२४ माघ २०८१, बिहीबार

सुन्दर छडिभेल झरना जहाँ संखेश शिवको बास छ
पदम खड्का , बझाङ धार्मिक ऐतिहासिक साँस्कृतिक तथा प्राकृतिक सम्पदाले भरिपूर्ण बझांङ जिल्ला परापुर्व कालदेखि नै विश्वसामु चिनिदै आएको छ । खप्तड क्षेत्र, साईपाल हिमाल, सुर्मासरोवर, सेती नदी, मष्टादेवता, बड्डीज्यावन, थलिदुर्गा, चैतली मेला, सैनडाँडा, देवीथान, विसरतीमेला, देवलबाझ भगवती मन्दिर, जयपृथ्वी बहादुर सिंहको मानवतावादी दर्शन र डेउडा गीत आदि बझांङलाई विश्वसामु चिनाउने सम्पदा मानिदै आएका छन ।
पर्दा अगाडि देखिरहेका सिमित धार्मिक ऐतिहासिक भौगोलिक क्षेत्र र प्राचिन सस्कार संस्कृति सभ्यतामात्रै बझांङका चिनारी होईनन नेपत्थ्यमा कयौ सम्पदा सभ्यता संस्कार पहिचानको पर्खाईमा बसेकाछन् । यस्तै पहिचानको पर्खाईमा वसेको एउटा धार्मिक ऐतिहासिक तथा पर्यटकिय स्थल हो छडिभेल झरना ।
जिल्लाको दक्षिण पश्चिम भेग थलारा गाउँ पालिका वडा नं ८ बिस्खेत गाउँको सिरानीमा अवस्थित छडिभेल झरनाको प्राकृतिक सौन्दर्य र धार्मिक विश्वासका आधारमा त्यस क्षेत्रका वासिन्दाको माझ गहिरो सम्वन्ध बनाएर बसेको छ । समुन्द्री सतहवाट झण्डै १७ सय मिटरको उचाईमा अवस्थित यो झरना सुदुरपश्चिमको सुन्दर क्षेत्र खप्तडबाट कलकलाउदै बगेको छडेगाड खोलामा करिव ६५ मिटर अग्लो छहरा बनाएर निरन्तर मनै लोभ्याउनेगरि झरिरहेको छ । झरनासंगै एउटा शिव मन्दिर रहेको छ भने धर्मशाला र पार्कपनि निर्माण गरिएको छ । परिपरि सुन्दर हरियाली सहितका अग्ला पहाडले घेरिएको यस झरनासंग अनेक किंवदन्ती पनि जोडिएकाछन् ।
छडिभेल झरना सहितको थलारा क्षेत्रको महिमालाई पुष्टि गर्ने महत्वपूर्ण स्रोत श्रीमन्महर्षि बेदब्यास प्रणीत श्री स्कन्द पुराणको मानस खण्डमा यस झरनाकासाथै थलारा क्षेत्रको ब्यापक चर्चा गरिएको छ । स्कन्द पुराणको मानस खण्डको १ सय ५१ अध्यायमा खेचर पर्वत अर्थात खप्तड पर्वतवाट उत्पन्न श्रेष्ठ दृष्टि नदी (थलारी गाड) अनेक ससाना नदीहरु आफुमा समाहितगर्दै पूण्यमयी सीता नदी सेती नदी मा जान्छिन नदीहरु मिल्नुअघि बनेको छहरा छडिभेल झरना मा शंखेश नामक शिव हुनुहुन्छ जसको सम्झनामात्रै गर्नाले गंगामा स्नान गरेको फल पाईन्छ भनिएको छ ।
त्यस्तै दृष्टी र पत्रको संगम डुडेमाडौ त्रिवेणीमा स्नान गरे दिग्वीजयी बनिने दृष्टी र सीताको संगममा नुहाउनाले मानिस बलमान हन्छ भनिएको छ । मालिका माताको पाउवाट निस्केकी दिब्य मालिका नदी रेगम गाड मा स्नान गरेमा मानिसले ब्रम्ह्त्व प्राप्त गर्दछ मालिका देवीलाई सम्झेमात्रै वाकसिद्दी पाईने उल्लेख छ ।
स्थानीय प्रचलित किंवदन्ती अनुसार उहिले यस झरनाको फेदमा एउटा सुन्दर ताल पनि थियो । त्यस तालमा विभिन्न धातुका भाँडाहरु तैरी रहन्थे । झरनामा तीर्थाटनमा गर्न आउने यात्रीले ती भाँडाहरु प्रयोग गरी खाना पकाउने खाने र खाना खाईसकेपछि धोईपखाली त्यसै तालमा छोडिदिन्थे । एक पटक एउटा शिकारी शिकार खेल्दै त्यस झरनाको फेदमा रहेको तालमा पुग्यो । थकाई मेटाउदै त्यही तलाउका भाडा निकाली खाना पकाएर खायो । त्यो मुर्ख शिकारीले नियम विपरित भाँडाहरु नधोएर जुठै त्यस तालमा छोडिदियो । यसरी छोडिएका भाँडँहरु तत्काल ढंगामा परिणत भए र तालको पिधमा गएर बसे । त्यसपछि त्यहाँ कहिलै भाँडाहरु तैरिएनन । करिव ६५ मिटरको उचाईबाट झरेको यो झरनाको पानी फेदीमा बज्रदा अनौठो आवाज आउने गर्दछ त्यो आवाज ती ढंगीएका भाँडाबर्तनको आवाज रहेको स्थानीहरु बताउछन् ।
स्थानीयहरु ब्रतबन्धगर्दा यसै झरनामा गएर गर्ने गर्दछन । महाशिवरात्रीको बेला यहाँ बर्तालु भक्तजनहरु स्नान गरि पुजाआजा गर्ने गर्दछन् । प्राकृतिक सुन्दरताले भरिपूर्ण यस झरनामा आन्तरिक र बाह्य पर्यटकहरु आउने र गर्दछन । महर्षि बेदब्यासद्वारा लिखित हिन्दुहरुका बैदिक धर्मग्रन्थ १८ पुराणहरु मध्यको स्कन्ध पुराणको मानस खण्डमा यस झरनाको बर्णन गरिनुले छडिभेल झरनाको धार्मिक तथा ऐतिहासिक महत्व स्पष्ट पार्दछ । ब्यक्तिगत तवरवाट यहाँ शिव मन्दिर निर्माण गरिएको छ भने सरकारी तवरवाट एउटा धर्मशाला प्रतिक्षालय र पिकनिक पार्कको निर्माण गरिएको छ । यस झरनाको यात्राकालागि बझांङको मुख्य सडक जयपृथ्वी राजमार्गको झनाना पक्की थलारा गाउँ पालिकाको केन्द्र हुदै विस्खेत र दिपायल चैनपुर लोकमार्गको बिस्खेत सडक खण्डवाट करिव एक घण्टाको पाईदल यात्रा गर्नुपर्दछ । यात्राका क्रममा विभिन्न प्रजातिका लेकाली फूल लहरा चराचुरुङगी र जनावरको वओलोकन समेत गर्न पाईन्छ । यति महत्व बोकेको यस झरनाको प्रर्वधन र विकासकालागि सरोकारवालाहरुले खासै ध्यान दिएको देखिदैन । यसको विकासकालागि सवैको ध्यान जान जरुरी छ ।
लेखक रेडियो थलाराका प्रबन्ध निर्देशक तथा नेपाल पत्रकार महासंघ बझांङ शाखाका संस्थापक सचिव हुनुहन्छ