६ चैत्र २०८१, बिहीबार

बझाङ भत्ता बुझ्न गएकी महिलाको ज्यान गयो
बझाङमा बालपोषण भत्ता बुझ्न गएकी एक महिलाको ज्यान गएको छ । जिल्लाको बुङ्गल नगरपालिका- १० खेताचाल डौडकी ५४ वर्षीया रत्ना देवी बागको भीरबाट लडेर ज्यान गएको हो ।
बुधबार साँझ बेलुका ५ बजेको समयमा बुङ्गल नगरपालिका ४ झापामा रहेको कृषि विकास बैंक बाट नाती नातिनीको बालपोषण भत्ता बुझेर घर फर्किने क्रममा माझापोड भन्ने ठाउँबाट करिब १ सय मिटर तल लडेर उनको घटना स्थलमै मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।
केही दिन अघि मात्रै छबिस पाथिभेरा गाउँपालिका वडा नम्बर १ कि ७२ वर्षीया सिता गिरी बाटैमा मृत्यु भएको थियोे ।
सरकारले बैंकिङ्ग प्रणालीमार्फत भत्ता उपलब्ध गराउन थालेपछि स्थानीयहरूले सास्ती खेप्नु परेको छ ।
विशेषत वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्ति, बेसहारा, हिँडडुल गर्न नसक्नेहरुले लागि घरमा नै पुगेर भत्ता दिने व्यवस्था नहुँदा निक्कै दु:ख पाउने गरेका छन् ।
भत्ताका लागि लामो समय बैंकमा लाइन बस्नुपर्ने, कहिले इन्टरनेटले काम नगर्दा यत्तिकै फर्किन गर्ने बाध्यता रहेकाे उनीहरु बताउँछन् । गाउँपालिका, नगरपालिकाले ले घरघरमा पुगेर भत्ता वितरण गर्न सके वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्ति, एकल महिला हिँडडुल गर्न नसक्नेहरुलाई सहज हुने उनीहरुकाे बुझाइ छ ।
पहिला वडा कार्यालयमै प्राप्त हुने भत्ता अहिले बैंकबाटै बुझ्नु पर्दा स्थानीयले दिनभर यात्रा पनि गर्नु पर्ने अवस्था छ। जिल्लाका ग्रामीण भेगका स्थानीयले भने बैंकबाट भत्ता बुझ्नु पर्दा आधा रकम आतेजातेमै सकिने गरेको गुनासो गर्दै आएका छन् ।
यसअघि घरआँगनमै चौमासिक रूपमा भत्ता बुझ्दै आएको भएपनि अहिले बैङ्कबाट लिनुपर्ने भएपछि निकै सास्ती भएको देखिन्छ ।अनपढ मान्छे चेकमा लेख्नुपर्ने, घण्टौं लाइनमा बस्नुपर्ने, हिँडेर थाकेको ज्यानले निकै सास्ती व्यहोर्नु पर्ने अवस्था बैंक प्रणाली लागू भएपछि भएको यहाँका स्थानीय बताउँछन् ।’ घण्टौं हिँडेर बैङ्कमा पुगे पनि प्रक्रिया मिलाउँदा मिलाउँदै सास्ती खानुपरेको गुनासो धेरैको आउँछ ।