२६ कार्तिक २०८१, सोमबार
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिने भएका छन्। प्रदेश सभा सचिवालयका अनुसार मुख्यमन्त्री शाहले फागुन २१ गतेका लागि प्रदेश सभा बैठक आह्वान गर्न पत्र पठाएका छन्। उहाँले पठाएको पत्र अनुसार आइतबार दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक आह्वान गर्ने तयारी भइरहेको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले बताउनुभयो ।‘मुख्यमन्त्रीज्यूले २१ गते विश्वासको मत प्रयोजनका लागि आवश्यक व्यवस्थापन गरिदिन भनेर सचिवालयलाई पत्राचार गर्नुभएको छ,’ प्रदेश सभामुख भीमबहादुर भण्डारीले भने, ‘त्यसै अनुसार तयारी गर्न सचिवालयलाई निर्देशन दिइसकेको छु।’
एमालेका राजेन्द्र सिंह रावललाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि ठुलो दलको हैसियतमा कांग्रेसका शाहलाई २६ माघमा प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । रावलले विश्वासको मत पाउन नसकेपछि संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलको हैसियतमा कांग्रेस प्रदेश संसदीय दलका नेता कमल बहादुर शाह मुख्यमन्त्री बनेका हुन ।
माओवादी केन्द्रले पार्यो मत दिन नसक्ने स्पष्ट
यता माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश संसदीय दलले यथास्थितिमा मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन नसक्ने स्पष्ट पारेको छ ।
शनिबार बसेको संसदीय दलको बैठकले कांग्रेसले संवादको वातावरण नबनाएको र मुख्यमन्त्रीमा आलोपालोको विषयमा कुनै कुराकानी नभएको भन्दै यथास्थितिमा मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन नसक्ने निर्णय गरेको हो ।
बैठकले यसबारेमा केन्द्रीय कार्यालयलाई लेखि पठाउने निर्णय गरेको माओवादीका सांसद अक्कल रावलले जानकारी दिए ।
नागरिक उन्मुक्ति पनि सहमतिको लिखित हस्ताक्षर विना विश्वासको मत नदिने
नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले पनि दलीय सहमतिको लिखित हस्ताक्षर विना विश्वासको मत नदिने अडान लिएको छ । नाउपाकी अध्यक्ष रन्जिता श्रेष्ठले शनिबार सामाजिक सन्जालमा लेखेकी छन्, ‘दलीय सहमतीको लिखित हस्ताक्षरविना विश्वासको मत दिन सकिँदैन ।’
दुवई पार्टीले विश्वको मत नदिने अडान राखेपछि मुख्यमन्त्री शाह अप्ठ्यारोमा परेका छन् ।