१९ आश्विन २०८१, शनिबार
एक महिने श्रीस्वस्थानी व्रतकथाको आज समापन गरिँदै
बझाङ ।
हिन्दू धर्मावलम्बीले श्रद्धापूर्वक वाचन र श्रवण गर्ने एक महिने श्रीस्वस्थानी व्रतकथाको आज समापन हुँदैछ ।
पुष शुक्ल पूर्णीमाका दिनदेखि सुरु भएको यो वर्षको श्रीस्वस्थानी व्रतकथा आज आइतबार विधिवतरुपमा समापन गर्न लागिएको हो ।
आजदेखि श्रीस्वस्थानी परमेश्वरीको पुस्तकलाई वर्ष दिनसम्मका लागि विसर्जन गरिन्छ ।
महिनाभरि स्नान गरी मध्याह्न श्रीस्वस्थानीको पूजा गरी एक छाकमात्रै खाना खाएमा मनोकांक्ष पूरा हुने जनविश्वास छ ।
सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउनका लागि विष्णुको सल्लाहानुसार निराहार रहेर स्वस्थानीको व्रत गर्दा आफ्नो मनोकाङ्क्षा पूर्ण भएको र पछि उनले लोककल्याणका निम्ति सो व्रतकथा प्रचारप्रसार गराई गरिब तथा दुःखीको उद्धार गरेकाे परम्परागत रूपमा यो कथा प्रचलित हुँदै आएको मानिन्छ ।
व्रत समाप्तिका दिन श्रीस्वस्थानीको पूजा गरी चढाइने एक सय आठ–एक सय आठ रोटी, पान, कुड्का सुपारीलगायत सामग्रीमध्ये आठ–आठ रोटी, सुपारी र पानलगायत सामग्री आफ्ना श्रीमानलाई, श्रीमान् नभए छोरालाई, छोरा पनि नभए मीत छोरालाई दिने र मीत छोरा पनि नभए आफ्नो इच्छा पूरा होस् भनी खोलामा लगेर बगाइदिने र बाँकी व्रतालु स्वयम्ले खाने प्रचलन छ।
यो अवधिभर पशुपति, गौरीघाट, गणेश मन्दिर, शालीनदी तथा सतीदेवीको अङ्ग पतन भएका स्थानमा नुहाइधुवाइ पूजाआजा गरेमा मोक्ष मिल्ने धार्मिक विश्वासका साथ ती स्थानमा भक्तजनको घुइँचो लागेको छ ।