१७ कार्तिक २०८१, शनिबार
डोटीमा स्थापना हुन लागेको प्रदेश स्तरको इन्जिनियरिङ क्याम्पसले आधिकारिकता पायो
डोटी । डोटीमा स्थापना हुन लागेको प्रदेश स्तरको इन्जिनियरिङ क्याम्पसले आधिकारिकता पाएको छ ।
त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थानको आंगिक क्याम्पसको रूपमा सो क्याम्पसले आधिकारिकता पाएको परियोजना संयोजक रामप्रसाद पौडेलले जानकारी दिनुभयो ।
‘नेपाल सरकारको आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा प्रत्येक प्रदेशमा स्नातक तहकाको इन्जिनियरिङ क्याम्पस स्थापना गर्ने भन्ने व्यवस्था भएको थियो’ पौडेलले भने ‘सोही अनुसार सुदूरपश्चिम प्रदेश स्तरको क्याम्पस डोटीमा स्थापना भएको हो ।’
असार १२ गते बसेको त्रिभुवन विश्वविद्यालयको सभाले उक्त क्याम्पसको नाम खप्तड क्याम्पस स्वीकृत गरेको पौडेलले बताउनु भयो ।
क्याम्पसले आधिकारिकता पाइसकेपछि अव पूर्वाधार निर्माणको काम अघि बढ्ने पौडेल बताउँछन् । उनले भने ‘हाललाई चार करोड ५० लाख बजेट विनियोजन भएको छ, यसले क्याम्पसको गुरुयोजना बनाउने र जग्गा सम्म्याउने काम हुन्छ ।’ उनले बिस्तारै कक्षाकोठा भवन, प्रयोगशाला भवन, प्रशासनिक भवन निर्माण हुने बताउनु भयो ।
सोमवार एक कार्यक्रमका बीच क्याम्पसको आधिकारिक कार्यालय स्थापना गरिएको छ । हाललाई जिल्ला समन्वय समिति डोटीको भवनमा कार्यालय स्थापना भएको हो ।
क्याम्पसले आधिकारिकता पाएको भए पनि तत्काल कक्षा सञ्चालन हुने अवस्था नरहेको पौडेल बताउँछन् । उनी भन्छन् ‘त्रिवि सभाको बैठकमा भौतिक संरचना नबनेसम्म कक्षा सञ्चालन अनुमति दिन नहुने भन्ने कुरा उठेको छ, त्यसैले तत्कालै कक्षा सञ्चालन हुने सम्भावना कमै छ ।’
उनले क्याम्पसका लागि शिक्षक र कर्मचारीहरूको दरबन्दी पनि सिर्जना नभइसकेको बताए । दरबन्दी सिर्जना भई पूर्वाधार निर्माण भएपछि कक्षा सञ्चालन गर्नु उपयुक्त हुने समेत पौडेलको भनाई छ । उनले पहिलो चरणमा सिभिल र कम्प्युटर इन्जिनियरिङ कार्यक्रम सुरु गर्ने सोच रहेको उनको भनाइ छ ।