङ माघ २४ ,
जिल्लाकै विकट तथा दुर्गम क्षेत्रमा रहेको साइपाल गाउँपालिकामा खाद्यान्न पुगेकाे छ । बाक्लाे हिमपातपछि खाद्यान्न ढुवानी गर्ने समस्या भएको थियोे । साइपालका स्थानीय बासिन्दा खाद्यान्न पुगेपछि खुसी भएका छन् ।
खाद्य व्यवस्था कम्पनीले भेडा च्याङ्ग्रामार्फत चामल ढुवानी गरेकाे हाे ।
साइपाल गाउँपालिकाको वडा-३ मा पर्ने काँडा, चुकझाड, बाँझचौका, वडा-४ मा पर्ने धुली, लाफडी, सैनगाउँ र वडा-५ को न्युनामा भेडा च्याङ्ग्रामार्फत चामल ढुवानी गरिएको हो । साइपाल गाउँपालिकाका उत्तरी गाउँहरूलाई जोड्ने रस्यालेक पानी लोट्या ठाउँको करिब पाँच किलोमिटर बाटोमा बाक्लो हिउँ जमेको छ ।
हिमपातका कारण खच्चडबाट ढुवानी हुन नसकेपछि भेडा च्याङ्ग्रामार्फत चामल त्यसतर्फ पठाइएको थियो । अहिले सबै वडामा चामल पुगिसकेको ढुवानीको जिम्मा लिएका ठेकेदार कम्पनी कृष्ण भण्डार एन्ड सप्लायर्सका दलबहादुर विष्टले बताउनुभयाे ।
‘स्थानीय बासिन्दाको सहयोगमा भेडा हिँड्न सक्ने बाटो बनाएर चामल पठाइएको छ,’ विष्टले भन्नुभयाे ‘तल्कालका लागि साइपालमा खाद्यान्न अभाव हुने छैन।’
उहाँले खाद्य सङ्कटको सबैभन्दा बढी जोखिम रहेको वडा-५ मा पर्ने न्युना गाउँका ३५ परिवारलाई प्रति परिवार ६० किलो पुग्ने गरी चामल ढुवानी गरेर वितरण गरिसकिएको जानकारी दिनुभयाे । यस्तै धुली र काँडामा पनि केही महिनाका लागि पुग्ने पर्याप्त खाद्यान्न ढुवानी भइसकेको उहाँकाे भनाइ छ ।
माघको पहिलो हप्तामा चामल पुगेको भए पनि फेरि हिमपात भएका कारण चामल ढुवानी हुन नसकेकाे विष्टले बताउनुभयाे ।
‘भोकभोकै परिन्छ कि भनेर गाउँले चिन्तित भएका थिए’ साइपाल गााउँपालिका-४ की अमृता देवि विकले भन्नुभयाे, ‘गाउँमा चामल पुगेपछि अहिले सबैले राहत महसुस गरेका छन् ।’
खाद्यान्न अभावका कारण केही हप्तासम्म यहाँका स्थानीयहरूले दिउँसो एक छाक मात्र खाना खाने गरेको उहाँले बताउनुभयाे।
अहिले ढुवानी भएको चामलले एक महिनासम्म धान्न सक्ने भए पनि हिउँ पर्ने क्रम निरन्तर रहेकाले तत्काल थप खाद्यान्न नपुगे समस्या हुने वडा-५ का वडा अध्यक्ष धनञ्जय बोहराले बताउनु भयाे ।