करोड लगानीमा निर्माण गरिएको बालआश्रम प्रयोगविहीन, प्रयोगमा नआउँदै भवन जीर्ण बन्दै

सेयर गरौं

बझाङको जयपृथ्वी नगरपालिका ९ स्थित देवलमा असहाय र विपन्न बालबालिकालाई आवासीय शिक्षा दिने उद्देश्यले निर्माण गरिएको बालआश्रम प्रयोगविहीन भएको छ ।

नेपाल सरकारको एक करोड लगानीमा दुई वर्षअघि निर्माण भएको भवन सञ्चालनमा नआउँदा प्रयोगविहीन भएको हो।

संघीय सरकारको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको ५० लाख र संघीय सरकारकै ५० लाख विशेष अनुदान रकमबाट बालबालिकाको लागि शयन कक्ष, भान्सा, वार्डेेन कक्ष, मनोरन्जन कक्षलगायत कोठा सहितको उक्त बालआश्रमको भवन निर्माण गरिएको थियो ।

यद्यपि भवन बेवारिसे हुँदा प्रयोगमा नआउँदै जीर्ण बन्न थालेको छ । भवनका झ्यालका सिसा फुटाएका छन्, भने भवनको वरिपरि झाडी पलाउन थालेको छ ।
बालआश्रम सञ्चालनमा नआउँदा सरकारी लगानी अलपत्र परेको र असहाय बालबालिकासमेत सेवाबाट वञ्चित भएको स्थानीयले बताएका छन् ।

भवन प्रयोगमा नआउँदा सरकारी लगानी खेर गरेको र समस्यामा परेका बालबालिकाको उचित शिक्षा नपाएर भविष्य अन्धकार हगरेको जयपृथ्वी-९ का युवा प्रविन्द्र धामीले बताउनुभएको छ । बालआश्रम सञ्चालन गर्नुपर्‍यो भनेर नगरपालिकालाई लिखित र मौखिक अनुरोध गरेको भएनि अहिलेसम्म सञ्चालन गर्ने कुनै तयारी नभएको उहाँले बताउनुभयो  ।
यो भवनमा बालआश्रम सञ्चालन गर्नका लागि गैरसरकारी संस्थाले पनि प्रयास गरेको तर नगरपालिका आफैंले सञ्चालन गर्ने भन्दै अरूको जिम्मा नदिँदा सरकारको लगानी अलपत्र हुन थालेको स्थानीयको भनाइ छ ।
नगरपालिकाले उक्त भवनको संरक्षण र बालआश्रम सञ्चालनका लागि छिटो पहल नगरे भवन नै प्रयोग गर्न नमिल्ने अवस्थामा पुग्ने स्थानीय बताउँछन् ।

यता नगरपालिकाले भने यसविषयमा तीन महिनाअघि नै नगर कार्यपालिकाको बैठकले वडा कार्यालयको मातहतमा रहने गरी बालआश्रम सञ्चालन गर्ने निर्णय गरेको तर वडाले सक्रियता नदेखाएका कारण भवन अलपत्र परेको जयपृथ्वी नगरपालिकाका मेयर चेतराज बजालले बताउनुभएको छ ।

बझाङका पत्रकार बसन्तप्रताप सिंहले यो समाचार कान्तिपुर लेख्नु भएको हो । हामीले कान्तिपुरबाट साभार गरेका हौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1356