खप्तडमा पहिलो पटक अध्यात्म सम्मेलन हुँदै

सेयर गरौं

–विमलबहादुर विष्ट

खप्तड क्षेत्रमा लाग्ने गङ्गा दशहरा मेला (जात्रा) आजदेखि सुरु भएको छ । ‘गङ्गा दशहरा मेलामा जाऔँ, खप्तडका सुन्दर फाँटहरु घुमौँ, त्रिवेणीमा स्नान गरौँ’ भन्ने नाराका साथ यस वर्ष भव्य रुपमा मेला लागिरहेको छ । जेठ/असार महिनामा गङ्गा दशहरा र साउन/भदौमा यहाँको खापरदहमा ठुलो इन्द्रजात्रा मेला लाग्ने गर्छ । गङगादशहरा मेलामा जाने तीर्थयात्रीहरु गङ्गादशहरा मेलाका दिन त्रिवेणीमा नुहाउँदा पाप पखालिने, पितृलाई तर्पण दिँदा पितृले मुक्ति पाउने र स्वर्ग जाने, मनको इच्छा पुरा हुने गाढा विश्वास रहेकाले यो मेलाको आकर्षण बढेको हो ।

गङ्गादशहरा मेलाको अवसर पारेर यही जेठ १२ देखि १७ गतेसम्म उक्त हाई अल्टिच्युड म्याराथन प्रतियोगितालगायत भलिबल प्रतियोगिता, घोडा दौड प्रतियोगिता र देउडा प्रतियोगिता पनि आयोजना गरिएको छ । म्याराथन प्रतियोगितामा कम्तीमा ४२ दशमलव ५ किलोमिटर दूरी हुनुपर्ने नियम भएकाले सोही अनुसारको दूरीमा प्रतियोगिता गराइने आयोजक डोटी उद्योग वाणिज्य सङ्घ तथा सुदूरपश्चिम खेलकुद परिषद्ले जनाएको छ ।

डोटी उद्योग वाणिज्य सङ्घ तथा सुदूरपश्चिम खेलकुद परिषद्को आयोजनामा खप्तडको प्रवेशद्वार झिग्रानादेखि शैलेश्वरीसम्म महिलाहरुका लागि हाफ म्याराथनसमेत हुने भएको हो । म्याराथन प्रतियोगितामा प्रथम हुनेलाई रु एक लाख २५ हजार, द्वितीयलाई रु ८० हजार नगद तथा तृतीय हुनेलाई रु ५० हजार दिइने आयोजकले जनाएको छ । यसैगरी, हाफ म्याराथन (महिला) मा प्रथम हुनेलाई ५० हजार नगद, द्वितीय हुनेलाई ३० हजार, तृतीय हुनेलाई २० हजार नगद पुरस्कार दिइने छ । अन्य प्रतियोगिताका विजयीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ ।

म्याराथन प्रतियोगिता जेठ १७, घोडा दौड प्रतियोगिता जेठ १५, पुरुष भलिबल प्रतियोगिता जेठ १३ देखि १६ गतेसम्म र देउडा प्रतियोगिता १६ गते राति हुने भएको डोटी उद्योग वाणिज्य सङ्घका महासचिव दीपकबहादुर खड्काले जानकारी दिनुभयो ।

आध्यात्मिक सम्मेलन पनि हुँदै

सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र एवं ‘भू–स्वर्ग’ को उपमाले चिनिएको खप्तडमा पहिलो पटक आध्यात्मिक सम्मेलन हुने भएको छ । सुदूरपश्चिम प्रदेश सरकार तथा खप्तड पर्यटन विकास समितिको पहलमा सो सम्मेलन यही जेठ २३ देखि २५ गतेसम्म आयोजना गर्न लागिएको हो ।

आध्यात्मिक पर्यटनको प्रवर्द्धन गर्दै प्रदेशको समग्र विकासमा टेवा पु¥याउने उद्देश्यले यो सम्मेलन गर्न लागिएको खप्तड क्षेत्र पर्यटन तथा व्यवस्थापन समितिका कार्यकारी निर्देशक भीमबहादुर खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “खप्तड आफैँमा प्रकृतिले भरिपूर्ण क्षेत्र हो, यहाँको सुन्दरतालाई थप विकास गर्न तथा खप्तड क्षेत्रलाई विश्वमा चिनाउन हामीले आध्यात्मिक सम्मेलन गर्दैछौँ ।”

सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही जेठ २३ गते उद्घाटन गर्नु हुने कार्यक्रम रहेको खप्तड पर्यटन विकास समितिका अध्यक्ष हर्कबहादुर सिंहले जानकारी दिनुभयो । भारतीय योगगुरु बाबा रामदेव र बालकृष्ण आचार्यले योग शिविर सञ्चालनसहित प्रवचन दिने कार्यक्रम रहेको आयोजनकले जनाएको छ । उक्त सम्मेलनका लागि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको संयोजकत्वमा चार सय एक सदस्यीय सम्मेलन मूल तयारी समिति र विभिन्न १२ उपसमिति गठन गरिएको छ ।

डोटीका प्रदेशसभा सदस्य तथा नेकपा (माओवादी) केन्द्रका नेता शिवसिंह ओलीले खप्तडको सुन्दरता देशविदेशमा चिनाउने तथा पर्यटकहरु आकर्षित गराउने यो ठुलो अवसर हुने बताउनुभयो । सम्मेलनमा कम्तीमा पनि दश हजार सहभागिता रहने बताइएको छ ।

समुद्री सतहबाट झन्डै तीन हजार दुई सय मिटरको उचाइमा रहेको खप्तड क्षेत्र प्रकृति, पर्यापर्यटन, आध्यात्मिक लगायतको दृष्टिले महत्वपूर्ण रहेको छ । सुदूरपश्चिमका पहाडी तथा हिमाली जिल्लाहरु बझाङ, बाजुरा, अछाम र डोटीको सङ्गम क्षेत्रका रुपमा रहेको यो क्षेत्रमा खप्तडबाबाले पाँच दशकसम्म साधना गर्नुभएको थियो । विसं २०४२ सालमा राष्ट्रिय निकुञ्ज स्थापना भएदेखि प्रचारप्रसारका साथ खप्तडले पर्यटकलाई आकर्षित गर्दै आएको छ ।

विसं २००२ साल बझाङी राजा रामजङ्ग सिहंको अगुवाइमा भू–स्वर्गकाका जङ्गलमा तपस्या गरेको र त्यसपछि खप्तडलाई देवभूमिका रुपमा रहेको बताउँदै देश विदेशमा यसको महत्व र धार्मिक पर्यटनको महत्वबारे प्रचार/प्रसार गरेपछि यस ठाउँको महिमा र सुन्दरताले व्यापक चर्चा पाएको बताइन्छ । २२ पाटन, २५ मैदान र ५२ वटा थुम्काहरु (झोती) ले खप्तडलाई अझै उचाइमा पु¥याएको छ ।

यहाँ आँखाले नभ्याउने विशाल फाँटहरु, हिउँदमा सेताम्मे र बसन्त ऋतुमा रङ्गीविरङगी फूलले छपक्कै छोपेका मैदानहरु, अझ भनौं स्वर्गकै एक टुक्रा खसे जस्तो लाग्दछ । हिउँदको बेला बाक्लो हिउँमा पहिलो पटक टेक्दा त धर्तीको स्वर्गमा पुगे झैं अनुभूति हुने ठाउँ हो खप्तड । यो क्षेत्रमा खप्तडबाबाको कुटी, सहस्त्र लिङ्ग, विभिन्न २२ पाटन, ५३ झोती (टापु) लगायतका आकर्षक संरचना रहेका छन् । खप्तड राष्ट्रिय निकुञ्ज पनि रहेको यो क्षेत्र झन्डै दुई सय २५ वर्ग किलोमिटरमा फैलिएको यस क्षेत्रमा विभिन्न जडीबुटी पनि पाइन्छ ।

पौराणिक कालमा सिद्घ तथा ऋषिमुनिहरुले तपस्या गरेको यस क्षेत्र ‘खेचरादी’ पर्वतका रुपमा समेत वर्णन गरिएको छ । खेचरादी पर्वतको नाम बिस्तारै खप्तड रहन गएको भन्ने जानकारहरु बताउँछन् । पौराणिक कालमा कौरव र पाण्डवको युद्घ हुँदा पाण्डवहरुले चौध वर्ष वनबास बस्दा केही समय खप्तडमा बिताएको किम्वदन्ती रहेको छ । खप्तडमा दोस्रो नम्बरका पाण्डव भीमले हलो जोत्दा फालीले फ्याँकेको माटोबाट थुम्का (झोती) बनेका भन्ने पनि किंवदन्ती रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1246