सुदूरपश्चिम पुगेका अध्यक्ष प्रचण्डले भने प्रकाश सपुतको गीत ‘पिर’लाई लिएर उत्तेजित हुनुपर्ने जरुरी छैन

सेयर गरौं

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रकाश सपुतले ल्याएका ‘पिर’ गीतलाई लिएर उत्तेजित हुनुपर्ने जरूरी नभएको प्रतिक्रिया दिएका छन् । सुदूरपश्चिम प्रदेशको धनगढीमा आज कार्यक्रता प्रशिक्षणका लागि पुगेका प्रचण्डले धनगढी विमानस्थलमा पत्रकारसंग कुरा गर्दे यस्तो प्रतिकृया दिएका हुन् ।

माओवादीकै केही नेता तथा भातृ संगठन वाइसिएल र अनेरास्ववियू क्रान्तिकारीले सपुतको उक्त गीत युट्युवबाट हटाउन माग गरेर अभिव्यक्ति दिइरहेका बेला प्रचण्डले उत्तेजित हुनु पर्ने कारण नभएको बताएका छन् । अध्यक्ष प्रचण्डले जनयुद्धबाट शान्ति प्रक्रियामा आउनु ठिक थियो कि थिएन भन्नेमा पनि बहस भइरहने बताएका छन्  । 

‘मैले त्यो पुरै गीत हेर्न पाएको पनि छैन, अहिले हामी कोही उत्तेजित हुनुपर्ने पनि छैन,’ प्रचण्डले भने, ‘तर्क वितर्क हुन्छन्, पक्ष विपक्ष हुन्छन् । त्यसलाई स्वभाविक रूपले लिनुपर्छ ।’ उनले ’जनयुद्ध’ बाट शान्ति प्रक्रिया र संविधानसभामा ल्याएको भन्नेमा पनि पक्ष र विपक्षमा बहस हुने गरेको बताए । ‘शान्ति प्रक्रियामा आएकोमा गर्व गर्ने पक्ष पनि छ । शान्ति प्रक्रियामा ल्याएर माओवादीले बर्बाद गर्‍यो भन्ने पनि छ,’ उनले भने । आफू कतार, मलेसिया जाँदा त्यहाँ काम गर्न पुगेका पूर्वलडाकुसँग कुराकानी समेत भएको प्रचण्डले स्मरण गरे ।

यसअघि माओवादीका पूर्वनेता तथा जसपा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले पनि गीतले ’जनयुद्धको’ विरोध नगरेको प्रतिक्रिया दिएका थिए । भिडिओमा एउटा सशस्त्र द्वन्द्वमा सहभागी लडाकुका एक दम्पति देशमा काम गर्न नसकेर विदेश जान बाध्य परेको र विदेशमा बन्धक बनेको कथा देखाएको छ । भिडिओमा प्रकाश सपुतसँगै नायिका सुरक्षा पन्तको अभिनय रहेको छ । आरन प्रोडक्सनले उत्पादन गरेको गीतमा प्रकाश र सम्झना भण्डारीको स्वर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1365