२७ आश्विन २०८१, आईतवार
कमरेड, गाउँ र बाटो
✍ युगीन विवेक
बझाङ
राता-राता झण्डाहरु सिलाएको बिर्खे
फेरि उनै मुखियाको आगनमा
भोको पेट सिलाई रहेछ
आफ्नै नशाको धागो र हड्डीको सियो बनाएर
छोरीको कुमारीत्व
अपहरणमा परेको दिनबाट
आमाको रात निदाउनै मान्दैन
कमरेड ! छ भने पठाईदिनु
एकमुठ्ठो ‘स्लिपिङ ट्याब्लेट’ राधाको घरमा
आँसुको मलम लगाउँदा पनि श्रीमतीले
झनझन् चहर्याउने गर्छ
गोली अड्केको तिघ्रा
कमरेड ! सकिन्छ भने पठाईदिनु
एकपोका ‘पेन किलर’ खुसीरामको झुपडीमा
बेपत्ता छोरासंगै हराएको
माहिली भाउजुको हाँसो फर्काउनु छ
कमरेड ! कसैसंग पठाईदिनु
एकडब्बा ‘लाफिङ ग्याँस’
सहिद प्रेमीको सम्झनामा
रुँदारुँदा सुकेपछि आँसु
भिजाउनु छ आँखा
कमरेड ! जसरी पनि पठाईदिनु
दुईथोपा ‘ग्लिसिरिन’ भुन्टीको नाममा
आकाशतिर बटारेका मुट्ठीहरु
सलाम ठोक्न काम लागेकाछन् अचेल
मुक्तिको गीत गाएको धनवीरे
अरबी फलाँक्न थालेकोछ
बारुद पिस्ने हातले
ऊँटको गोबर सोहर्न थालेको कति भयो कति
सुकिलो तारा जडित रातो फेटा बाँध्ने निधार
पगरी गुथेर जोगाएकोछ उसले
ताकि प्रचण्ड तापले अब
यो भन्दा बढी नपग्लियोस्, भाग्य !
अथक योद्धाहरुले सेन्ट्रीगर्ने पोष्टमा
अहिले बाँदर नाँच्ने गरेकाछन्
सुन्दर भविष्यको खाका कोरेका बंकरभित्र
स्यालका छाउराहरु लुकामारी खेल्छन्
खुईलिंदै गरेका पर्खालका नाराहरुमाथि
समयको लेउ टाँस्सिएको छ
कमरेड दरबार पसेको समाचार सुनेपछि
आगो झोस्यो उसले
जुनघरमा कमरेड सेल्टर बसेकाथिए
बिस्टा छर्यो बंकरभरी
झण्डाबाट आँसी हतौडा झिक्दै भन्यो-
‘अब म आफ्नै झुपडीलाई महल बनाउँछु’
कमरेड ! बिर्खेहरुको भाग्य सिउने
धागो छ तपाईसंग ?
भए अलिकति पठाईदिनु गाउँतिर
गोलीले ताछेका निधारहरु सिलाउनु छ
फेरिपनि गाउँ पस्ने औसर आए
रातामान्छेले हिंडेको त्यो पुरानो बाटोभरी
बनमारा उम्रेकाछन्
अपरिचित जस्तो लाग्नसक्ला
कमरेड ! त्यतिबेला आउँदा
हातमा बन्दुक हैन उज्यालो लिएर आउनु