टर्की र सिरियामा भूकम्पमा परि मृत्यु हुनेको संख्या ३४ हजार नाघ्यो

सेयर गरौं

काठमाडौं – गएको सोमबारको विनाशकारी भूकम्पमा परी टर्की र सिरियामा मृत्यु हुनेको संख्या कम्तीमा ३४ हजार १७९ पुगेको छ ।

टर्कीमा मात्र मृत्यु हुनेको संख्या २९ हजार ६०५ पुगेको त्यहाँको आपत्कालीन समन्वय केन्द्र साकोमले जनाएको छ ।

भूकम्पमा परी सिरियामा मृत्यु हुनेको संख्या चार हजार ५७४ पुगेको छ । उत्तरपश्चिमी सिरियाको विपक्षी नियन्त्रित भूभागमा मात्र तीन हजार १६० जनाको मृत्यु भएको सीएनएनले उल्लेख गरेको छ ।

त्यहाँको सरकारी समाचार एजेन्सी सानाका अनुसार भूकम्पमा परी सिरिया सरकार नियन्त्रित भूभागमा एक हजार ४१४ जनाको मृत्यु भएको छ ।

बीबीसीका अनुसार भूकम्पपछि ६ हजारभन्दा बढी भवनहरू भत्कियो । सडकको खराब अवस्था, हिमपातलगायत कारण खोजी तथा उद्धारकार्यमा कठिनाइ भएको थियो ।

उक्त भूकम्पबाट टर्कीमा एक करोड ३० लाखभन्दा बढी मानिस प्रभावित भएका छन् । विभिन्न १० प्रान्तका सहर बढी प्रभावित भएका हुन् ।

स्थानीय समयानुसार सोमबार बिहान ४ बजेर १७ मिनेटमा टर्कीको गाजियन्टेपनजिकै केन्द्रविन्दु भएर ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट १७.९ किमि गहिराइमा थियो ।

सोमबारै दिउँसो टर्कीमा अर्को शक्तिशाली भूकम्प गएको थियो । ७.५ म्याग्निच्युडको उक्त भूकम्पको केन्द्रविन्दु कहरामनमारस प्रान्तको एल्बिस्तान जिल्लामा रहेको बीबीसीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1228