सुदूरपश्चिमले नचिनेको ऐतिहासिक शिगास मन्दिर : एक परिचय

सेयर गरौं

राजेन्द्र सिह साउद / सिगास, बैतडी:
परापूर्व कालदेखि नै हाम्रो समाज देविदेउतामा विश्वासका साथ अडिक रहेको समाज हो । विभिन्न जातजाति धर्म संस्कृति रीतिरिवाज सँग सँगै धार्मिक तथा ऐतिहासिक सम्पदाको पनि निकै ठूलो मान्यता हाम्रो समाजमा रहेको छ । हरेक क्षेत्रको संरक्षण र सम्बर्द्धन तथा रेखदेख गर्न सबैको भुमिका अतुलनीय रहन्छ । तर सबैले भूमिका निर्वाह गर्दै गर्दा सुदूरपश्चिमको बैतडी जिल्लाको एकदमै दुर्गम गाउँपालिका सिगास गाउँपालिकामा रहेको ऐतिहासिक महत्व बोकेको धार्मिक तथा पर्यटकीय स्थल शिगास धाम सुदूरपश्चिम प्रदेशमा समेत चिनिन सकेन यसै सन्दर्भमा आज शिगास मन्दिरको संक्षिप्त परिचय यस लेखमा चर्चा गरेको छु ।

बैतडी जिल्लाको साविकको सिगास गाविस र गाँजरी गाविस (हाल सिगास गाउँपालिका वडा नं. २ र ४ को ) विचमा अवस्थित एक ऐतिहासिक तथा धार्मिक स्थल हो (शिगास धाम) शिगास मन्दिर। सिगास गाउँपालिका मन्दिरै मन्दिर भएको क्षेत्र पनि हो जहाँ दर्जन बढी मन्दिर रहेका छन् । “कुम्भको केदार ठूलो शिरको शिगास ठूलो” भन्ने विशेषता बोकेको मन्दिर पनि शिगास मन्दिर नै हो । उसो त समुन्द्री सतहबाट २ हजार २ सय ४९ मिटरको उचाइमा डाँडाको टुप्पोमा अवस्थित मन्दिर हो शिगास मन्दिर।

शिगास मन्दिर आफैमा एक सुन्दर हरियाली प्रकृतिको काखैमा अवस्थित मन्दिर हो। जुन मन्दिर बाट हिमालका उच्च हिम श्रृंखलाहरु, पहाडका उच्च डाँडाकाँडा भिरपाखा हरु, तराइका सम्म भु-भाग हरु र भारतको उत्तराखण्ड, कुमाउ, नैनिताल समको अवलोकन गर्न सकिन्छ। साथै उक्त मन्दिरबाट डडेलधुरा जिल्लामा अवस्थित सुदूरपश्चिमको ऐतिहासिक मन्दिर उग्रतारा भगवती माताको पनि दर्शन गर्न सकिने विश्वास गरिन्छ ।

परापूर्व कालमा जुन बेला शिगास धुरा (शिगास मन्दिर रहेको ठाउँ) मा भगवान शिवजीको वास भयो त्यसैबेला देखि शिरको शिगास मन्दिर भएको किम्बदन्ती रहेको छ । विशेषगरी शिगास मन्दिर वरपरको वातावरण सुन्दर हरियाली सहितको घनघोर जंगल रहेको छ। एक सर्भेक्षणले देखाएको विवरण अनुसार उक्त जंगलमा औषधीजन्य २५ प्रकारका जडिबुटीहरू पाइने बताइएको छ।

विशेषगरी धार्मिक तथा ऐतिहासिक महत्व बोकेको शिगास मन्दिर ओझेलमा परिरहेको अवस्थामा मन्दिरको संरक्षण र संवद्र्धन गर्न सिगास गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८ मा ५० लाख रुपैयाँ खर्च गरेर मन्दिर वरपर चारैतिर पर्खाल र मन्दिर प्रवेश गर्ने सिढी बनाएको छ । यसैबिच शिगास मन्दिरको विश्वव्यापी चिनारीको लागि सिगास गाउँपालिकामा स्थायी घर भएका हाल भारतमा रहेर रघुवीर सिंह साउदको अध्यक्षतामा प्रवासी शिगास विकास मञ्च संस्था गठन गरी शिगास मन्दिर नजिकै धर्मशाला भवनको निर्माण गरिएको छ।

सिगास गाउँपालिका बासी लगायत समस्त सुदूरपश्चिमका हिन्दू धर्मावलम्बीहरूको आस्था बोकेको धरोहर शिगास मन्दिरमा विशेषगरी असोज/ कार्तिक शुक्ल अष्टमीको दिन ठूलो मेला लाग्ने गर्दछ। यस्का साथै श्रावण महिना र चैत्र महिनामा भगवान शिवको विशेष पूजाआजा गर्न विशेष गरी सिगास गाउँपालिका अन्तर्गतका सबै वडाका भक्तजन, बसाई सराई गरी तराइका जिल्लामा गएका सिगास बासी श्रदालु भक्तजन सहित डडेलधुरा, बझाङ जिल्लाका बिभिन्न ठाउँ सहित भारतको उत्तराखण्ड राज्य अन्तर्गत झुलाघाटका श्रदालु भक्तजन पनि जात्रा र पूजाआजाको समयमा विशेष गरी आउने गर्दछन् ।
देवी-देवतामा आस्था राख्ने धर्म संस्कृति प्रति विश्वास गर्ने श्रदालु भक्तजनहरु विशेष गरी निसन्तान, बाझोपन, चर्मरोग लगायतका अन्य रोगहरूको नाश गर्ने सामर्थ्य शिव भगवानमा भएको हुँदा उक्त समस्या भएका श्रदालु भक्तजनहरूको विशेष भिड लाग्ने गर्दछ।

शिगास मन्दिरको ऐतिहासिक, धार्मिक, पुरातात्विक महत्वलाई ध्यानमा राखेर पर्यटकीय आकर्षणका लागि सिगास गाउँपालिकले प्रत्येक वर्ष आफ्नो निति तथा कार्यक्रममा प्राथमिकताकासाथ समावेश गर्ने गर्दछ । मन्दिर डिजाइनको काम भइरहेको र सकिए लगत्तै मन्दिर निर्माण कार्य अगाडि बढाउने गाउँपालिकाले जनाएको छ ।

परापूर्व कालदेखि नै शिरको शिगास नामले प्रसिद्ध ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्वको आस्थाको केन्द्र शिगास मन्दिर (शिव धामको) प्रचारप्रसार गर्न सकियो भने निकट भविष्यमा आन्तरिक तथा बाह्य पर्यटक नआउने भन्नेमा दुई मत छैन ।

त्यसैले समग्रमा शिगास मन्दिरको विश्वव्यापी चिनारीको लागि संघ सरकार, प्रदेश सरकार र स्थानीय सरकारले विशेष पहल गर्नु जरुरी देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1061