२९ मंसिर २०८१, शनिबार
थलारामा खानी को इतिहास र त्यसको सम्भावना
पदम खड्का बझाङ
थलारा गाउँपालिकामा विभन्न खनीज पदार्थका खानी भएको इतिहास छ । बाइसे चौविसे राज्य काल देखि केहि दशक अगाडि सम्म ती खानीहरुवाट कच्चा पदार्थ निकाली प्रशोधन गरी स्थानीय रुपमै विश्वकर्माहरुले घर ब्यवहारमा प्रयोग हुने भाँडा वर्तन र औजारहरु निर्माण गर्ने गरेको अधिल्लो पुस्ताका मानिसहरु बताउने गरेकाछन । थलारा गाउँपालिका वडा नम्वर ७ को आग्रालेकमा फलाम खानी रहेको र आग्रीहरुले खानीवाट फलामका धाउ निकाली कोइलामा उमालेर प्रशोधन गरी फलामका भाडा कुडा हातहतियार र कृषि ओजार बनाउने गरेको भन्ने सुनेको थलारा गाउँपालिका वडा नम्वर ७ आठाविसका निवृत शिक्षक राम बहादुर रोकाया बताउनु हुन्छ । उनका अनुसार अझै त्यहाँ थुप्रै कीट देखिन्छ त्यस लाई अहिले किट खानीका नामले चिन्ने गरिन्छ । त्यस्तै वडा नम्वर ९ को लिस्ताडामा तामाखानी रहेको र खानीवाट तामा निकाली प्रशोधन गरी तामाका भाडा बनाउने गरेको भन्ने सुनेको थलारा गाउँपालिका वडा नम्वर ९ लिस्ताडाका गिरी विष्ट बताउनु हुन्छ ।
आग्राको लेकमा आग्रीहरुको बस्ती रहेको थियो रे । फलाम खानीवाट धाउ निकाल्ने प्रशोधन गर्ने र आवश्यक औजार निर्माण गर्ने उनीहरुको ब्यवसाय थियो । भनिन्छ एक दिन फलामको धाउ खानी भत्कीयो र धाउ निकाल्न गएकाहरु खानीमै पुरीएर मरे । वाँचेकाहरु बस्ति छोडेर गए । अझै आग्राको लेकमा आग्री पनेरो भन्ने पानीको धारा प्रमाणका रुपमा रहेको शिक्षक रोकाया बताउनु हुन्छ । त्यस्तै थलारा गाउँपालिका वडा नम्वर ९ लिस्ताडाको तामा खानी विक्रम सम्वत २००० सम्म संचालनमा रहेको थियो । आत्मनिर्भर बन्न र विकासको गति अगाडि बढाउने उक्त खानी ठेक्का मार्फत संचालन भइ रहेको थियो । उक्त तामा खानी नेपालको केन्द्रिय सत्ता अर्थात नेपाल एकिकरणको सरकारको आदेशमा विक्रम संवत २००० मा बन्द गरिएको इतिहासकार पूर्ण प्रकास नेपाल यात्रीले आफ्नो सेती अञ्चल दिग्दर्शनमा उल्लेख गर्नु भएको छ । त्यसताका फलाम र तामा प्रशोधन गर्ने कुनै खास नयाँ प्रविधि थिएन । तत्कालीन परिवेश अनुसारको स्थानीय घरेलु प्रविधि अपनाई श्रमजीवी विश्वकर्माहरुले आरनमा प्रयोग गर्ने छालावाट बनेको खलाती र काठको कोइला जलाएर तामा र फलाम प्रशोधन गर्ने गर्दथे । यसरी उत्खनन गरिएको तामा र फलाम वाट स्थानीय रुपमै विश्वकर्माहरुले घर ब्यवहारमा प्रयोग हुने जस्तै तामाका गाग्री भदाला खुडा खुकुरी बन्चरो हसिया इत्यादी बनाउने गर्थे । यसरी प्रशोधन गरी बनाइएका सामाग्रीहरु थलाराका अन्य समुदायले प्रयोग गरेको इतिहास आजसम्म पनि ताजै छ । लिस्ताडाको तामा खानीट तामा निकालिएको गुफा कम्तिमा पनि ३० मिटर गहिरो छ । त्यस भित्र अझै तामा पग्लेर वगेको निलो कलर देख्न सकिन्छ ।
खप्तडमा रहेको अभ्रख खानी पनि चर्चित नै छ । अहिले खप्तड राष्ट्रिय निकुञ्जमा परे पनि वाइसी चौविसी राज्यकालमा त्यो थलारा राज्यको मातहतमै थियो । वाइसी चौविसी राज्यहरु मध्येमा थलारा राज्य पनि एक हो । नेपाल एकिकरण अभियानका क्रममा थलारी राजा राजेन्द्र सिंह जसलाइ गजेन्द्र सिंह पनि भनिन्थ्यो ले गोर्खाली पल्टनसंग नलडी सघाउने निर्णय लिएपछि थलारा राज्य एकिकृत नेपालको मुलधारमा समाहित भएको थियो । एकिकरण पछि भौगोलिक रुपमा कुन्ना दरा सम्म फैलिएको थलारा राज्यको केही भूभाग बाजुरामा र केहि भूभाग बझांङ राज्यमा गाभियो भने वाकी राज्य ठेक्कामा दिइयो । विक्रम सम्वत १८७१ मा बझाङी राजा इन्द्रजित सिंहको पालासम्म थलारा राज्यको ठेकको रुपिया १७४३।। र थप ४०१।। गरी २१४५ पुगाएर थलारा राज्यको सवै काम बझांङी राज्यलाइ नै सुम्पीएको इतिहासमा देखिन्छ । भनिन्छ बझाङी राजा रामजंङको पाला सम्म पनि खप्तडको अभ्रख खानीवाट निकालिएको अभ्रख भारतको पिथौडागढ लगेर विक्रि गरिन्थ्यो ।
थलाराको इतिहास हेर्दा बाइसी चौविसी राज्य कालदेखि नै खानी उत्खनन् गरिएको इतिहास भेटिन्छ । अहिले हिजोको थलारा राज्यको पुरै भुभाग नभए पनि केहि भूभाग र हिजो संचालित खानीहरु थलारा गाउँ पालिकामा छन । थलारा ९ लिस्ताडा को तामा खानीका कारण परिसरमै गाउँको नाम नै खानी गाउँ राखीएको छ । कुनै समयमा खनिज बस्तुको खानी भएकाले होला थलारा ६ पिखेत मा खानी झाड नाम अझै छ । थलारा ८ देवस्थलीमा खानीको धार छ । सायद लुहा निकालिएकाले होला थलारा ५ खोली नजिकै लुयापड भन्ने स्थान छ । यस्ता नामहरु गाउँपालिकाका अन्य स्थानहरुमा पनि छन् । भनिन्छ लिस्ताडाको तामा खानीमा कामगर्ने कादार र सुरक्षा कर्मिहरु पुर्व वाट ल्याइएका थिए । आग्राको फलाम खानी र लिस्ताडाको तामा खानी तल माथि रहेकाछन् । माथि लेकमा आग्राको लेकको फलाम खानी रहेको छ भने त्यसकै तल फेदी सेती नदी किनारमा लिस्ताडाको तामा खानी रहेको छ । अझै पनि खानी नजिक फलाम र तामाका किटहरु भेटिने गरेको स्थानीयहरु बताउछन् ।
तस्विर युगिन विवेक
कुनै सुरक्षित प्रविधि नअपनाइ सीमित स्रोत र स्थानीय साधनको आधारमा संचालन गरिएका ती खानी बन्द गरिएपछि सरकारले पनि यस्ता क्षेत्रहरुको बारेमा कुनै चासो खोज अनुसन्धान गर्न महत्व ठानेन । पछिल्ला पुस्तामा खानीको ज्ञान र महत्व हुन सकेन । अनि यस्ता अपार प्राकृतिक सम्पदाहरुलाई खोजी र उत्खननको लागि सरकारी स्तरवाट भूगर्भ विभागको स्थापना भएको भएता पनि भूगर्भ विद् तथा सरकारी स्तरवाट प्राकृतिक सम्पदा स्वरुप प्राकृतिक प्रदत्त खानीको खोजी र उत्खनन् को लागि कार्य गर्न सकेन । अहिले स्थानिय तहमा धेरै अधिकार प्राप्त सरकार छ । ती खानीहरुको पहिचान र उत्खननको योजना बनाउन जरुरी छ । विकासका नाममा पालिकाले थुप्रै अल्पकालिन योजनाहरु बनाउने गरेको छ जसले खासै उपलब्धी दिन सकेको देखिदैन । अव गाउँ पालिकाले ससाना अल्पकालिन योजनाहरु होइन आयस्रोत बढाउने र रोजगारी सृजना गर्न सक्ने खानी उत्खनन जस्ता दिर्घकालिन योजनाहरु बनाइ अघि बढ्न जरुरी छ । यदि थलारा गाउँ पालिकाले यस्ता अमुल्य सम्पदाको वैज्ञानिक तवरले उचित प्रविधिको प्रयोग गरी वेवारीसे अवस्थामा रहेका खानीको उत्खनन् र प्रशोधन गर्न सक्ने हो भने स्थानीयलाइ रोजगारको अवसर देखि मजबुत आर्थिक उपार्जनको माध्यम हुने देखिन्छ । खानी सञ्चालन नै नभए पनि खानीको इतिहास रहला हामी पछिका पुस्ताले खानी रहेको स्थान चिन्लान । यसले पर्यटकिय क्षेत्रको रुप लिने संभावना पनि रहन्छ । कुनै समयमा निकै महत्व पाएका आग्रा लेकको फलाम खानी र लिस्ताडाको तामा खानी लगायत अन्य क्षेत्रका खानीहरु आज सम्म पनि पृथ्वीकै गर्भमा सुरक्षित रहेका छन् । थलारा गाउँपालिकाले यस तर्फ सोच्न आवश्य छ ।