२७ आश्विन २०८१, आईतवार
सन्दीपलाई राष्ट्रिय टिममा फर्काएको भन्दै माइतीघरमा क्यानविरुद्ध प्रदर्शन
काठमाडौं । बलात्कार मुद्दाका अभियुक्त सन्दीप लामिछानेलाई खेलमा फर्काएको विरोधमा आज काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन भएको छ । युवाहरूको एक समूहले नेपाल क्रिकेट संघ (क्यान) र सन्दीपलाई बहिष्कार गर्नुपर्ने माग गर्दै माइतीघरमा प्रदर्शन गरेका हुन् ।
उनीहरूले बलात्कार आरोपी र उनलाई साथ दिने दुवैलाई बहिष्कार गर्नुपर्ने आशयका नारा लेखेको प्लेकार्ड बोकेका थिए । प्रदर्शनमा अवरोध पुर्याउन खोज्ने तारा बराललाई प्रहरी पक्राउ गरेको छ ।
एक नाबालिकालाई बलात्कार गरेको अभियोग क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ । तर क्रिकेट संघले उनलाई राष्ट्रिय टिममा फर्काएपछि विरोध भइरहेको छ ।
क्यानले बलात्कार आरोप लागेका क्रिकेटर लामिछानेलाई समेट्दै लिग डिभिजन टु अन्तर्गत नेपालमा हुने नामिबिया र स्कटल्याण्डसँगको खेलका लागि २० जनालाई क्याम्पमा बोलाएको थियो ।
क्रिकेटर लामिछाने हिजोबाट नियमित अभ्यासमा छन् । बलात्कार आरोप लागेपछि सन्दीपलाई क्यानले निलम्बन गरेको थियो ।
गत मंगलबार पोखरामा बसेको क्यानको बोर्ड बैठकले नेपालको क्रिकेटलाई उकास्नका लागि सन्दीपलाई खेलाउनै पर्ने बाध्यता रहेको क्यानले जनाएको थियो । बैठकले सन्दीपमाथिको निलम्बन फुकुवा गर्दै उनलाई प्रशिक्षणमा बोलाएको थियो । अदालतले सन्दीपलाई २० लाख धरौटीमा रिहा गरेको थियो । उनलाई क्रिकेट खेल्न रोक लगाइएको छैन ।