सुर्मा गाउँपालिका तरकारीमा आत्मनिर्भर हुँदै, बर्खा याममा मात्र ३५ लाखको आलु निर्यात

सेयर गरौं

बझाङ –बझाङको सुर्मा गाउँपालिकाबाट बर्खा याममा मात्र ३५ लाख बराबरको आलु निर्यात भएको छ । सुर्मा गाउँपालिकाका पाँच वटै वडामा उत्पादन भएको आलु कैलाली, कञ्चनपुर हुँदै बाँकेको नेपालगञ्जसम्म निर्यात गरिएको हो । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत तथा कृषि शाखा प्रमुख चक्रप्रसाद जोशीका अनुसार सुर्माका हरेक वडामा उत्पादन भएको बर्खे आलु ३५ रूपैयाँ प्रतिकेजीको दरमा बिक्री गर्दासमेत ३५ लाख बराबर किसानले आम्दानी गरेका छन् ।

सुर्माबाट एक हजार क्विन्टल आलु निर्यात गरिएकोमा त्यसैमध्ये ८८ क्विन्टल आलु बीउका लागि डडेल्धुराको कोल्डस्टोरमा राखिएको छ ,भने बाँकी सबै बिक्री भइसक्यो’, उहाँले बताउनुभएको छ । सुर्माका स्थानीयवासी पछिल्लो तीन वर्षयता तरकारीमा आत्मनिर्भर हुँदै आएका छन् । यसवर्ष आलु मात्रै नभइ बन्दा, गोलभेडा, काउली र मुलासमेत सुर्मावासीले बजार पुर्‍याएका छन् । सुर्माबाट बन्दा र काउली पनि ४० क्विन्टल र गोलभेडा १५ क्विन्टल निर्यात भएको थियो ।

उक्त ठाउँका किसानले काउली र गोलभेडामै जनही तीन लाखभन्दा बढी आम्दानी गरेको कृषि विकास शाखाको तथ्यांकमा उल्लेख छ । उक्त गाउँपालिकाको सबैभन्दा बढी तरकारी उत्पादन वडा नम्बर २ घोगाडा, वडा नम्बर ३ विछडा र वडा नम्बर ४ सुर्मामा बढी उत्पादन हुने गरेको छ । गाउँपालिकाका अध्यक्ष खड्कबहादुर बोहराले पनि सुर्मा तरकारीमा आत्मनिर्भर हुँदै गएको र अहिले यहाँका बासिन्दाले तरकारी किनेर खानुपर्ने अवस्था नरहेको जानकारी दिनुभएको छ ।

सुर्माले मात्रै मौसमअनुसार जिल्लालाई आधाआधी पुग्ने गरी तरकारी उत्पादन गरिरहेको छ । उहाँका अनुसार पालिकाले व्यावसायिक कृषि गर्न चाहने किसानका लागि अनुदानमा बीउ, टनेल, ढुवानी खर्चसमेत दिने गरेको छ । अध्यक्ष बोहराले यो दुई तीन वर्षको अवधिमा गाउँपालिकामा ८० भन्दा बढी टनेल वितरण गरिएको र सोहीअनुसार आवश्यक बीउ र कृषि प्राविधिक पनि उपलब्ध गराइएकाले अब थप उत्पादन वृद्धि हुने विश्वास लिएको बताउनुभएको छ ।

रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1314