१९ आश्विन २०८१, शनिबार
सांसद अरुणकुमार चौधरीले राष्ट्रपतिको निर्वाचनमा मत हाल्न पाउने
काठमाडौं : राष्ट्रपति निर्वाचनका लागि नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीको नाम मतदाता नामावलीमा समावेश गरिएको छ।
मतदाता नामावलीमा नाम समावेश गर्न र विवरण सच्याउन परेको निवेदनका आधारमा चौधरीको नाम मतदाता नामावलीमा समावेश गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
ट्र्याक्टर आगजनी गरेको अभियोगमा सांसद चौधरीलाई अदालतले दोषी ठहर गरेको थियो। उनलाई माघ १९ गते प्रहरीले नियन्त्रणमा लिई कारागार चलान गरेको थियो। उक्त प्रकरणपछि सांसद चौधरी निलम्बित भएका थिए।
प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपतिबाट कैद मिनाहा भएको पत्र सङ्घीय संसद् सचिवालय पुगेपछि उनको निलम्बन फुकुवा भएको थियो। उनी यही आइतबार कारागारमुक्त भएका थिए। निलम्बन फुकुवा भएसँगै उनको सांसद पद कायम भएको छ।
निर्वाचन अधिकृतको कार्यालयले प्रतिनिधिसभा सदस्य सङ्गीता मण्डल धानुक, राष्ट्रियसभा सदस्य दुर्गाकुमारी गुरुङ, प्रदेशसभा सदस्य सरस्वती खड्का र सञ्जुकुमार चौधरीको विवरण सच्याएको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिए।
नामावली सच्याएर कार्यालयले शुक्रबार अपराह्न ३ बजे अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ। राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ। शनिबार उम्मेदवारको मनोनयन तोकिएको छ। भोलि (शनिबार) बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मनोनयन पत्र दर्ता गर्न सकिने कार्यतालिका छ।