७ चैत्र २०८१, शुक्रबार

गाउँघरमा होलीको महत्व र रौनक हराउँदै,-होली के हो र यो किन मनाइन्छ ?
गाउँघरमा बढ्दो आधुनिकताले रङैरङको पर्वका रूपमा मनाइने होली अर्थात् फागु पूर्णिमा पर्वको परम्परागत महत्व र रौनक हराउँदै गएको छ । गाउँघरमा साथीभाइ, आफन्त जम्मा भई घरघरमा मौलिक गीत गाउँदै नाच्दै होली (फागु) खेल्ने चलन पछिल्लो समय हराउँदै गएको हो ।
मौलिक परम्परा, संस्कार संस्कृतिभन्दा माथि उठेर भड्किलो पाराले होली मनाउने संस्कार गाउँमा भित्रिन पुगेकाले परम्परागत संस्कृति हराउन थालेका हुन् ।
होली आउनु एक दुई दिन अगाडि नै मादल, झ्याली लगायतका विभिन्न परम्परागत वाद्यवादनका तालमा होली गीत गाउने र नाच्ने गरेर यो पर्व मनाइने गरिन्थ्यो । तर अहिले भने गाउँघरमा मौलिक पारामा होली गीत गाउने र नाच्ने चलन हटिसकेको पाइन्छ ।
गाउँघरमा शहरी परिवेशले छुन थालेपछि मौलिक भाकामा होली गाउने र नाच्ने प्रचलन हराउँदै गएको हो । यस पर्वलाई विशेषगरी शहरबजारमा साथीभाइ, आफन्तबीच रङ खेलेर धुमधामका साथ मनाइन्छ । त्यसैको प्रभाव गाउँघरमा पर्न थालेपछि होलीको विशेष मौलिकता नै हराउन पुगेकामा पाकापुस्ता चिन्ता व्यक्त गर्छन् ।
पछिल्लो समय होली अर्थात् फागुपर्व तडकभडक हुन थालेको छ । शहरी परिवेशले ढपक्कै ढाकेपछि गाउँमा मौलिक गीत गाएर नाचेर होली अर्थात् फागु खेल्नुको सट्टा वनभोज जाने र रमाउनेको जमात बढ्दो छ । यसले पनि होलीको परम्परागत महत्व र रौनक हराउँदै गएको छ ।
गाउँघरमा साथीभाइ जम्मा भएर कसैले होली गीत झिक्ने, कसैले भट्याउने, कसैले मादल, झ्याली लगायतका वाद्यवादनका सामग्री बजाउने, कोही नाचेर रमाइलोसँग होली खेल्दा निकै आनन्द लागेको अनुभव यहाँका पाकापुस्ताहरूको भनाइ छ । उहाँहरूले पहिले मनाइने र अहिले मनाइने होली अर्थात् फागु पूर्णिमा संस्कृतिमा धेरै भिन्नता रहेको बताए ।
“पहिला संस्कार संस्कृति जोगाउँदै मौलिक पारामा गीत गाएर नाचेर होली खेलिन्थ्यो, होलीको महत्व नबुझी अहिले एकैछिन रमाइलोका लागि मेमोरीकार्डमा गीत बजाएर नाच्ने र रङ दल्ने जमाना आयो”, उहाँले भन्नुभयो, “संस्कार, संस्कृति र पर्वको महत्व नै नबुझी जसरी मनाए पनि भयो, बढ्दो आधुनिकताका नाममा संस्कार, संस्कृति परिवर्तन हुनुहुँदैन, हाम्रा जमाना गए ।” युवापुस्ताले संस्कार, संस्कृतिको महत्वभन्दा पनि रमाइलोका लागि मात्र पर्व मान्ने चलनले चिन्ता लागेको सुदूरपश्चिमका पाकापुस्ता बताउनुहुन्छ ।
होली हिन्दू संस्कृतिमा प्रत्येक वर्षको फागुन शुक्ल पूर्णिमा अर्थात होली पूर्णिमाको दिन मनाइन्छ । होली नेपाल, भारत तथा अन्य राष्ट्रमा रहेका हिन्दूहरूको एउटा महत्वपूर्ण चाड हो ।
होली खेल्ने दिन भन्दा एकदिन पहिला राती होलीका दहन गरिन्छ । राती होलीका दहन गरिसकेपछि बिहान पानीमा रङ्ग घोलेर एक अर्कामाथि फाल्ने चलन छ । भनिन्छ कि होलीको दिन ‘पुरानो कटुता समाप्त गरेर, दुस्मनी बिर्सेर मान्छे एकअर्कासित मिल्छन्’ । यस पर्वलाई फागुनको महिनामा मनाउने भएकाले यसलाई फागु पनि भनिन्छ ।
होली पर्व घरपरिवार साथीभाइ आपसमा रङमा रङ्गिएर उल्लासपूर्वक मनाउने फागुन पूर्णिमाको अवसरमा पहाडदेखि तराई र गाउँदेखि शहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढहरूका हूल तथा जत्थाहरू हातमा रङ र रङ्गीन घोल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाइलो र होहल्ला गर्दै आपसी रिसईबीलाई बिर्सेर उत्साह र उमङ्गका साथ मनाइने रङ्गीन पर्वको रूपमा लिइन्छ ।
त्रेता यूगमा भगवान विष्णुका परम भक्त प्रहलादसंग होलीलाई जोडेर हेरिन्छ, हिरण्यकश्यपुका पुत्र प्रल्हादलाई उनको आफ्नै फुपु होलिकाले आगोमा भष्म पार्न लाग्दा उनि आँफै आगोमा भष्म भएकी दिनका रुपमा होलीको पर्व पर्दापण भएको मानिन्छ । विष्णुको नरसिंह अवतार को वर्णन अनि उत्पती पनि होली अनि प्रहलाद घटना क्रम सँग सम्वन्धित छ ।
नारद पुराण र भविष्य पुराणमा होलीको महत्व अनि चलनको चर्चा गरिएको छ, भगवान श्रीकृष्णलाई दुध खुवाएर मार्न आएकी राक्षसनी पुतनाको पनि आजकै दिन बालक कृष्णले वध गरेको उल्लेख गरिएको छ, यसरी पुतनाको बध भएपछी गोपालवासीहरुले जयजयकार गर्दै आजको दिनको रंगीन उत्सव मनाएको विवरण पनि ईतिहासले वयान गर्दछ ।
नीलो रंगले मानवता र धैर्यतालाई दर्शाउछ भने पहेलो रंग भगवान श्रि कृष्णको प्रिय रगं हो । शौभाग्यको सुचक रातो रगंको प्रयोग पनि आज ब्यापक गरिन्छ, अनुहार अनि शरीर भरि लागेका रगंहरु धुँदा हातैभरि रगंहरु हुने गर्दछ, खलल बगेका पानीका धारा या नुहाउने ईनार अनि पोखरीका डिलहरु आज रंगिन हुनेगर्दछन् ।
शुक्ल पक्षको ठूलो चन्द्रको छत्रछायामा होलीका गीतहरु गाँउदै रातभरि विभिन्न कार्यक्रम आयोजना गर्ने चलन पनि रहेको छ । आजको दिन नेपालमा सार्वजनिक विदा दिईन्छ, उपत्यका लगायत अन्य ठाँउहरुमा आजै अर्थात फागुन पूर्णिमाकै दिन अनि तराई क्षेत्रमा भोलीका दिन विदा दिईन्छ ।
धार्मिक मान्यतावाट अलग्ग बनाएर केवल उत्साह अनि सदभावका रुपमा हेरेरै त होला नेपालीजनहरु चाहे जुनसुकै धर्म या समुदायका हुन्, होलीमा एउटै आँगन र तालमा झुम्मीन्छन् । बालक बालिकाले पिच्कारी अनि ससाना बेलुनहरुका साथमा मज्जा लन्छन्, फेरि पिच्कारी बजारमा किन्न पाउने मात्र नभई तराई तिर बाँस काटेर त्यसका ढोडवाट बनाईएका पिच्कारीहरु अथवा प्रयोग गरिसकेका पुराना प्लास्टीकका बोतलवाट बनाईएका पिच्कारीहरु पनि हुन्छन्, वयस्कका लागी होली रंगहरु अनि भातृत्व र साहसको पर्व हो ।
शुरुशुरुमा जो कोही पनि यसपाला म रंग खेल्दिन भनेर बसेतापनि सुस्तरी रंगीन माहोल अनि साथीभाईको रंग भरिएका हात अनि पानीका फोहोरावाट वच्न हम्मे हम्मे पर्दछ । पुराना यादहरु सँगाल्दै अनि अविर र केसरीको चुटुक्क टिकाका साथमा वृद्ध पुस्ताले दिएका आशिषको पनि होलीमा विशेष महत्व रहन्छ ।