२५ मंसिर २०८१, मंगलवार
बझाङका निर्वाचन खर्च विवरण नबुझाउने ५ सय १२ जना उम्मेदवार कारवाहीमा
बझाङका समयमै निर्वाचन खर्च विवरण नबुझाउने ५ सय १२ जना उम्मेदवार कारवाहीमा परेका छन। गत बैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दिएका र समयमै निर्वाचन खर्च विवरण नबुझाउने ५ सय १२ जना उम्मेदवार कारवाहीमा परेका हुन् ।
निर्वाचन खर्च बिवरण नबुझाउने उम्मेदवारमा बझाङका नगरपालिकाका प्रमुख १ जना उम्मेदवार कारवाहीमा परेका हुन् । उनीहरुलाई प्रतिव्यक्ति ४ लाख ५० हजारका दरले जरीवाना तोकिएको छ ।
यस्तै गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षका ३१ जना उम्मेदवार कारवाहीमा परेका छन् । उनीहरुलाई प्रतिव्यक्ति ३ लाख ५० हजारका दरले जरीवाना तोकिएको छ ।
यस्तै नगरपालिकाका वडा अध्यक्ष, दलित महिला सदस्य , महिला सदस्य र सदस्यका १ सय ३३ जना उम्मेदवार कारवाहीमा परेका छन् । उनीहरुलाई जनही २ लाखका दरले जरीवाना तोकिएको छ ।
यस्तै गाउँपालिकाका वडा अध्यक्ष, दलित महिला सदस्य, महिला सदस्य र सदस्य पदका ३ सय ४७ जना उम्मेदवार कारवाहीमा परेका छन् । उनीहरुलाई जनही १ लाख ५० हजारका दरले जरीवाना तोकिएको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन परिणाम घोषणा भएको ३० दिन भित्र निर्वाचन खर्च बिवरण बुझाउनुपर्ने व्यवस्था छ ।
तोकिएको जरीवाना नतिर्नेलाई आगामी ६ बर्ष सम्म कुनै पनि निर्वाचनमा भाग लिन नपाउने व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ ।निर्वाचन आयोगले ३० दिनभित्र खर्च विवरण नबुझाएका उम्मेदवारहरुलाई निर्वाचन आयोग ऐन २०७३ को दफा २५, स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ६४ को उपदफा ४ र स्थानीय तह निर्वाचन नियमावली २०७३ को नियम ४० अनुसार कारवाही गरेको हो ।