५ बैशाख २०८२, शुक्रबार

थलारा गाउँपालिका -२ मा रहेको खापरदेव आधारभूत विद्यालयको छाना हावाहुरी उडायो
बझाङको थलारा गाउँपालिका -२ मा एक विद्यालयको छाना हावाहुरी उडाएको छ । शुक्रबार थलारा गाउँपालिका – २ बगाडामा रहेको खापरदेव आधारभूत विद्यालयको छाना हावाहुरी उडाएको हो ।
बेलुकी ४ बजेतिर आएको हावाहुरीले उक्त विद्यालयको कक्षा ३ र ४ बस्ने भवनको जस्तापाता हावाहुरीले उडाएको प्रधानाध्यापक कृपाराम जोशीले जानकारी दिए ।
त्यस्तै कक्षा ५ बस्ने भवन अफिस कार्यालयको भवनका जस्तापातामा पनि हावाहुरीले क्षति पुर्याएको छ ,प्रधानाध्यापक जोशीले भने ।
अहिले बर्खेविदा भनेर थलारा गाउँपालिका भित्रका सम्पूर्ण विद्यालयहरू बन्दगरिएका छन् ।
हावाहुरीले विद्यालयका जस्तापाता उडाइ लगेपछि शिक्षकहरू चिन्तित भएका छन् ।
विद्यालय अब छिट्टै सञ्चालन हुँदैछ कसरी पठनपाठन गराउने भन्ने बिषयमा आफूहरू चिन्ता लागेको त्यहाँ कार्यरत शिक्षकहरूले बताउने गरेका छन् ।
बर्खाको समयमा बाहिर बसेर पठनपाठन गराउन सक्ने अवस्था छैन , भवन नहुँदा कक्षा ३, ४ का विद्यार्थीलाई समस्या हुने उहाँहरूको भनाइ रहेको छ ।
हावाहुरीका कारणले विद्यालयमा २ लाख भन्दा बढीको क्षति भएको प्रधानाध्यापक जोशीले बताउनुभयो ।
कक्षा ८ सम्म बढाई हुने उक्त विद्यालयमा २सय ६८ भन्दाबढी विद्यार्थी अध्यनरत छन् ।