७ आश्विन २०८०, आईतवार

बझाङको सुर्मा गाउँपालिका – ५ को काडाँ गाउँ बाढीपहिरोको उच्च जोखिममा , स्थानीयको त्रिपालमुनी बास
शिवजी मण्डेल, बझाङ
बझाङको सुर्मा गाउँपालिका- ५ को एक बस्ती बाढीपहिरोको उच्च जोखिममा रहेको छ । सुर्मा गाउँपालिका- ५ स्थित रहेको काडाँ बस्ती बाढीपहिरोको उच्च जोखिममा रहेको हो ।
बिच गाउँमा पहिरो जानथालेपछि घरहरू जोखिममा रहेका त्यहाँका स्थानीयहरू बताउँछन् ।

गाउँमा पहिरो जानथालेपछि कति स्थानीय अन्यत्र ठाउँ सरे ,भने कतिपय विदेशीएका स्थानीय वकिल जेठाराले बताए । जेठारा आफुपनि जोखिममा रहेको बताउँछन् ।
अन्यत्र ठाउँमा सर्नका लागि आफ्नो जग्गा नहुनेहरू भने अहिले त्रासमय जीवन जिउन र परदेशीन बाध्य भएका हुन् । वर्षाको समयमा कतिबेला पो पहिलो जान्छ भन्ने डर लाग्छ स्थानीय लालबहादुर जेठारा भन्छन् । वर्षा आएको दिन छिमेकीकोमा गएर बस्ने गरेको उनलेे सुनाए । आफू मात्रै होइन आफूजस्तै पहिरोको उच्च जोखिममा अन्य ४ परिवार रहेका छन् । भने जोखिममा लगभग पुरै गाउँ १ सय परिवार रहेका छन् ।
बाढीपहिरोले खानेपानीको पाइपलाइनमा समेत क्षति पुर्याएको छ ।


ओल्लो पल्लो दुबई तिर पहिरो गएको छ , बिचमा सिमराज जेठाराको घर छ ! उनी वर्षा लागेको दिन रातभर निदाउदैनन् , उनलाई निद्रा भन्दा पनि कतिबेला पो घर बग्छ भन्ने चिन्ता लाग्छ । गतवर्ष असोज ३१ गतेदेखि कार्तिक ३ गतेसम्म आएको अविरल वर्षाले उक्त गाउँको दुई ठाउँमा बाढीपहिरो गएको थियोे । त्यो बेला बसन्त जेठाराको सिलेटले छाएको घरमा क्षति भयो । पहिरोले घर बस्न लाएक रहेन ।उनले खेतीयोग्य जमिन पनि पहिरोले लगेको जानकारी दिए । तर बसन्तले स्थानीय, प्रदेश सरकार कुनै ठाउँबाट राहत उपलब्ध नभएको बताए । उनलेे घर बस्न लाएक नरहेपछि प्रहरीलाई मुचुल्का उठाइ दिए भने गाउँपालिका र जिल्ला प्रशासन कार्यालयमा निवेदन पेश गरे , उनलेे पाउन भने यतिठाउँमा गुहार्दा केही पनि राहत नपाएको बताएका छन् ।
गाउँमा जोखिम भएपछि अर्का स्थानीय धनु लकन्डी गाउँभन्दा अलि टाढा त्रिपाल हालेर बर्षायाम बिताइरहेका छन् । घरमा बस्न डर लाग्छ राति निद्रा पर्दैन त्यसैले त्रिपाल हालेर यो सुरक्षीत ठाउँमा आएर बसेको छु उनले भने । धनुको घर मात्रै जोखिममा होइन खेतीयोग्य जमिन त पुरै पहिरो लागेर बगिसकेको छ । उनको ४ क्विन्टल गहुँ फल्ने जमिन बाढीपहिरोले बगाएको हो ।

गाउँमा पहिरोको जोखिम बढेपछि र खेतीयोग्य जमीनलाई पहिरोले बगाए पश्चात् देवु बोहराले गाउँनै छाडेका छन् । उनी अहिले गाउँ छोडेर भारतमा बस्दै आएका छन् ।
उनले भने गाउँ बसौं त एकातिर बाढीपहिरोको डर त अर्को तिर भोकमरी हुने डर , कमाइ खाने खेतीयोग्य जमिन गतवर्ष असोज ३१देखि कार्तिक ३ गतेसम्म आएको बाढीपहिरोले लगिसकेको छ , त्यसैले परदेशीएको हुँ ।
अहिले काडाँ गाउँमा दुई ठाउँमा पहिरो गएको छ । त्यसै पहिरोको कारणले छेउछाउका पक्की र अन्य घरहरू जोखिममा रहेको देखिन्छन् ।

कहिले आयो गाउँमा बाढीपहिरो
गतवर्ष असोज ३१ देखि कार्तिक ३ गतेसम्म आएको बेमौसमी अविरल वर्षाका कारणले बाढीपहिरो आए पछि उक्त गाउँमा जोखिम निम्तिएको हो ।
उक्त बाढीपहिरोले मानवीय क्षति नगरेपनि भौतिक क्षति गरेको थियोे ।कहिले बाढीपहिरो नगएको काडाँगाउँमा गतवर्ष दुई ठाउँमा बाढीपहिरो गयो । त्यो बाढीपहिरोले कतिको घरमा क्षति पुर्यायो त कतिको खेतीयोग्य जमिन बगायो ।
अनुगमन भयो तर पहिरो रोकथामका लागि पहल भएन
गतवर्षको बाढीपहिरो पछि स्थानीय तहका जनप्रतिनिधि सुरक्षाकर्मीको टोलीले काडाँगाउको अनुगमन गर्यो । अनुगमन पश्चात् स्थानीय तहले वास्तविक पीडितलाई छानेको भनी केही व्यक्तिलाई २० हजारका दरले राहत पनि उपलब्ध गरायो । तर स्थानीयको भने राहत वास्तविक पीडितले नपाएको आरोप छ । धनु लकन्डी भन्छन् राहत वितरण भन्थे म गइन् , त्यो राहतले २ छाक टार्न मात्रै पुग्थ्यो यदि साँच्चिकै गाउँ गाउँमा सिंहदरबार दिलाउने सरकार भए र जनताका निम्ति प्रतिनिधित्व गर्ने जनप्रतिनिधि भए बाढीपहिरो गएको क्षेत्रमा रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पहल चालिनु पर्थ्यो , तर अहिलेसम्म कुनै वास्तै गरिएन ।
यदि सरकारले बाढीपहिरो रोकथाम तथा नियन्त्रणमा पहल चालिदिएको भए अहिले यसरी आफूहरूले त्रिपाल मुनि, डरैडरमा र विदेशीएर बस्नुपर्ने थिएन स्थानीयको भनाइ छ ।
गाउँको समस्या सुनाउँदा नेताहरू हुन्छ भन्ने तर अहिलेसम्म उक्त क्षेत्रलाई जोगाउन तर्फ स्थानीय सरकारको ध्यानाकर्षण नभएको पनि लकन्डी बताउँछन् ।
गाउँ बाढीपहिरोको जोखिममा परेको एक वर्ष पुरा हुन लाग्दा समेत जनप्रतिनिधिको ध्यानाकर्षण भएन ।
यता वडा अध्यक्ष वीरबहादुर जेठाराले भने आफू भर्खरै निर्वाचित भएर आएको बताउँदै बाढीपहिरो रोकथामका लागि पहल चल्ने बताउँछन् ।
वडाको बजेटबाट मात्रै उक्त गाउँको बाढीपहिरो रोकथाम गर्न सकिने अवस्था छैन अध्यक्ष जेठाराले भने , हामी गाउँपालिका सँग यस विषयमा छलफल गरि आवश्यककदम चाल्ने छौ उनलेे बताए ।