यी ५ कलेज पनि अब सुदूरपश्चिम विश्वविद्यालय मातहत

सेयर गरौं

कञ्चनपुर। कञ्चनपुरको महेन्द्रनगरस्थित केन्द्रीय क्याम्पस रहेको सुदूरपश्चिम विश्वविद्यालयले पाँच आंगिक क्याम्पस थप्ने निर्णय गरेको छ । सुदूरपश्चिमका विभिन्न ठाउँका पाँच क्याम्पसलाई आंगिक क्याम्पस बनाउने निर्णय विश्वविद्यालयले गरेको हो । 

विश्वविद्यालयको विशेष साधारण सभाले बझाङका दुई, बैतडी डडेल्धुरा र कञ्चनपुरका एक/एक क्याम्पसलाई आंगिक क्याम्पस बनाउने निर्णय गरेको विश्वविद्यालयका सूचना अधिकारी सन्तोष बिष्टले जानकारी दिए। 

‘कुलपति सम्माननीय प्रधानमन्त्री ज्यूको उपस्थित विशेष साधारण सभाले सुदूरका थप पाँच कलेजलाई आंगिक क्याम्पस बनाउने निर्णय गरेको छ’, उनले भने। 

उनका अनुसार कञ्चनपुरको झलारीस्थित कृष्ण बैजनाथ बहुमुखी क्याम्पस, डडेल्धुराको भीमदत्त बहुमुखी क्याम्पस, बैतडीको पुर्चौडी बहुमुखी क्याम्पस, बझाङको सुनकुडा बहुमुखी क्याम्पस र बझाङदीप बहुमुखी क्याम्पसलाई आंगिक क्याम्पस बनाउने निर्णय भएको हो ।

‘यो विश्वविद्यालयकोतर्फबाट भएको निर्णय हो, दरबन्दी स्वीकृत लगायत कुराहरु सरकारसँग जोडिएका छन’, सूचना अधिकारी बिष्टले भन्नुभयो, ‘ती प्रक्रिया टुंगो लगाउने गरी सरकारले निर्णय गर्नु आवश्यक छ।’

वि.सं. २०७४ सालमा पनि विश्वविद्यालयले सुदूरपश्चिममा छ आंगिक क्याम्पस थप्ने निर्णय निर्णय गरेको थियो। त्यस बेला कञ्चनपुरको दोधारा चाँदनीस्थित भानु बहुमुखी क्याम्पस, कैलालीको सुख्खड बहुमुखी क्याम्पस, लम्की बहुमुखी क्याम्पस, डोटीको केदारज्योति बहुमुखी क्याम्पस र दार्चुलाको शंकरपुर बहुमुखीलाई आंगिक क्याम्पस बनाउने निर्णय गरेको थियो।

सरकारले दरबन्दी स्वीकृत लगायतमा कुनै निर्णय नगर्दा ती क्याम्पस अझै सुदूरपश्चिम विश्वविद्यालय मातहत आउन सकेका छैनन्। वि.सं. २०६८ सालमा स्थापना भएको सुदूरपश्चिम विश्वविद्यालयको एक केन्द्रीय क्याम्पस र १५ आंगिक क्याम्पस सञ्चालनमा छन्।

टीकापुर बहुमुखी क्याम्पस, दार्चुला बहुमुखी क्याम्पस, बाजुरा क्याम्पस, त्रिवेणी बहुमुखी, घण्टेश्वर सेती महाकाली, जनता बहुमुखी, जयपृथ्वी बहुमुखी, बडिमालिका क्याम्पस, मणिलेक बहुमुखी र पाटन बहुमखी क्याम्पस सुदूरपश्चिम विश्वविद्यालयमा आंगिक क्याम्पस हुन।

यस्तै, जगन्नाथ बहुमुखी क्याम्पस, गोकुलेश्वर बहुमुखी, कैलाली बहुमुखी, सीताराम बहुमुखी र दुर्गालक्ष्मी बहुमुखी क्याम्पस अत्तरिया सुदूरपश्चिम विश्वविद्यालयसँग आबद्ध छन्। सुदूरपश्चिम विश्वविद्यालयमा चार सय ९१ जना प्राध्यापक र एक सय ७९ कर्मचारी छन् । २३ हजार तीन सय ९९ विद्यार्थी विश्वविद्यालयमा अध्ययनरत रहेका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1314