१७ कार्तिक २०८१, शनिबार
सेती–३ जलविद्युत् आयोजनाको काम रोकियाे
बझाङ। जयपृथ्वी नगरपालिका वडा नं. ५ मा निर्माण हुने सेती–३ जलविद्युत् आयोजनाको काम रोकिएको छ । जग्गाको मूल्यमा स्थानीय र जयपृथ्वी नगरपालिकासँग कुरा नमिलेपछि जग्गा प्राप्ति प्रक्रियाका लागि आएको टोली उक्त काम नगरी फर्किएको छ ।
चिलिमे हाइड्रो पावर कम्पनी अन्तर्गतको चिलिमे सेती हाइड्रो पावर कम्पनीले निर्माण गर्न लागेको ८७ मेगावाट क्षमताको अर्ध जलाशययुक्त आयोजना निर्माणका लागि आवश्यक जग्गा प्राप्ति गर्न कम्पनीका बोर्ड सदस्यद्वय नारायणप्रसाद आचार्य र तुल्सीराम ढकालको टोली नगरपालिका र स्थानीयले जग्गाको मूल्य अस्वाभाविक भनेको दाबी गर्दै कामै नगरी फर्किएको हो । आयोजना निर्माणका लागि चिलिमे सेतीले जयपृथ्वी नगरपालिका–४ र ५ मा गरी २ सय ९७ रोपनी जग्गा प्राप्तिको प्रक्रिया अघि बढाएको थियो । जग्गा प्राप्ति ऐन २०३४ अन्तर्गत जग्गा अधिकरण गरी मुआब्जा निर्धारण गर्न बेलामा जयपृथ्वी नगरपालिकाले प्रतिरोपनी ७० लाख ५० हजारदेखि ७६ लाख ५० हजार रुपैयाँसम्म दिनुपर्ने निर्णय गरेर पठाएपछि निर्माण कम्पनी हच्किएको हो ।
मालपोत कार्यालय बझाङका अनुसार यस क्षेत्रको जग्गाको सरकारी दररेट प्रतिरोपनी चारदेखि ६ लाख रुपैयाँ छ । यद्यपि चलनचल्तीको मूल्य भने रोपनीको १० देखि ३० लाखसम्म रहेको स्थानीय बताएका छन् । स्थानीयहरुले भनेको चलनचल्तीको मुल्यभन्दा नगरपालिकाले दोब्बरवढी मुल्य भुक्तानी गर्नु पर्ने निर्णय नगरपालिकाले गरेको छ ।
अस्वाभाविक मूल्य दाबी गरेर जग्गा प्राप्तिमा सहज ढंगले अगाडि नबढे यो आयोजनाको काम तत्काललाई स्थगित हुन सक्ने निर्माण कम्पनीका अधिकारीहरू भनाइ छ । जग्गा प्राप्तिका लागि आएको कम्पनीको टोली काम नगरी फर्किएपछि आयोजना नबन्ने हो कि भन्ने स्थानीयको चिन्ता छ । नगरपालिका र जिल्लाकै विकासका लागि महत्व राख्ने यो आयोजना निर्माणले गति लिनुपर्ने स्थानीय चन्द्रजङ्ग सिहले बताउनुभयो ।
यता जयपृथ्वी नगरपालिकाका प्रमुख चेतराज बजालले आयोजनाको काम प्रभावित गर्ने नगरपालिकाको कुनै मनसाय नरहेको बताएका छन । बढी मूल्य माग गर्दा त्यसको आधासम्म प्रभावितहरूले पाउलान् भन्ने मनसाय राखेर त्यो निर्णय गरेको र आफुहरु आयोजनाको टिमसँग निरन्तर सम्पर्कमा रहेको उहाँले बताउनुभयो । आयोजना निर्माणका लागि नगरपालिकाले गर्नुपर्ने सहजीकरण गर्न तयार रहेको बताउँदै नगरप्रमुख बजालले आयोजना, नगरपालिका र स्थानीयसँग छलफल गरेर छिट्टै टुंगोमा पुग्ने बताउनुभयो । मुआब्जा निर्धारण समितिका संयोजकसमेत रहेका प्रमुख जिल्ला अधिकारीले पनि अहिले नै आयोजना प्रभावित हुन्छ भन्ने हल्ला गर्नु उपयुक्त नहुने बताए । मूल्य निर्धारण उपसमिति गठन गरेको र त्यसको प्रतिवेदन आउन बाँकी नै रहेको उहाँले बताउनुभयो ।
२०७४ सालमा विद्युत् विकास विभागबाट सर्वेक्षण अनुमति पाएको यस आयोजना गत वर्ष मात्रै सम्भाव्यता अध्ययन र ईआईएको काम सम्पन्न गरेको थियो । आयोजनाको १४ मिटर अग्लो र ६७ मिटर लामो बाँध सदरमुकाम चैनपुर नजिक पानकोटमा रहने छ । त्यहाँको पानी ४ हजार २ सय मिटर लामो सुरुङमार्गबाट जयपृथ्वी नगरपालिकाको सुतियामा पु¥याएर भूमिगत विद्युत्गृहबाट विद्युत् उत्पादन गरिने योजना छ । कुल लागत १९ अर्ब अनुमान गरिएको यो आयोजना ‘नेपालको पानी, जनताको लगानी’ कार्यक्रमअन्तर्गत निर्माण हुन लागेको हो ।
निर्माणपछि प्रभावित क्षेत्रका बासिन्दालाई १० प्रतिशत सेयर दिनेछ । चिलिमे हाइड्रो पावर कम्पनीको ३१ प्रतिशत सेयर रहने यस आयोजनामा नेपाल विद्युत् प्राधिकरणको १० प्रतिशत, सुदूरपश्चिम प्रदेश सरकारको ५ प्रतिशत र स्थानीय सरकारको ५ प्रतिशत सेयर रहनेछ । यस्तै, आयोजनाको ३३ प्रतिशत सेयर सर्वसाधारणलाई वितरण गरिनेछ । विद्युत् प्रसारण लाइन प्रभावित क्षेत्रका बासिन्दालाई ३ प्रतिशत र कर्मचारीलाई ३ प्रतिशत सेयर वितरण गरिने कम्पनीले जनाएको छ । आयोजना निर्माण सुरु भएपछि रोजगारी सिर्जना हुने र आर्थिक गतिविधि बढ्ने स्थानीयको अपेक्षा छ । यो समाचार बझाङबाट कान्तिपुर लेख्नुभएको हो । कान्तिपुरबाट हामीले साभार गरेको हौ