बझाङका किशोरी हिंसा रोक्न अग्रसर

सेयर गरौं

भूमिराज पिठातोली/बझाङ ।

 बझाङको वित्थडचिर गाउँपालिका–४ की पशुपति महत १६ वर्षकी भइन् । सहपाठी किशोरीहरूले यसै वर्ष बिहे गरेपछि उनी उमेर समूहबाट पनि एक्लिइन् । गाउँले महतको पनि बिहे हुने दिन कुर्दै बस्थे । परिवारको सहमतिमा आफैँ भागेर जान्छे भनेर कुरा काट्ने कम थिएनन् ।

हेर्दाहेर्दै महत भने अरू किशोरीलाई समेत बिहे नगर्न सुझाव दिन थालिन् । किशोरीमात्रै नभएर गाउँमा सबै उमेर समूहकालाई उनले हिंसा रोक्ने अभियानमा लागिन् । कक्षा १२ मा अध्ययनरत महत अहिले गाउँलेको निर्णायक ठाउँमा बस्छिन । ‘सुरुमा मेरो कुरा धेरैलाई नमिठो लाग्यो’, उनले भनीन् ‘गाउँकै बहिनीहरूलाई सम्झाउन समेत हम्मेहम्मे प¥यो । विस्तारै बहिनीहरू आफ्नो पक्षमा भएपछि भने अरूलाई पनि हिंसाबारे बोल्ने आँट आयो ।’

महतलाई अहिले गाउँका धेरै निर्णायक ठाउँमा राखिन्छ । गाउँमा सानोतिनो काम गर्दा पनि आफूलाई सहभागी गराउने गरेको उनी बताउन्छिन् । ‘पहिले हाम्रो कुरा कसैले सुन्नै चाहँदैन थिए । कतिपयले त कुन उड्छे (बिहे गर्छ) भनेर कुरा काट्थे । किशोरीहरूको हिंसाविरुद्धको अभियान गाउँभरि भिजेपछि भने हाम्रो कुरा पनि सुनिन थाल्यो’ उनले भनीन् ‘महतसहितकी किशोरीको टोलीले गत महिनामा मात्रै एउटा बिहे रोके । परिवारकै सहमतिमा १५ वर्षमै बिहे हुने तयारी भएपछि किशोरीलाई भगाएर बिहे रोकेका थिए । परिवारको सहमति भइसकेको थियो, किशोरी पनि राजी भइसकेकी । हामीले उसलाई सम्झाइबुझाइ गरेर बिहेको साइतमा अर्कै घरमा लुकाएपछि उसको बिहे रोकियो ।’

बिहे रोकेको भन्दै महतलाई दुवैतर्फका परिवार निकै रिसाए । ‘बटारू (अगुवा गर्ने) लागेकी भन्दै धेरैले गाली गरे । विस्तारै किशोरीका आमाबुवालाई उसको भविष्यबारे सम्झायौँ । बहिनी घर गई । अहिले भने उनीहरु पनि उमेर नपुगी बिहे नगर्ने सोचमा हुनुहुन्छ’, महतले भनीन् ।
जयपृथ्वी नगरपालिका–१२ की कविता खड्का अहिले चेतनशील किशोर–किशोरी समूहकी अध्यक्ष छिन् । सोह्र वर्षीया कविता १२ कक्षामा पढ्छिन् । उनी समूहमा लागेको एक वर्ष भयो । यस अवधिमा दर्जनौँपटक गाउँघरमा हिंसा रोक्ने अभियान नै चलाइकी छिन । ‘हाम्रो उमेरकै कारण धेरैले वास्ता गर्दैनन् । धेरै जिद्धी गरेपछि कुरा त सुनिदिउँ भन्ने भएका छन’, उनले भनीन् ।

गाउँमा महिला हिंसाका घटना सुन्नेबित्तिकै खड्काको टोलीले हिंसा गर्ने मान्छेलाई घेरिहाल्छ । ‘माफी नमाग्दासम्म हामी छोड्दैनौँ’ उनले भनीन् ‘दोस्रोपटक सोही घटना दोहोरिए कानुनी पक्रियामा जाने भनेपछि त्यो मान्छे सचेत हुन्छ ।’

नगरपालिकामा बालविवाहका घटना धेरै नभए पनि अन्य लैङ्गिक हिंसा भने रोकिएको छैन । चेतनशील किशोर किशोरी समूहले पालिकाका न्यायिक समितिका पदाधिकारीसँग मिलेर पनि अभियान नै चलाएका छन् । ‘हप्तामा एक दिन विद्यालयमा साथीहरूसँग रुपान्तरणसम्बन्धी छलफल गर्छौँ’, उनले भनीन् ‘जसले गर्दा विद्यार्थीले हिंसा न्यूनीकरणका लागि आफ्नो परिवारलाई सचेत गराओस् ।’

वित्थडचिर गाउँपालिका–३ की जानुका विकलाई पनि अहिले गाउँमा सबैले जिम्मेवार किशोरीका रूपमा हेर्छन् । उमेर नपुग्दै बिहे गर्ने, घरेलु हिंसालाई सामान्य लिइरहेको त्यस ठाउँको दलित समुदायमा जानुकाको उपस्थितिले धेरैलाई राहत दिएको छ । उनले आफ्नो समुदायमा मात्रै नभएर गैरदलित समुदायमा पनि हिंसा न्यूनीकरणबारे चेतनाका फैलाउँदै आएकी छिन् ।

स्नातक पहिलो वर्षमा अध्ययनरत जानुका आफ्नो अगाडि हुन लागेको हिंसाको त खुलेरै विरोध गर्छिन् । ‘हाम्रो गाउँमा त बिहे गर्ने भनेर भागेर आएकी १५ वर्षीया किशोरीलाई समेत फिर्ता पठाएका हौँ’ उनले भनीन् ‘गत वर्ष त्यसरी नपठाएको भए यो वर्ष नै उसले सन्तान जन्माइसकेकी हुन्थी । उसको स्वास्थ्य अवस्था कस्तो हुन्थ्यो होला रु’ उनी प्रश्न गर्छिन् । विक गाउँघरमा हिंसा रोक्न आफैँ अग्रसर भएमात्रै सम्भव हुने बताउन्छिन् ।

यसरी किशोरीहरूलाई आत्मबल बढाउन, विभिन्न खाले हिंसा रोक्न सहयोग गरिरहेको छ, लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्य परियोजनाले । बझाङमा सञ्चालित युएनएफपीएको आर्थिक सहयोगमा भिएसओ र पिसविनद्वारा सञ्चालित परियोजनाले सबैभन्दा बढी बालविवाह तथा हिंसा हुने तलकोट, वित्थडचिर, मष्टा र जयपृथ्वी नगरपालिकाका किशोर किशोरीलाई तालिम दिइरहेको छ । परियोजनाले प्रगतिशील, चेतनशील, लालीगुराँस, भवानीलगायतका किशोर–किशोरी समूह बनाएर प्रशिक्षक प्रशिक्षार्थी (समूह अध्यक्ष)लाई तालिम दिँदै गाउँ–गाउँमा हिंसाविरुद्धको अभियान चलाइरहेको छ ।

विभिन्न प्याकेजमा प्रशिक्षक प्रशिक्षार्थी किशोर–किशोरीलाई तालिम दिएर विद्यालय तथा गाउँघरमा सचेतना फैलाउँदै आएको पिसविनका जिल्ला संयोजक भुवनबहादुर सिंहले बताए । किशोर–किशोरीको क्षमता विकास गर्न सुरुमा ५२ दिने प्याकेज राखेको, त्यसपछि ४८ दिने, ३० दिने हुँदै अहिले आठदिने तालिम दिएर आ–आफ्नो गाउँको जिम्मेवारी दिएको उनले बताए ।

संयोजक सिंहअनुसार परियोजनाले गाउँघरबाट किशोरीलाई हिंसाविरुद्धको तालिम दिएर प्रशिक्षक बनाइ गाउँघरमा विभिन्न किशोर–किशोरी समूह गठन गरी साप्ताहिक रूपमा विद्यालय तथा समुदायमा चेतनामूलक कार्यक्रम गरिरहेको छ । हिंसा रोक्नकै लागि जिल्लामा किशोर–किशोरी, अभिभावक, वृद्धवृद्धा सबैलाई विभिन्न प्याकेज बनाएर वर्षमा झन्डै छ हजार जनालाई हिंसाविरुद्धको चेतनामूलक तालिम दिएको उनले बताए ।

तालिममा स्वयं व्यक्ति, समुदाय, सञ्चार, अधिकार, खर्च, लैङ्गिक हिंसा लगायतका १५ खण्डमा रूपान्तरण गर्ने कुरा सिकाइने गरेको प्रशिक्षक देवकी सिंहले बताए । उनका अनुसार समूहमा आबद्ध किशोर–किशोरीले अरूलाई हिंसाविरुद्ध सचेत गराउन पहिले आफूबाटै सुरुआत गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपीए) का कार्यक्रम संयोजक धनबहादुर लम्सालले बालविवाह अन्त्यका लागि रुपान्तरण कार्यक्रम गरिरहेको बताए । ‘कार्यक्रमले बालविवाह अन्त्यमात्रै होइन, जीपनोपयोगी सीप, नेतृत्व विकास, क्षमता विकासका कुरामा पनि किशोर–किशोरीलाई अभ्यास गराइरहेको छ’, उनले भने ।

तालिममा सिकाइ आदान–प्रदान, चुनौती, उपाय, सफलताका कथा सङ्कलन, खर्च र बचत, नागरिक सहभागिता लैङ्गिकतामा आधारित हिंसा, यौन तथा प्रजनन स्वास्थ्य आदिका विषयवस्तुमा छलफल गरिँदै आएको उनले बताए ।

लम्सालका अनुसार परियोजनाले यौन तथा प्रजनन स्वास्थ्य, महिनावारी, महिनावारी चक्र र महिनावारीको समयमा सरसफाइ, व्यवस्थापन, हिंसा, दुव्र्यवहार, साइबर क्राइम, बालविवाह, यौनजन्य हिंसासम्बन्धी कानुनी उपचारका बारेमा किशोरीलाई प्रशिक्षण गराउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1201