५ बैशाख २०८२, शुक्रबार

बझाङमा लाग्ने चर्चित बिर्सती मेला आजदेखि सुरु
शिवजी मण्डेल, बझाङ !
बझाङमा लाग्ने चर्चित बिर्सती मेला आजदेखि सुरु भएको छ ।
हरेक वर्ष भदौ १८ गते सप्तमीदेखि जिल्लाको छबिस पाथिभेरा गाउँपालिका र दुर्गाथलि गाउँपालिकाको बिच बिसौनामा लाग्ने मेला सुरु भएको हो ।
चर्चित बिर्सती मेला महालिङ्ग , दुर्गा देवी र पाठपाला देउताका आलिपालिका करिया भक्तजनहरूले परम्परा कालदेखिनै मनाउँदै आएको हुन् ।
कसरी हुन्छ मेला सुरु र कहाँ कहाँ पुजा गरिन्छ
दुर्गादेवीका आलिपालि भक्तजनहरूले बिहानै स्नान गरि निराहार व्रत वसी आज छबिस पाथिभेरा गाउँपालिका-६ लेकगाउँमा रहेको बाठपाला देउताको मन्दिरमा जम्मा भएर पुजाआरधना गरेपछि मेला सुरु भएको मानिन्छ ।
१८ गते दिनभर र रातभर बाठपाला मन्दिरमा करिया भक्तजनहरू ढाँका नाच नाच्ने, मागल, फाग, गाउने , जाग्राम बस्ने गर्दछन् ।
१९ गते बिहान अष्टमीका दिन स्नान गरेर भक्तजनहरू लेकगाउँको बाठपाला मन्दिरमा जम्मा भएर ढाँका, डोला , मङ्लेरी महिला सहित लेकगाउँमाथि च्याकोटमा रहेको महादेव मन्दिर प्रस्थान गर्ने प्रचलन रहेको स्थानीय धन बहादुर बुढाले जानकारी दिनु भयो ।
बुढाका अनुसार उक्त मन्दिरमा महादेवको पुजाआरधना गर्ने ढाँका नाच नाच्ने , खेल्ने महादेवका मागल फागहरू गाउने गरिन्छ ।
पुजा सकिएपछि भक्तजनहरू ढाँका डोला सहित फेरि लेकगाउँमा रहेको बाठपाला मन्दिरमा फर्किन्छन् ।
लेकगाउँको बाठपाला मन्दिरबाट बाठपाला देउताले आफ्नो बुबा महादेवलाई भेट्न च्याकोट गएको किंवदन्ती रहेको छ । त्यसपछि बाठपाला देउताका आलिपालिहरूले हरेक वर्ष भदौ १९ गते महादेवको मन्दिरमा प्रस्थान गरि पुजाआरधना गर्ने गरेको बुढाले बताउनुभयो ।
महादेवको मन्दिर च्याकोट बाट लेकगाउँ बाठपाला मन्दिरमा फर्केका भक्तजन करियाहरू १९ गतेनै ढाँका डोली लिएर दुर्गाथलि गाउँपालिका सैनमा रहेको मन्यास्वाडा मन्दिर र मालिमाडुमा गएर पुजा आरधना गर्दछन् । त्यहाँका बुढापाखाहरू लेकगाउँमा पुग्ने नसक्ने भएको कारण त्यहाँ गएर पुजा गरिने गरेको पनि बुढा बताउँछन् ।
ती दुई मन्दिरमा पुजा सकिए लगत्तै फेरि डोला , ढाँका सहित लेकगाउँको बाठपाला मन्दिरमा फर्केर रातभरि भक्तजन करियाहरू मन्दिरमै ढाँका नाच नाच्ने , बाठपालाका मागल फाग गाउने जाग्राम बस्ने गरिन्छ ।
कहिले गरिन्छ थलिजिउला दुर्गा मन्दिरमा पुजा ?
१९ गते त्यसको भोलिपल्ट भदौ २० गते भक्तजनहरू स्नान गरि निराहार ढाँकाहरू लिएर थलिजिउलामा रहेको दुर्गा देवीको मन्दिर प्रस्थान गर्छन् ।
थलिजिलामा करियाहरू मात्र नभएर विभिन्न ठाउँबाट भक्तजनहरू दुर्गा देवीको पुजाआरधना गर्न जम्मा हुन्छन् । सम्पूर्ण भक्तजनहरू जम्मा भइसकेपछि पुजा सुरु हुने गरेको थलिनौविस युवा संजालका अध्यक्ष धनशेर बुढाले बताउनुभयो ।
पुजा समापन पश्चात् बेलुकी पख चाँभाई खेल लगाउँदै दुर्गा देवीको मन्दिर थलिजिउलाबाट बिसौना चौरमा पुग्ने र त्यहीँ २० गते राति देउडा खेलहरू खेल्दै रात बिताइन्छ । २० गते मेला भर्न बझाङका अधिकांश ठाउँबाट दर्सकहरू मेलामा पुग्छन् ।
दुर्गादेवी मन्दिर थलिजिउलाबाट पुजा सके र बिसौना मा देउडा खेल सकिएपछि मेला समान हुने गरेको अध्यक्ष बुढाले जानकारी दिनु भयो ।
मेला सम्पन्न भएको खुसीयालीमा २१ गतेदेखि विभिन्न सांस्कृतिक कार्यक्रमहरू र खेलहरु सुरु हुन्छन् ।

महालिङ्गका पुत्र पाठपाला देउताले बाटो बाटोमा गोरु गोठाला सँग चौतारी चिन्दै मठमन्दिर बनाउँदै गर्दा एउटी बुढीले के गरेको यो भनेको किंवदन्ती रहेको त्यहाँका बुढापाखाहरू बताउने गरेका छन् ।
त्यसपछि त्यहीँ बुढीले त्यति शक्तिशाली भए जुम्लाको सिजाका राजालाई चिन्न लगा भनेको र पाठपाला देउताले राजालाई चिन्न लगाई आफ्नो शरणमा ल्याइएको खुसियालीमा लेकगाउँ गाउँका लेकालले र बझाङ जिल्ला लगाएत अन्य जिल्लाका करियाहरूले भदौ १८ गतेबाट २० गतेसम्म पूजाआराधाना मागल देउताका फाग चाँभाइ खेल्दै बिर्सती मेला मनाउने गरेको किंवदन्ती छ ।
कसरी रह्यो मेलाको नाम बिर्सती ?
भदौ १८ र १९ गते पूजा आराधनाका लागि सम्पूर्ण तयारी गरी २० गतेबाट पूजा तथा मेला भव्य रूपले शुरू हुने गर्दछ । भदौ २० गतेबाट मेला लाग्ने भएकाले यस मेलाको नाम बिर्सती भन्न थालिएको पुर्खाको भनाइ छ ।
