१९ आश्विन २०८१, शनिबार
दार्चुलाको व्याँसमा अवरुद्ध मोबाइल सेवा अझै सञ्चालनमा आएन
दार्चुलाको व्याँस गाउँपालिका–१ छाङरु आसपासको मोबाइल सेवा अझै सञ्चालन हुन सकेको छैन । पुषमा आगलागीले लिंक टावरमा राखिएका ब्याँट्री डाउन भएपछि एक महिनादेखि अवरुद्घ मोबाइल सेवा सञ्चालनमा आउन नसकेको हो ।
नेपाल टेलिकम दार्चुलाले माघ पहिलो साता प्राविधिक पठाएर मोबाइल सेवा सञ्चालन गर्ने प्रयास गरे पनि हुन सकेको छैन । माघ ४ मा प्राविधिक कर्मचारी छाङरु पुगेर एक हप्ता टावर सञ्चालनको प्रयास गरेका थिए । ‘आगलागीबाट सोलार र ब्याट्री जोड्ने तारहरू जलेका थिए’, टेलिकम दार्चुलाका प्राविधिक दुर्गा बस्यालले भने, ‘तारहरू परिवर्तन गर्दा पनि ब्याट्री र सोलार कन्ट्रोलरले काम नगर्दा टावर सञ्चालन हुन सकेन ।’
अहिले व्यासको छाङरुमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको मात्र बसोबास छ । कौवा र बसुन्धरा वन क्षेत्रबाट फैलिएको आगो ज्याक्ति टावरसम्म पुगेपछि टावरमा क्षति भएको व्यास गाउँपालिका–१ का वडाध्यक्ष अशोक सिंह बोहराले बताए । कौवा र बसुन्धरा क्षेत्रमा भएको आगलागीको कारण अहिलेसम्म खुल्न नसकेको उनको भनाइ छ ।
छाङरु गाउँबाट ३ घण्टाको पैदल दूरीमा रहेको ज्याक्ति टावरमा तत्काल नयाँ ब्याट्री ढुवानी गर्न सम्भव नभएको टेलिकम दार्चुलाले जनाएको छ । ‘अहिले उक्त क्षेत्रमा बाक्लो हिमपात भएको हुनाले तत्काल ब्याट्री ढुवानी गर्न सकिने अवस्था छैन’ टेलिकम कार्यालयका प्राविधिक कर्मचारी बस्यालले भने ‘भारतीय बाटो भएर छाङरुसम्म र छाङरुबाट भरियामार्फत ढुवानी गर्नुपर्ने हुन्छ ।’ हिमपातले अत्यधिक चिसो भएको र ज्याक्ति टावर उच्च स्थानमा रहेकाले त्यहाँ पुग्नसमेत कठिन भएको बस्यालको भनाइ छ । छाङरुमा एक हप्ता कुरेर माघ ९ मा टेलिकमका प्राविधिक बस्याल सशस्त्र प्रहरी र नेपाल प्रहरीका दुईरदुई सुरक्षाकर्मीसहित ज्याक्ति टावरमा पुगेका थिए ।
व्याँसका स्थानीयको कुञ्चा सरेसँगै दुई महिनापछि ज्याक्तिको लिंक टावर मर्मत गरी सञ्चालनमा ल्याइने टेलिकम दार्चुलाले जनाएको छ । अहिले व्यासको छाङरुमा स्काई फोन र सशस्त्र प्रहरीको गुल्ममा भिस्याट प्रविधिको एनटिस्याट फोन सञ्चालनमा छ । मौसममा बदली भएपछि स्काई फोन सेवा बन्द हुन्छ । घाम लागेपछि उक्त सेवा सञ्चालन हुन्छ । हिमपात र चिसो छल्न व्यासका स्थानीय बासिन्दा भने अहिले सदरमुकाम खलंगा सरेका छन् ।