नेपालले पीएनजीलाई हरायाे, आसिफ र सन्दीपबीच ७७ रनकाे साझेदारी

सेयर गरौं

काठमाण्डाै – आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई ३ विकेटले हराएकाे छ । 

पीएनजीले दिएकाे १ सय ८० रनकाे लक्ष्य नेपालले ४८ ओभरमा ७ विके गुमाएर भेटायाे । नेपालका लागि आसिफ शेखले ८६ र सन्दीप लामिछानेले ३५ रन बनाए । नेपालले १ सय ५ रनमा ७ विकेट गुमाएकाे अवस्थामा आसिफ र सन्दीपले आठाैँ विकेटका लागि अविजित ७७ रनकाे साझेदारी गर्दै टाेलीलाई जिताएका हुन् । 

यसअघि ओपनर कुशल भुर्तेल पहिलाे बलमै खाता नै नखाेलिकन आउट भए । यस्तै ज्ञानेन्द्र मल्ल ६ रन बनाएर आउट हुँदा भीम सार्की ८ रनमा पेभेलियन फर्किए । यस्तै राेहित पाैडेल र आरिफ शेख १/१ रनमा आउट भए । बलिङतर्फ पीएनजीका आसाद भालाले ३ तथा सेमाे कमेया र सेसे बाउले २/२ विकेट लिए ।

यसअघि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेकाे पीएनजी ४९ ओभर २ बलमा १ सय ७९ रनमा अलआउट भयाे । पीएनजीका लागि टाेनी उराले सर्वाधिक ३९ रन बनाए । बलिङतर्फ नेपालका साेमपाल कामी र दीपेन्द्रसिंह ऐरीले २/२ विकेट लिए । यस्तै सन्दीप लामिछाने, करण केसी र कुशल मल्लले १/१ विकेट लिए ।

यस शृङ्खलाकाे पहिलो खेलमा नेपालले पीएनजीलाई हराएको थियो । हिजो बिहीवारको खेलमा नेपाल यूएईसँग ६८ रनले पराजित भएको थियो । यो शृङ्खलामा नेपाल, यूएई र पीएनजी रहेका छन् । नेपालले अर्को खेल सोमवार यूएईसँग खेल्नेछ ।

याे जितसँगै नेपाल ३१ खेलमा ३० अङ्कसहित तालिकाकाे छैटाैँ स्थानमा छ । अब नेपालले लिग–२ को शीर्ष तीनमा रहँदै सोझै विश्व कप खेल्न बाँकी रहेका ५ वटै खेल जित्नुपर्नेछ । साथै एकदिवसीय मान्यता जोगाउन ३ खेल जित्नुपर्ने हुन्छ । 

##उज्यालो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1311