बैतडीमा होस्टेलमा बस्ने युवतीले श्रीमानको सहयोगमा गरिन् शिक्षकको हत्या

सेयर गरौं

बैतडीको पाटनमा गत शनिबार मृत अवस्थामा भेटिएका शिक्षक धनबहादुर विष्टको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सुर्नया गाउँपालिकाको ग्वानी घर भएर पाटनस्थित कृष्ण माध्यमिक विद्यालयमा पढाउदै आएका विष्टको हत्या गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।

प्रदेश प्रहरी कार्यालयकाअनुसार हत्या अभियोगमा पक्राउ पर्नेमा कृष्ण माध्यमिक विद्यालयमा कम्प्युटर डिप्लोमा अध्ययन गर्ने पुर्चौडी नगरपालिकाकी बिमला बोहरा र उनका श्रीमान प्रजा बोहरा छन् । दुवै जनालाई इलाका प्रहरी कार्यालय पाटनको हिरासतमा राखिएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) भोला रावलले कृष्ण माध्यमिक विद्यालयको छात्रबासमा बसेर अध्ययन गर्दै आएकी युवती र उनका श्रीमानलाई हत्या आरोपमा पक्राउ गरिएको पुष्टि गरे । उनकाअनुसार शिक्षक विष्ट पनि सोही छात्रबासको माथिल्लो तलामा बस्दै आएका थिए ।

‘छात्रबासको माथिल्लो तलामा मृत भेटिएका शिक्षक विष्ट र तल्लो तलामा भाईहरुसँगै पढ्दै आएकी महिला बस्ने गरेको देखिएको छ,’ एसएसपी रावलले भने, ‘घटना भएको दिन विष्टले ती युवतीलाई बोलाएका रहेछन् । सोही क्रममा विवाद हुँदा उहाँको हत्या भएको खुलेको छ । घटनामा थप अनुसन्धान जारी छ ।’ रावलले जिल्ला प्रहरी कार्यालय बैतडीले पत्रकार सम्मेलनमार्फत अभियुक्तलाई सार्वजनिक गर्ने जानकारी दिए ।

उनीहरु दुवै जनाविरुद्ध पीडित पक्षले किटानी जाहेरी दिएको छ । बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) प्रेम शाहीले पनि पत्रकार सम्मेलन गरेर अभियुक्त सार्वजनिक गरिने बताए । हत्या अभियोगमा बोहरा दम्पतीलाई पक्राउ गरिएको डीएसपी शाहीले पनि पुष्टि गरे ।

शिक्षक विष्ट पुष २ गते बिहान पाटनस्थित कृष्ण माध्यमिक विद्यालयको होस्टेल पछाडि मृत अवस्थामा भेटिएका थिए । विष्टको हत्या भएको भन्दै घटनाको अनुसन्धान गरेर दोषीलाई कारवाहीको दायरामा ल्याउन माग गर्दै सोही दिनदेखि पाटनमा आन्दोलन भइरहेको थियो ।

बुधबार पाटन नगरपालिकामा तालाबन्दी गर्दै नगर क्षेत्रका विद्यालय समेत बन्द गरिएका छन् । न्यायका लागि गठित संघर्ष समितिले बिहीबार जिल्लाभरका विद्यालय बन्द गरेर आन्दोलनमा सहयोग गर्न अपिल पनि गरेको छ । पीडित परिवारले विष्टको शव पनि बुझेका छैनन । साभार प्रेस पत्रबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
संवाददाता
संवाददाता
Articles: 1356