२२ जेष्ठ २०८०, सोमबार

सुदूरपश्चिम राजधानी कप राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि लुम्बिनीलाई
कैलालीको धनगढीमा भएको सुदूरपश्चिम राजधानी कप राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि लुम्बिनी प्रदेशले जितेको छ । शनिबार धनगढी रंगशालामा भएको फाइनलमा लुम्बिनीले कर्णाली प्रदेशलाई सडनडेथमा हराएको हो ।
पेनाल्टी शुटआउटमा दुवैबाट ९–९ गोल भएको थियो । त्यसअघि निर्धारित समयसम्म दुवैले १–१ को बराबरी खेलेका थिए । दुवै टोलीले आत्मघाती गोल गर्दा निर्धारित समयको खेल बराबरीमा पुगेपछि निर्णय पेनाल्टी शुटआउटमा गरिएको हो ।
लुम्बिनीले ५ लाख रुपैयाँसहित ट्रफी जितेको छ । उपविजेता कर्णालीले ३ लाख रुपैयाँ पायो । उत्कृष्ट खेलाडी लुम्बिनीका फागुराम चौधरी भए ।
उनले २० हजार पाए । उत्कृष्ट डिफेन्डर लुम्बिनीका चेतन थारु, उत्कृष्ट गोलरक्षक कर्णालीका सुदीप शाही ठकुरी, उत्कृष्ट प्रशिक्षक कर्णालीका चन्द्रप्रकाश शाही, उत्कृष्ट मिडफिल्डर कर्णालीका भूपेन्द्र शाही चुनिए । उनीहरू जनही १० हजार पुरस्कार पाए । अत्तरियाको पीएफए स्पोर्ट्स क्लबको आयोजनामा प्रतियोगिता भएको हो ।