बझाङ जिल्ला बाट कञ्चनपुर सम्म लगिने पश्चिम सेती ४ सय केभी बिधुत् प्रसारण आयोजनाको काम सुरु

सेयर गरौं

बझाङ जिल्लाबाट डोटी, डडेल्धुरा हुँदै कञ्चनपुरसम्म ल्याइने पश्चिम सेती चार सय केभी विद्युत् प्रसारण आयोजनाको काम सुरु भएको छ ।

राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले प्रस्तावित आयोजनाका लागि हाल वातावरणीय अध्ययन (प्रारम्भिक वातावरणीय परीक्षण)को कार्य गर्न दुईवटा कम्पनी खटाएको छ ।

आयोजनाको काम दुई खण्डमा हुन लागेको जानकारी डिभिजन वन कार्यालय डडेल्धुरालाई भएको वन अधिकृत रामविचारी ठाकुरले बताए । उनका अनुसार डडेल्धुराको नवदुर्गा गाउँपालिका, गन्यापधुरा गाउँपालिका, आलिताल गाउँपालिका र परशुराम नगरपालिका भएर प्रसारण लाइन कञ्चनपुरको छेला पुगाउने प्रस्ताव गरिएको छ । वन क्षेत्रको अध्ययन गर्न दुईवटा कम्पनीका विज्ञसहितको टोली डडेल्धुरा पुगेका छन् ।

नेपाल सरकार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत आयोजनाको काम सुरु गरिएको पत्र प्राप्त भएको जानकारी उनले दिए । अध्ययनका लागि नेपाल विद्युत् प्राधिकरण, विद्युत् उत्पादन कम्पनी लिमिटेड, राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड र जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडको सेयर लगानीमा स्थापित सरकारी स्वामित्व र नियन्त्रणमा रहेको सार्वजनिक निकाय एनईए इन्जिनियरिङ कम्पनी लिमिटेड र इटेको–आरआईएमसी श्रेष्ठ जेभी कम्पनीले अध्ययन थालेको छ ।

प्रश्चिम सेतीसँगै बझाङ जिल्लामा निर्माण भइरहेका जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि प्रसारण आयोजनाको काम थालिएको अध्ययन गरिरहेको एनईए इन्जिनियरिङ कम्पनी लिमिटेडका वनविज्ञ कृष्णप्रसाद घिमिरेले जानकारी दिए । उनका अनुसार बझाङको जयपृथ्वी नगरपालिका–१ देखि डोटीको शिखर नगरपालिका–१०, वनलेकसम्म करिब ६० किलोमिटर दूरीको प्रसारण आयोजना एनआईए इन्जिनियरिङले निर्माण गर्नेछ । यो कम्पनीले १४८ टावर निर्माण गर्नेछ । यसको प्रभावित क्षेत्र डडेलधुरा जिल्लाको नवदुर्गा गाउँपालिका–४ रहेको छ । नवदुर्गा गाउँपालिका–४ मा चारवटा टावर पर्नेछ ।

शिखर नगरपालिका–१०, वनलेकदेखि कञ्चनपुरको बेदकोट नगरपालिका–२, छेलासम्म करिब ६५ किलोमिटर दूरीको प्रसारण आयोजना अर्काे कम्पनी इटेको–आर आईएमसी श्रेष्ठ जेभीले निर्माण गर्ने गरी अध्ययन थालेको छ । यो कम्पनीले १५७ वटा टावर निर्माण गर्नेछ । यसको प्रभावित क्षेत्र डडेलधुराको गन्यापधुरा, आलिताल गाउँपालिका र परशुराम नगरपालिका रहेको छ ।

कञ्चनपुरको दैजी छेलामा प्रस्तावित न्यु अत्तरिया–दैजी सबस्टेसन ४०० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण तथा सञ्चालन प्रसारण लाइनको क्षेत्राधिकार ४६ मिटर फराकिलो रहनेछ । लाइनको दायाँ÷बायाँ २३÷२३ मिटर रहने वन डिभिजन कार्यालयलाई पठाइएको पत्रमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1314