८ आश्विन २०८०, सोमबार

प्रिय मिमोसा – कविता
✍️ युगीन विवेक – बझाङ
मनमा नियास्रोले डामेको बेला
बादलझैं गुजुल्टिएर शब्दहरु
आँसुको संघारमा पुग्छन्
तिम्रो सम्झना रोप्नेबेला
धाँजा फाट्छन् स्मृतिका फाँटभरि
औडाहाले पोतेको अँध्यारो पानामा
खै ! के लेखौं तिम्रालागि- कविता
निस्कृय, निस्पन्द पहाड जस्तै
कल्पनाकाशमा नवपल्लवझैं
सुकुमार रहरहरु
क्षणभरमै पतझर भई दिन्छन्, तिमी नहुँदा
डाँफे र मुनालहरु रोदी खेल्दैछन्
अपी-सैपालको प्रतिस्पर्धा छ यहाँ
पहाडहरु कुहिरोको आलिङ्गनमा मस्तछन्
धुपीले मादक बास्ना छर्नेबेला
सल्लाहरु मधुर संगीत गुञ्जाउँछन्
तिम्रै यादले-
आँसुको वेगनासमा डुबेको बेला
अट्टाहास हाँस्छन्, केही नाङ्गा पहाडहरु
र त मलाई- जिस्काएको भान हुन्छ
मौरीको भुनभुनाहटले
तिम्रो शुभ सन्देश दिन्छ
तोरीबारीको लावण्यताले
सामिप्यताको झझल्को उठाउँछ
तोरी फुलेर पहेंलपुर भएको छ खेतभरि
तिमी त्यहाँ- हुस्सुको घुम्टो ओढेर बसेकी हौली
म यहाँ- कलिलो बिहान ओठभरी खेलाउँदैछु
म चाहन्छु-
तिमी पनि स्वैरकल्पनामा
पौडिदै-पौडिदै आऊ
अपी सैपालको फेदीमा
सेती कर्नालीको दोभानमा
रामारोशन, खप्तडको आगनमा
जहाँ- हाम्रो प्रेमले
निर्धक्क पखेटा फैलाउन पावस्
- © युगीन विवेक
प्रणय दिवसको शुभकामना छ प्रिय ❤️missing you much ❣️