बिसु पर्व मनाउन घर फर्किँदै सुदूरपश्चिमेली

सेयर गरौं

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको मुख्य नाकाका रूपमा रहेको झुलाघाटमा स्वदेश फर्किनेको सङ्ख्या बढ्दै गएको छ ।  रोजगारीका लागि भारत गएका सुदूरपश्चिमेली नयाँ वर्ष नजिकिएसँगै घर फर्किन थालेका छन् ।

सुदूरपश्चिममा नयाँ वर्षलाई ‘बिसु’ पर्र्वका रूपमा समेत मनाइने भएकाले काम गर्नका लागि भारत पसेका फर्किने गर्दछन् । सुदूरकै पुरानो पहाडीनाका झुलाघाट भएर बैतडी, बझाङ, बाजुरा, अछामलगायतका जिल्लाका स्थानीय बिसु मनाउन घर फर्कने गरेका छन् । सीमानाका झुलाघाटबाट नेपाल फर्किनेको घुइँचो लागेको सीमा प्रहरीचौकी झुलाघाटका इञ्चार्ज योगेशकुमार पालले जानकारी दिए ।   हाल दैनिक दुई सय बढी नागरिक भारतबाट नेपालतर्फ आउने गरेको सीमा प्रहरीचौकी झुलाघाटले जनाएको छ । घर फर्किनेको नाकामा भीडभाड बढेको छ ।

सुदूर पहाडका अधिकांश सर्वसाधारण मजदुरीका लागि भारतका विभिन्न सहर जाने गरेका छन् । छोटो तथा लामो समयका लागि परदेशिएका स्थानीय चाडपर्वका लागि घर फर्कने गरेका छन् । अधिकांश स्थानीय खेतीपातीमा लाग्ने भएकाले दुई–चार महिनाका लागि कामको खोजीमा भारत पस्ने गरेका छन् ।यहाँका स्थानीय गहुँ लगाएर तीन महिनादेखि छ महिनासम्म मजदुरीका लागि भारतीय सहरमा गएर पैसाको जोहो गर्छन् । पश्चिमी पहाडी क्षेत्रका विपन्न परिवारका व्यक्ति यस नाकाबाट भारतमा रोजगारीका लागि जाने गर्दै आएका छन् ।

अहिले सीमानाका झुलाघाट, बैतडी सदरमुकाम गोठलापानीबाट सञ्चालन हुने सवारीसाधनमा पनि यात्रुको चाप बढेको छ । बिसुका लागि घर फर्किनेको सङ्ख्या बढेसँगै यात्रुको चाप बढेको यातायात व्यवसायी बताउँछन् । नयाँ वर्ष घरपरिवारका सबै सदस्य एकै ठाउँमा बसेर मनाउने चलन भएकाले घर बाहिर रहेकाहरू पनि घर फर्कने गरेको दोगडाकेदार–३ का स्थानीय गणेश विष्टले बताए । यहाँ नयाँ वर्षको पहिलो दिनलाई धुमधामका साथ बिसु पर्वका रूपमा मनाउने चलन छ । बिसु पर्व विशेषगरी सुदूरपश्चिमका सात पहाडी जिल्लामा मनाइन्छ । देवर भाउजु, नन्द भाउजु र साली भिनाजुले एकापसमा सिस्नुपानी छ्यापेर यो पर्व मनाइन्छ ।

देवर र नन्द नहुने भाउजु, भाउजु नहुने देवर,भिनाजु नहुने साली र साली नहुने भिनाजुले बिसु तिहारको दिनमा आफैँले भए पनि शरीरमा सिस्नो लगाउनुपर्ने परम्परा छ । हरेक वर्ष बिसु पर्वमा मीठा–मीठा खानाका परिकार बनाउने र विशेषगरेर सिस्नु लगाउने प्रचलन रहिआएको छ । बिसुका दिन सिस्नो लगाउँदा वर्षभरि शरीरमा कुनै रोग नलाग्ने जनविश्वास छ । शरीरमा सिस्नो लगाउँदा छालामा भएका खटिरा निको हुने र छालासम्बन्धी रोग निर्मूल हुने जनविश्वास पनि छ । तर पछिल्लो समय भने बिसु पर्वमा सिस्नो लगाउने चलन विस्तारै कम हुँदै जान थालेको छ ।

पहिलेको जस्तो रमाइलो गर्ने चलन हराइसकेको छ । सुदूरपश्चिमको महत्वपूर्ण पर्वका रूपमा रहेको बिसु पर्व आउनुपूर्व नै जिल्लामा रहेका सबै घर रातो र कमेरो माटोले लिपपोत गर्ने ९स्थानीय भाषामा घर छिप्ने० गरिन्छ । विशेषगरी घर छिप्ने कार्यमा महिला सक्रिय हुन्छन् । नयाँ वर्ष आउनुभन्दा पहिले नै घर छिपेमा वर्षभरि सुख, शान्ति र समृद्धि हुन्छ भन्ने जनविश्वास रहिआएको छ । वैशाख सुरु भएसँगै रोगब्याधी, महामारी र अनिकालको समय सुरु हुने भएकाले त्यसको रक्षाका लागि सिस्नो लगाउँदै घरपरिवारका सदस्यसँगै बसेर बिसु मनाउने चलन  छ ।

यसैबीच भारतबाट स्वदेश भित्रिनेको सङ्ख्या बढेसँगै कोरोना जोखिम पनि बढ्दै गएकाले स्वास्थ्य सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । भारतमा दिनप्रतिदिन कोरोना सङ्क्रमणदर बढिरहेको र त्यसको प्रभाव यहाँ पनि परेकाले जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए । सीमानाका झुलाघाटमा हेल्थडेस्क स्थापना गरेर अनिवार्य स्वास्थ्य परीक्षण र मास्कको प्रयोग गरेरमात्रै भित्रिन दिइएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1259