१७ कार्तिक २०८१, शनिबार
अनेरास्ववियुले बुझायो बित्थडचिर गाउँपालिका अध्यक्ष महरलाई ११ बुदे ध्यानाकर्षण पत्र
बझाङ १९ फागुन !
बझाङको बित्थडचिर गाउँपालिकामा मनोमानी रुपमा करार शिक्षक हटाएर विद्यार्थीको पढाई प्रभावित भएको भन्दै एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले ध्यानाकर्षण पत्र बुझाएको छ ।
शुक्रबार गाउँपालिका अध्यक्ष अमर महरलाई ११ बुदे ध्यानाकर्षण पत्र बुझाउदै तत्काल शिक्षक भर्ना गर्नुपर्ने र विद्यार्थीहरुको पठनपाठनका लागि व्यवस्थापन मिलाउनु पर्ने भन्दै ध्यानाकर्षण गराएको हो ।
गाउँपालिकाले शिक्षा क्षेत्रमा गरेको मनोमानीले शैक्षिक क्षेत्रमा विकृति पैदा भएको र कर्मचारी भर्नामा नीति नियम विपरित स्वच्छाचारिता अपनाएको आरोप छ ।
अनेरास्ववियु बझाङका जिल्ला सचिव गोविन्द ढाँट, प्रदेश कमिटी सदस्य योगेन्द्र बोहरा, नेकपा एमाले बित्थडचिर गाउँपालिका अध्यक्ष दिपेन्द्र बोहरा लगाएतको उपस्थितीमा गाउँपालिका अध्यक्ष महरलाई ध्यानार्कषण पत्र बुझाउँदै आफ्ना मागहरु तत्काल सम्बोधन नगरे चरणबद्ध आन्दोलन गर्ने बाध्य हुने चेतावनी दिएका हुन् ।
उनीहरुले हटाएका शिक्षकहरु तत्काल भर्ना गर्नुपर्ने, स्वयमसेवक शिक्षकहरुको पारिश्रमिकको उचित व्यवस्थापन गर्नुपर्ने, सुनकुडा माविमा गाणित र विज्ञान बिषयको पठनपाठन तत्काल व्यवस्थापन गर्नुपर्ने, भगवती माविमा लेखापाल तत्काल भर्ना गर्नुपर्ने जस्ता माग राखेका छन् ।
यस्तै राष्ट्रपति शैक्षिक सुधारका कार्यक्रमहरुमा भएको कमिसनको लेनदेन स्पष्ट पार्नुपर्ने, गाउँपालिका योजनाहरु छनौटमा मनोमानि गरेको र आवश्यकताको आधारमा छनौट गर्नुपर्ने, प्राविधिक कर्मचारी भर्नामा देखीएको विवाद तत्काल समाधान गर्नुपर्ने, सुनकुडा क्याम्पसको परिक्षा केन्द्रको व्यवस्थापन गर्नुपर्ने, उपभोक्ता समितिमा स्वच्छाचारि ढंगले कार्यकर्तालाई सिफारिष गर्ने र सुनकुडा धारी बागथाला सडकको ठेक्का प्रक्रिया तत्काल अगाडी बढाउनुपर्ने जस्ता मागहरु अघि सारेर ध्यानार्कषण गराएका छन् ।
पालिका अध्यक्ष महरले सम्बन्धित सरोकारवालसँग छलफल गरेर अघि बढ्ने बताएका छन् ।