१३ माघ २०८१, आईतवार
नयाँ वर्ष २०८० साल सुरु,सुदूरपश्चिममा बिसु पर्व हर्षोल्सासका साथ मनाइँदै
बझाङ
आजबाट नयाँ विक्रम सम्वत् २०८० साल सुरु भएको छ । आज वैशाख १ गते नयाँ वर्षको पहिलो दिन रहेको छ ।। आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो ।
आजका दिन सुदूरपश्चिम प्रदेशमा मौलिक सांस्कृतिक पर्व बिसु मनाइँदै छ। सुदूरपश्चिमेलीले नयाँ वर्षलाई बिसु पर्वका रुपमा हर्षोल्सासका साथ मनाउँछन्।
सुदूरपश्चिममा बिसु पर्व हरेक वर्षको अन्तिम दिन र नयाँ वर्षको पहिलो दिनगरी दुई दिनसम्म मनाउने प्रचलन छ।
बिसु पर्व मनाउनका लागि देशका विभिन्न ठाउँ तथा विदेशमा रहेका सुदूरपश्चिमेलीहरु घर फर्किने गर्छन्। वर्षको अन्तिम दिन घरका सबै सदस्य एकठाउँमा जम्मा भएर ‘वर्ष समीक्षा’ गर्ने तथा मिठो मसिनो खाने गर्छन्।
वर्षको पहिलो दिन बिहानै स्नान गरी सिस्नो लगाउने गरिन्छ। सिस्नो लगाउँदा शरीरमा भएको विष ९विकार बस्तु० नाश हुने र रोगव्याधीबाट मुक्त भइने जनविश्वास छ।
देवर-भाउजु, नन्द-भाउजु, साली-भिनाजु, फुपु-सालीहरुका बीचमा सिस्नो र पानी छ्याप्दै बिसु पर्व मनाउने चलन छ।
बिसुपर्व मनाउने तयारी भने केही दिन अगाडि देखि नै हुने गर्छ। बिसु पर्वको अवसरमा गाउँघरतिरका घरहरू रातो–सेतो माटो (कमेरो)ले पोतेर चिटिक्क पारिन्छ।
पर्वका अवसरमा आफन्त तथा नातेदारहरुलाई निम्तो दिएर घरमा बोलाउने गरिन्छ। वर्षको अन्तिम दिन राति सेल, पुरी, माडा, निसोस्या लगायत मिष्ठान्न परिकार बनाएर सबै एक ठाउँमा बसेर खाने चलन रहेको छ।
नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीले हर्षाेल्लासका साथ एकआपसमा शुभकामना आदानप्रदान गरी मनाउँदै छन् ।
यस्तै, आजका दिन योजना बनाउने र कुनै काममा सफलता पाउनका लागि सङ्कल्प गर्ने चलन समेत रहेको छ । आजको दिन नयाँ कामको थालनी गर्ने परम्परा पनि रहेको छ । आज धेरैले गएको वर्ष गरेका कामको सफलता/असफलता मूल्याङ्कन गरी असफलता दोहाेरिन नदिने र सफलता प्राप्त गर्न योजना बनाउने एवम् सङ्कल्प गर्ने गर्दछन्।
आज बिहानै स्नान गर्ने, घर, कोठा–आँगन सफा गर्ने तथा आफन्त, परिवार र साथीभाइसँग भेटघाट गर्दै मिष्टान्न भोजन बनाएर खाने चलन छ । नयाँ वर्षका अवसरमा आज सार्वजनिक बिदा दिइएको छ ।
नयाँ वर्षको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले सबै नेपालीलाई शुभकामना दिनु भएको छ । आज शुभकामना दिँदै उहाँले राष्ट्रपतिले पारदर्शिता, जवाफदेहिता र सुशासन लोकतन्त्रका आधार स्तम्भ भएका र यिनै अवयवको सही कार्यान्वयनबाट नै लोकतन्त्रप्रति नागरिकको भरोसा जागृत हुनेमा आफू विश्वस्त रहेको बताउनु भएको छ ।
यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि आशा र साहसका साथ राष्ट्रका क्षमता उजागर गर्ने बताउनु भएको छ । नयाँ वर्ष २०८० को अवसरमा शुभकामना दिँदै उहाँले केवल क्यालेन्डर मात्र परिवर्तन नगरि नेपाल राष्ट्रको आर्थिक र सामाजिक जीवनमा पनि रचनात्मक परिवर्तन ल्याउने सङ्कल्प गर्नु भएको छ ।
विक्रमादित्यले चलाएको सम्वत् भएकाले यो सम्वतलाई विक्रम सम्वत् भनिएको हो। मल्लकालदेखि नेपालमा मौलिक सम्वतका रुपमा विक्रम सम्वत चलेको हो। नेपालमा मात्र मौलिकरुपमा यो सम्वत् चल्छ। भारतमा सरकारी सम्वत शक सम्वत भए पनि व्यवहारमा इस्वी सम्वत चलेको छ।