७ आश्विन २०८०, आईतवार

बझाङको थलारा गाउँपालिकाका एक निवृत्त शिक्षक समाजसेवामा [ अन्तर्वार्ता ]
शिवजी मण्डेल ! बझाङको थलारा गाउँपालिकामा एक निवृत्त शिक्षक अहिले एउटा समुह खोलेर समाज सेवा लाग्नुभएको छ।
थलारा गाउँपालिका- ६ सडिलका निवृत्त शिक्षक मान बहादुर चौहाना सडिल धार्मिक तथा सामाजिक विकास समुह खोलेर समाज सेवामा लाग्नुभएको हो ।
गाउँसमाजमा भएको विकास निर्माणका कामको ढिलासुस्ती, शिक्षा, स्वास्थ्य , पर्यटनका विषयलाई उठाएर सम्बन्धि निकायमा पुर्याउन, समुदायमा यथावत् रहेको कुरिति कुसंस्कार कुसंगती बालविवाहलाई घटाउने उदेश्य समुहको रहेको छ । समुह खोलेको १ वर्ष पुरा हुन लाग्दा आर्थिक अभावका कारण आफ्नै भवन नहुँदा समुहको सामाग्री राख्नमा समस्या भएको छ । यसैविषयमा लामोसमयसम्म शिक्षण पेश गरेर पेशाबाट निवृत्त भई अहिले समाज सेवामा लागेका समुहका अध्यक्ष चौहान सँगको यो अन्तर्वार्ता
सडिल धार्मिक तथा सामाजिक विकास समूह केका लागि स्थापना गरिएको हो ?
विश्वका कतिपय देशहरू विकासको चरमचुलीमा पुगिसकेका र त्यहीँ धर्तीमा रहेको हाम्रो देश नेपालका ग्रामीण समुदायका अधिकांश जनताहरूमा विकासको आधारमा सुसूचित नभई कहालीलाग्दो अवस्थालाई मध्यनजर गर्दै विकास प्रति जनचेतना जागरण गर्ने गराउने मुल लक्ष्य लिएर विकासका साँझा सवालहरू सामुहिक रुपमा उठाउँदै एकताका साथ विकासका कार्यमा जुट्न जुटाउन स्थापना गरिएको हो ।
यस समुहको स्थापना कहिले गर्नु भएको हो ?
स्थानीय सरकारको संचालनको चौथो वर्षसम्म पनि यस सडिल गाउँमा साँझा विकासका बुदाहरू सामुहिक रुपमा समानतामुलक ढंगले अघि नबढेका हुँदा गाउँवासीका साँझा हकहित र सुविधाका सवालहरू सामुहिक रुपमा उठाउन गरेर पतिपुर्ती गर्नुपर्छ भन्ने मान्यता लिएर वि. सं २०७८/०५/१३ गते गाउँवासीहरूको भेला गरि यस समुहको स्थापना गरिएको हो । वि.सं २०७८/०५/२३ गते थलारा गाउँकार्यपालिकाको कार्यालयमा १ नम्बर मा दर्ता गरियो ।
वि.सं २०७८/०५/२६ गते थलारा गाउँपालिका निवर्तमान अध्यक्षद्धारा गाउँपालिका परिवा छिमेकी समाजसेवी बुद्धिजीवी र गाउँवासी गरि ७४ जनाको समुहमा समुहको समुउद्घाटन गरियो।
वि.सं २०७८/०६/ १४ गते आन्तरिक राजश्व कार्यालय डडेल्धुरामा समुहलाई पाना दर्ता गरेको हौ । कुमारी बैंक लिमिटेड थलारा शाखा समुहको चल्ती खाता र कोटभैरव साना किसान सहकारी संस्थामा बचत खाता सञ्चालन गरिएको छ ।
समुह स्थापना भएपछि समहुले अहिलेसम्म के के कार्यहरू गरेको छ ?
समुहको विधानमा उल्लेखित उदेश्य अनुरुपको पञ्चबर्षीय र वार्षिक कार्ययोजना तयारी गरि सो अनुसार पहिलो वर्षमा गरिने क्रियाकलाप र अन्य समसामयिक आवश्यकताका क्रियाकलाप मध्ये जनचेतनामूलक र भौतिक विकासमा निम्नानुसारका कार्यहरू गरिएका छन् ।
पहिलो २०७८ को दशै तिहार वर्वमेला सभ्य बनाउन र विकृतिलाई निरुत्साहित गर्न जनचेतनामूलक शुभकामना र्याली वडा नम्बर ६ र खोली बजारमा गरिएको थियोे ।
त्यसपछि वडा नम्बर ६ संग सहआयोजना र सहकार्यमा विकास विषयक सरोकारवालाहरू बिच अन्तरक्रिया कार्यक्रम, जनचेतनामूलक गीत गाथा सहित देउँसी खेली कालिका मन्दिर सुधारका लागि आर्थिक सहयोग संकलन , मौलिक संस्कृति जोगाउने उदेश्य लिएर सडिल गाउँमा भूवो खेलाइयो , विद्यार्थी युवा महिलाहरूको समाजिक मानसिक बौद्धिक शारीरिक विकासका लागि हाजिरीजवाफका साथै खेलकुद कार्यक्रम सहितको १ दिने रमाइलो तिहार मेला संचालन गरिएको हो ।
महाशिवरत्री पर्वमा सडिल भेलछडामा भजन किर्तन सहितको धार्मिक मेला आयोजना , शिक्षाको गुणस्तरीय बढाउन अभिभावकको भुमिका विषयक १ दिने अन्तरक्रिया कार्यक्रम सञ्चालन , सडिल गाउँमा स्वास्थ्य सचेतिकरण प्रशिक्षण र वृद्ध स्वास्थ्य परिक्षण कार्यक्रम संचालन , २ वटा महिला कृषक समुहका सदस्यहरूलाई १ दिने तरकारी खेती अभिमुखिकरण तालिम , तरकारी पकेट क्षेत्र विकास ३ दिने तालिम दिइएको छ । त्यस्तै जिल्ला आलु जोनबाट २ सिजनमा आलु बीउ माग गर्न सहजीकरण , जनश्रमदानबाट कालिका मन्दिर परिसरमा फिल्ड कठिङ, राष्ट्रिय प्रसारण लाइनको विद्युत जडानमा माग र पूर्तिमा सहजीकरण, धौडो र छाडा चरिचरन नियन्त्रण नियमन , खुल्ला रक्सी सेवन र जुवातास नियन्त्रण नियमन, तरकारी खेतीका लागि कृषक समुहलाई टनेल माग खरिद वितरणमा सहकार्य र सहजीकरण गरिएकोमा १० वटा प्लाष्टिक हाउस उपलब्ध भएका थिए, भने विद्यार्थी आचारसंहिता बारे प्रचारप्रसार लगायतका कार्यहरू गरिएका छन् ।
समुहका आगामी लक्ष्य तथा योजनाहरू केके छन् ?
यस समुहका निर्धारित उदेश्य र त्यस अनुरुपका तयार गरिएका पञ्चवर्षीय कार्य योजनाका साथै समसामयिक आवश्यकता सवाल मुद्दा हरूको पैरवी गर्दै माग र आपूर्तिमा पहल गरिने लक्ष्य लिएको छ । ती मध्ये मुख्य योजनाहरू , धार्मिक क्षेत्र कालिका मन्दिर बाँन्वाली माडु, शिव मन्दिर खापर मन्दिर डाँडाबाग माडू मा धार्मिक पर्यटनमुखी विकास गर्ने ।
समाजिक क्षेत्र शिक्षा स्वास्थ्य सरसफाइ बाटो खानेपानी ढलनिकास समाजिक विकृति विसंगति न्यूनीकरण साझा भवन निर्माण कार्यको माग गरिने छ ।
सांस्कृतिक क्षेत्रमा मौलिक परम्परागत संस्कृतिको जगेर्ना संस्कृतिकजन्य विकृति विसंगति निरुत्साहन गरिने छ ।
आर्थिक क्षेत्रमा युवा महिलाका लागि सीपमूलक तालिम माग फलफूल तथा तरकारी पकेट क्षेत्र विकास विस्तार कृषि औजार तथा मेसिन माग कृषि उत्पादन बिक्रीवितरण व्यवस्थापन माग र पैरवी गरिने छ भने वनवातावरण क्षेत्रमा धार्मिक स्थान धार्मिक वन कबुलियति वन सामुदायिक वन विकास र विस्तार बाँस र घाँस रोपणद्वारा खाली नांगो जमिनको सदुपयोग गर्ने लगायतका लक्ष्य लिएका छौ ।
अन्तमा भनि दिनु होस् कि अहिले समुहले के गर्दैछ ?
यो समूह सेवा सुविधाको वकालत पैरवी गर्ने समूह भएकाले यश संग आफ्नै आर्थिक बजेट छैन । साझा विकासका लागि सेवा प्रदायक सरकारी र गैरसरकारी संसंस्था समन्वय गर्नका लागि सम्बन्धित निकाय संग योजना माग र सान्दर्भिकता बारे छलफल सुझाव संकलन र यस समुहको कार्यक्षेत्र विस्तारका लागि आवश्यक पहल गर्ने सोच लिएको छ ।
यसका साथै विकासका लागि माथिबाट भन्दा तलबाट पहल गर्नु आवश्यक भएकोले टोल टोलको विकास विकास बाट वडाको र वडा वडाको विकास बाट गाउँपालिका विकास हुने भएकाले थलारा गाउँपालिकालाई नमूनायुक्त बनाउन यस्तै समुहको गठन हरेक टोल बस्तीमा आवश्यक छ । स्थानीय सरकारले पनि यस्तै समुहहरू द्वारा विकास योजना बारे समन्वय सहकार्य गर्नु राम्रो होला कि भन्न चाहन्छु ।
को हुन निवृत्त शिक्षक चौहान
साविकको काटभैरव गाविस ४ र हालको थलारा गाउँपालिका वडा नम्बर-६ सडिलमा बुबा जय बहादुर चौहान र आमा तुलसी देवी चौहानको कोखबाट वि.सं २०१३/१२/२८ गते मानबहादुर चौहानको पहिलो सन्तानका रुपमा जन्म भयो ।
चौहानको बाल्यकाल
सामान्य र संयुक्त परिवारमा जेठो सन्तानका रुपमा जन्म हुँदा स्नेहको कमि भएन । ३ वर्षको उमेरमा हुँदा बज्यैको देहान्त भएको स्मरण चौहान सँग छ । ५ / ६ बर्षको उमेर हुँदा सम्म आमाबाबु काका काकी सँग गाई भैंसी चराउने, खेतमा काम गर्ने ठाउँमा सँगै जाने गरेका थिए ।
७/८ वर्षको उमेरमा चौहानले भाइबहिनीको हेरचाह गर्ने जिम्मा लिए , त्यसपछि १०/१२ बर्षकै उमेरमा घाँस काट्ने दाउरा ल्याउने काम माछा मार्दै साथीहरूको लहैलहैमा कहिलेकाहीँ बिगो वा नराम्रो काम गर्दा कुटाइ पनि खाँदै बाल्यकाल बितेको चौहानले सुनाउनुभयो ।
शैक्षिक अवस्था
६ वर्षको उमेरमा चौहानले सडिल पिपल चौतारामा संचालन हुने गाउँले पाठशालामा अक्षराम्भ गरे , त्यहाँ दुवालीका तारादत्त जोशी नामका गुरुले उनलेे अ.आ , कख सिकाए ,
कक्षा १ त्रिभुवन प्राथमिक विद्यालय पिखेत खौलामा पढे भने कक्षा २ र ३ सेतीधार प्राथमिक विद्यालय सेतीधारमा बढेका हुन् । कक्षा ४ र ५ शान्ति मिडिल स्कुल पाराकाट्नेबाट पढिसकेपछि कक्षा ६ देखि १० सम्म थलारा माध्यमिक विद्यालयमा अध्यन गरि २०३३ सालमा चौहानले एसएलसी परीक्षा पास गरेका थिए ।
प्रविणता प्रमाणपत्र तह भारतको देहरादूनमा बढे । डिप्लोमा तह महेन्डरत्न क्याम्पस ताहाचल काठमाडौं बाट उतिर्ण गरेका हुन् । मास्टर डिग्री कैलाली बहुमुखी क्याम्पस धनगढी बाट पास गरेका थिए ।
शिक्षण पेशा
वि.सं २०३३ सालको एसएलसी परिक्षाको रेजल्ट २०३४ असार १२ गते प्रकाशित भयो । दोस्रो श्रेणीमा पास चौहान पास भए । त्यस समयमा जिल्ला शिक्षा कार्यालयमा अस्थाई प्राथमिक शिक्षकको विज्ञापन खुलेको थियोे र चौहानले निवेदन गरे र शिक्षकमा छनौट भइ त्यो समयमा जनप्रिय मावि बगडा, निमावि थियो र जिल्ला शिक्षाबाट चौहानलाई त्यहाँ खटाइयो । चौहान २०३४/०५/२३ गते शिक्षक पेशामा नियुक्त भए । त्यहाँ ६ महिना काम गरेपछि पाटादेव प्रावि पाटादेवल छान्नामा सरुवा भएका थिए । त्यहाँ १ महिना नबित्दै शान्ति माध्यमिक विद्यालय पाराकाट्नेमा सरुवा गर्दा चौहान २०३४/११/१२ गते त्यहाँ हाजिर भएको सुनाउँछन् । त्यतिबेला शान्ति प्रावि थियोे ,
त्यसपछि चौहान शान्तिका प्रधानाध्यापक पनि बने ।
शान्ति मावि भइसकेको १ वर्ष पछि चौहानले आफ्नै घरपायक पर्ने नवरत्न प्रावि कुचमा सुरुवा माग गरे , लगभग ३० वर्ष शान्तिमा सेवा दिएर , २०६३/०१/२० गते नवरत्न प्राविमा प्रवेश गरेका थिए , भने २०७४/०२/१४ गते सोही विद्यालयबाट अनिवार्य अवकास भएका हुन् ।
चौहानको निवृत्त जीवन
२०७४/०२/१४ बाट निवृत्त भइसकेपछि ३ वर्षसम्म लगातार धनगढीमा बसे , त्यो समुदायमा आफ्नो प्रवल इच्छा समाज सेवालाई ठाउँ पाउन सकेनन् , झलझली आफ्नो जन्म थलोकै विकासका सपना भइरहन थालेपछि २०७८ असारमा आफ्नै गाउँ फर्केर आएँ , त्यसपछि गाउँकै सुधार र उन्नतिको बाटो खोज्ने क्रममा एउटा सडिल धार्मिक तथा सामाजिक विकास समुह खोलेर अहिले त्यसैमार्फत समाज सेवाको प्रयास गरिरहेका छन् ।