तरकारीको ‘हब’ बन्दै दुर्गाथलिका गाउँपालिकाको जुजी गाउँ

सेयर गरौं

भुमिराज पिठातोली – बझाङ (रासस)

बझाङको दुर्गाथली गाउँपालिका जुजीका सिद्धराज खाती अचेल हरेक दिन बारीमै देखिन्छन् । बारीको रेखदेख उनको नियमित जिम्मेवारी नै हो । घरको आँगनदेखि बजारसम्मै उनी भएको ठाउँमा तरकारीकै गफ हुन्छ । उनी तरकारी लगाउने तरिका, बीउबिजनदेखि माटो परीक्षणसम्मका कुरा आफन्तलाई सुनाइहाल्छन् ।

खाती तरकारी कृषक भनेर चिनिन थालेको धेरै समय भएको छैन । दुई/तीन वर्षमै तरकारी उत्पादन गर्ने भएपछि उनी फरक तरिकाले चिनिन थाले । छोटो समयमा राम्रो उत्पादन गर्न थालेपछि व्यावसायिक कृषकको पहिचान बनाउन उनी सफल भएका छन् । जुजीमा खाती मात्रै नभई गाउँका अधिकांश कृषक नै व्यावसायिक बनिरहेका छन् । मौसमअनुसार दुई बाली मात्रै उत्पादन गर्दै आइरहेका जुजीवासी अहिले हरेक मौसममा तरकारी फलाइरका छन् ।

‘विगतका वर्षमा मङ्सिरमा गहुँ हरियाली भइसक्थ्यो’, कृषक वीरदन रावलले भने, ‘अहिले भने हतार पनि छैन, घाटा होला भन्ने पनि छैन, मौसमअनुसार बिस्तारै तरकारीका लागि मेहेनत गर्ने हो, नतिजा राम्रै आइरहेको छ ।’ रावलका अनुसार जुजी जिउलोमा उनको करिब तीन रोपनी जमिनमा तीन बोरा जति नै गहुँ फल्थ्यो ।  

‘हामीलाई खान त त्यसले पनि पुगिहाल्थ्यो, तर अहिले तरकारी शुरु गरेपछि भने त्यो खेतमा दुई वर्षसम्मै खान पुग्छ’, रावलले भने । गएको वर्ष औलादेवी रावलको तीन रोपनी खेतमा १६ बोरा आलु फलेको थियो । ‘गहुँ लगाएको भए तीन/चार बोरा नै हुन्थ्यो’, उनले भने, ‘आलु लगाउँदा आफूलाई तरकारी खानसहित रु. २० हजारभन्दा बढी बचत नै भयो ।’ अहिले जुजीका कृषक तरकारीमा निकै रमाएका छन् । 

परम्परागत रैथाने बालीभन्दा झन्डै दसौं गुणा तरकारीले फाइदा गर्ने भएपछि खेती बदलेको उनले बताए । ‘शुरुका वर्षमा त सबैले एकै किसिमको तरकारी रोप्यौँ, त्यसले बजार खासै पाएन’, रावलले भने, ‘दोस्रो वर्षदेखि फरक–फरक तरकारी फलाउन थालेपछि बिक्री पनि राम्रै भयो, आफूलाई तरकारी बाँडेर खान पनि सजिलो भयो ।’

तराईको जस्तै उत्पादन हुने जिउलोमा खेत भएका कुनै कृषकले पनि भोकमरी झेल्नु परेन । गहुँ र धानका लागि प्रख्यात जुजी जिउलो गत वर्ष यता भने तरकारीको ‘हब’ बन्दै गएको छ । आलु, टमाटर, गोलभेडा, प्याज, भेँडेखुर्सानी, लसुन, पिँडालु प्रशस्तै मात्रामा उत्पादन हुन थालेपछि कृषि ज्ञान केन्द्रले पनि जुजीलाई ‘नमुना तरकारी गाउँ’ भनेर नामाकरण गरेको छ ।

‘सिँचाइको अभावले जुजी जिउलोमा हिउँदेबाली सोचेजस्तो उत्पादन हुँदैन, सिँचाइ नपुग्ने भएपछि आकासे पानीको भर पर्नु पर्छ, आकासे पानी, हिउँ परे त खासै समस्या हुँदैन, तर त्यो पनि नभए लगाएको बाली सुकेर जान्छ, सानो पानी जिउलोभरि छर्कन पनि पुग्दैन’, खाती भन्छन् ।

उनका अनुसार खोलाबाट ल्याएको पानी हिउँदमा कुलो नजिक खेत भएकालाई मात्रै सिँचाइ हुन्छ । सिँचाइका लागि अनुदानमा कृषि ज्ञान केन्द्र र पालिकाले ट्याङ्की बनाउने तयारी गरिरहेको छ । ‘तरकारीको बीउ, प्राविधिक, ढुवानी खर्च, बजार त दियौँ’, कृषि ज्ञान केन्द्रका प्रमुख टेकबहादुर विष्टले भने, ‘सिँचाइको अभावले सोचेजति कृषकले उत्पादन गर्न सक्नुभएको छैन, हामीसँग सिँचाइका लागि पर्याप्त बजेट पनि हुँदैन, त्यसैमा सके जति कृषकलाई मर्का नपर्ने गरी सहयोग गरिरहेका छौँ ।’ 

पालिकाले पनि जुजी जिउलोको सिँचाइका लागि ठूलो ट्याङ्की बनाएर जिउलोभरलाई पानी पुर्‍याउन जुटेको बताएको छ । गाउँपालिकाका उपाध्यक्ष जनकबहादुर दौल्यालले भने, ‘जुजी जिउलोमा पर्याप्त पानी ल्याउन सके अन्नको भण्डार जस्तै तरकारीको हब बन्ने थियो ।’

उनका अनुसार अहिले पनि मौसमअनुसार जिउलोभर धेरैलाई पुग्ने तरकारी उत्पादन भइरहेको छ । ‘जुजीमा पानीका लागि नजिक मुहान पनि छैन’, उनले भने, ‘टाढाबाट पानी ल्याउँदा खर्च धेरै नै हुन्छ, त्यसका लागि तयारीमा पनि जुटेका छौँ ।’ सिँचाइका लागि पालिका, प्रदेश तथा संघीय सरकारलाई आग्रह गर्दै लगानीको जुटाउने तयारी भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1203