बैतडीमा घाँटी रेटेर हत्या गरिएकी युवती म्यादी प्रहरी थिइन्, सशस्त्रका जवान शंकाको घेरामा

सेयर गरौं

घाँटी रेटेर हत्या गरेको अवस्थामा भेटिएकी बैतडीको पञ्चेश्वर गाउँपालिका–४ सैलोडाकी २१ वर्षीया माया लुहार म्यादी प्रहरी भएको खुलेको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना भएकी लुहार सेवा अवधि सकिएपछि घर फर्किएकी थिइन् ।

उनी मंगलबार भदै नाता पर्ने १५ वर्षीया नेहा लुहारसँगै लुगा सिलाउन पञ्चेश्वर गाउँपालिका–३ कुलाउ गएकी थिइन् । उनको गाउँबाट डेढ घण्टाको पैदल यात्रापछि पुगिने कुलाउबाट दुवै जना मंगलबार घर फर्किएनन् । घर नफर्किएपछि परिवारले साँझदेखि सोधिखोजी थालेको थियो ।

उनीहरुको कुनै मेसो नपाएपछि प्रहरीलाई बुधबार बिहान प्रहरीलाई खबर गरे । स्थानीयको सहयोगमा प्रहरीले बुधबार बिहानैदेखि उनीहरुको खोजी थालेको थियो । शिवनाथ गाउँपालिका–६ को सिमानास्थित बालाडाँगा नेहा घाइते अवस्थामा भेटेपछि मायाको हत्या भएको रहस्य खुल्यो ।

नेहाले नै मायाको घाँटी रेटेर हत्या गरिएको बताएपछि मायाको शव भेटिएको थियो । उनको पनि घाँटी रेटिएको छ । नेहालाई उपचारका लागि डडेल्धुरा पठाइएको छ भने माया मृत भेटिएको स्थान सिल गरेर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

स्थानीय जवलपुर माध्यमिक विद्यालय सैलोडामा १२ कक्षामा अध्ययनरत मायाको हत्याको घेरामा सशस्त्र प्रहरीका एक जना जवान परेका छन् । शिवनाथ गाउँपालिका–६ सोलपालाका स्थानीय समेत रहेका ती शसस्त्र प्रहरी जवान विदामा घर आएका थिए ।

केही दिनअघि कुलाउमा उनले मायाको मोबाइल खोसेका कुरा बाहिरिएको छ । घटनापछि ती शसस्त्र प्रहरीका जवान फरार भएकाले उनी नै हत्यामा संलग्न भएको आशंका बढेको छ । प्रहरीले भने घटनाबारे विभिन्न कोणबाट अनुसन्धान भइरहेकाले अहिले नै केही भन्न सकिने अवस्था नरहेको जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
5
संवाददाता
संवाददाता
Articles: 1365