२५ मंसिर २०८१, मंगलवार
दार्चुला : व्यास गाउँपालिका–१ छाङरु र तिङ्करको मतदान सदरमुकाम खलंगामै हुने
दार्चुलाको व्यास गाउँपालिका–१ छाङरु र तिङ्करको मतदान सदरमुकाम खलंगामै हुने भएको छ । व्यासमा अहिले चिसो बढेका कारण अधिकांश मतदाता खलङ्गा झरिसकेकाले छाङरु र तिङ्कर दुवै गाउँवासीले जिल्ला सदरमुकाम खलङ्गाबाटै मतदान गर्ने गरी तयारी भएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिनुभयो ।
वडा कार्यालयको सिफारिसका आधारमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आयोगबाट अनुमति मागेर खलङ्गामै मतदान गर्ने व्यवस्था गर्न लागिएको मुख्य निर्वाचन अधिकृत खेमराज भट्टले जानकारी दिनुभयो । अहिले सबै सर्वदलीय सहमति र वडाको सिफारिसका आधारमा दुवै गाउँको मतदान केन्द्र खलङ्गामै कायम गरिएको उहाँले बताउनुभयो ।
छाङरुको मतदान केन्द्रमा तीन सय ८३ र तिङ्करको केन्द्रमा दुई सय ३४ जना मतदाताले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा मताधिकार प्रयोग गर्ने बताइएको छ । तिंकरका मतदाताले सदरमुकाम खलंगाको बंगाबगरमा रहेकाे मोती महिला संघ आधारभूत विद्यालयमा मतदान गर्ने बताइएको छ भने छाङरुका मतदाताले कैलासपति आधारभूत विद्यालयमा मतदान गर्ने प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताउनुभयाे ।
गएकाे बैशाख ३० गते भएको पालिका तहको चुनावमा यो क्षेत्रमा नेपाली भूमिबाट छाङरू र तिङ्कर जान बाटो नभएका कारण हेलिकोप्टरमार्फत चुनाव सामग्रीका साथै कर्मचारी र सुरक्षाकर्मीहरु लगिएको थियो ।
दार्चुलाका एक सय ४३ मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी परिचालन समेत गरिएको छ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनावका लागि खटिएका कर्मचारी र सुरक्षाकर्मीहरु चुनाव सामग्री बुझेर मतदान केन्द्रहरुमा पुगेका छन् ।