अपरिचित केटी साथीको कारणे बने जनक रेडियोकर्मी

सेयर गरौं

जनक भाट बैतडी :

सुन्दर सुदूरपश्चिमको पहाडी जिल्ला बैतडीमा जन्मिएको म। मेरो बालापन बैतडीकै सुन्दर गाउँ श्रीकोटमा बित्यो। सानोमा हजुरबुबा, हजुरआमा, बाबा र आमासँग बसेकाले होला म रेडियोतिर निकै आकर्षित थिएँ।

उहाँहरू धेरै नै रेडियो सुन्नुहुन्थ्यो। म त्यही हुन्थेँ, रेडियो सुन्दा मनमा विभिन्न प्रश्नहरू आउँथे। यति सानो डब्बाभित्र कसरी मान्छे अटाएको होला भनेर जान्न मन लाग्थ्यो। के म पनि यसरी नै बोल्न सकुँला र भन्ने विचार आउँथे।

अरूको घरमा टिभी र स्मार्ट फोनको प्रयोग हुन्थ्यो। तर मेरो परिवार अरूको भन्दा गरिब भएर होला रेडियो र टिकटिके फोन प्रयोग गर्थ्यौं। त्यही गरिबीले मलाई आज यहाँसम्म पुर्‍यायो। घरमा पनि स्मार्ट फोन र टिभी भइ दिएको भए कहिले पनि रेडियो सुन्दैनथेँ होला।

समय बित्दै गयो। म ६ कक्षामा पुगेँ। त्यसपछि बुबाले मेरो पढाइ राम्रो होला भनेर आफू कार्यरत विद्यालयमा लग्नुभयो। त्यसपछि दोगडाकेदर गाउँपालिकास्थित सनातन धर्म माध्यमिक विद्यालयमा पढ्न प्रेरित गर्नुभयो।  जन्मभूमी जिल्लामै बसेर बाँकी अध्ययन सुरू भयो।

सानैबाट मलाई अतिरिक्त क्रियाकलापहरू गर्न मन लाग्थ्यो। सधैंजसो नयाँ कुरा सिक्न आतुर हुन्थेँ। समय बित्दै गयो। मैले १२ कक्षाको परीक्षा दिएँ।  रिजल्ट आउन तीन महिना लाग्थ्यो। त्यो अवधिमा घरमा बाख्रा चराउन जान्थे त कहिले समय बिताउन रेडियो सुन्थेँ।

रेडियोमा सबैभन्दा बढी साहित्य विधाका कार्यक्रमहरू मन पर्छ। स्थानीय रेडियोमा भएर होला कार्यक्रममा सहभागी हुने श्रोताहरू सबै चिनेका हुन्थे। म पनि मन लागेको बेला कार्यक्रममा सहभागी जनाउथेँ। मैले  बिस्तारै बैतडी र छिमेकी जिल्ला दार्चुलाका सबै रेडियो कार्यक्रममा सहभागी हुन थालेँ।

दुई साताभित्रै सबै रेडियोको नियमित श्रोता बन्न पुगेँ म। बिस्तारै कार्यक्रममा सहभागीहरूले समेत मलाई चिन्न थाले।
 
एकदिनको कुरा हो म रेडियो सुनिरहेको थिएँ। एक अपरिचित व्यक्तिको फोन आयो। फोन उठाएँ एकजना केटी बोलिन्।

‘म हजुरले कार्यक्रममा फोन गर्दा एकदमै धेरै खुशी हुन्छु र सुन्ने गर्छु, अनि म पनि कार्यक्रममा सहभागी हुन्छु’ भनेर भनेपछि मलाई पनि खुशी लाग्यो। 

ती केटीसँग दिनदिनै कुरा हुन थाल्यो। बिस्तारै विश्वास पनि गर्न थाल्यौं। 

एकदिन उसले ‘हजुर रेडियोमा काम गर्ने मान्छे भएको भए म कति सुन्थें हजुरलाई, आहा! हजुरको आवाज कति राम्रो छ। मेरो लागि भए पनि हजुर रेडियो क्षेत्रमा काम गर्नु न’ भनेर भनिन्।

मलाई पनि रेडियोमा बोल्न मन थियो तर अब उसले यति भनेपछि कुनै प्रयास गर्नुपर्ला भन्ने लाग्यो। 

मेरो मन पनि परिक्षाको नतिजा नआएसम्म के गर्ने भन्ने दोधारमा थिएँ। तर रेडियोमा काम गर्ने सोच आयो। त्यसैबेला बैतडी जिल्लामा नयाँ रेडियो खुलेको थियो। नयाँ रेडियोको लागि दुईजना कर्मचारी आवश्यकता थियो। त्यसमा म लगायत अन्य नौजनाले पनि फारम भरेका थिए।

हाम्रो अन्तर्वार्ता भयो र मेरो नाम पनि निस्कियो। त्यसबखत म एकदमै खुशी थिए किनकी एउटा केटीले गर्दा म आज यहाँसम्म आइपुगेको थिएँ।

परिवारले ‘त्यो फिल्ड तिम्रो लागि ठिक छैन’ भनी विरोध गर्दा पनि पत्रकारिताको यात्रा तय गरेँ।

आफू सही भए कसले के गर्छ भनेर स्थानीय ‘रेडियो निङ्ग्लाशैनी’ बाट काम सिक्ने अवसर पाएँ। यो तीन वर्षअघिझ कुरा हो।

त्यही क्रममा बिस्तारै पत्रकारिताको परिभाषा बुझेँ। पत्रकारिताको उपलब्धिबारे थाहा पाएपछि त झनै आकर्षित भएँ। अनि यसैलाई पेशा बनाउन आकर्षित भएँ।

नेपाली टाइपिङदेखि समाचार लेखन, स्टोरी तथा आर्टिकल लेख्न सिकेँ।

करिब साढे ३ महिनासम्म रेडियो निङ्ग्लाशैनीमा काम गरेपछि मलाई दार्चुलाको रेडियो चौलानी टुडेमा काम गर्ने अवसर प्राप्त भयो। मैले रेडियो चौलानी टुडेमा साहित्य विधाको कार्यक्रम चलाएँ।

 जुन केटीको कारण म रेडियोमा आएको थिएँ त्यो केटी पनि कार्यक्रममा सहभागी हुन्थी। त्यतिबेला दुवैमा उत्साह जाग्थ्यो।

त्यो केटीले मलाई धेरै विश्वास गर्न थालि। करिब छ महिना रेडियो चौलानी टुडेमा काम गरेपछी मैले कैलालीको रेडियो धनगढीमा काम गर्ने अवसर पाएँ र रेडियो चौलानी टुडे छोडेर रेडियो धनगढीमा पुगेँ। 

जब म धनगढी रेडियोमा गएँ। त्यो केटी मसँग बोल्नै छोडी।

कारण थियो ‘तिम्रो त केटीहरू धेरै  होलान्, धनगढी पुग्ने मान्छेको केटी नहुने त कुरै भएन’ भनेर बोल्नै छाडी।

ऊ बोल्न छोडेको केही दिन त अप्ठ्यारो भयो। मलाई यो क्षेत्र र यहाँसम्म पुर्‍याउने मुख्य हात रहेको केटी मसँग बोल्नै छोड्नु गलत हो भनेर। तर रहर होइन बाध्यता हो भने जस्तै गरी बिस्तारै त्यो केटीलाई भुल्दै गएँ। 

रेडियो धनगढीमा काम गरेको दुई महिना हुँदै गर्दा मलाई पुन: पहिला काम गरेकै दार्चुलाको रेडियो चौलानी टुडेमा थप विशेष सेवा सुविधाका साथ काम गर्न बोलाइयो।

म पुन: पाँच महिनाअघिदेखि रेडियो चौलानी टुडेमा काम गरिरहेको थिएँ। त्यसै समय घरमा हजुरबा बित्नु भयो। त्यसपछि म केही महिना घर बस्न बाध्य भएँ।

मिडिया क्षेत्रमा धेरै बिदा नपाइने हुँदा अर्को मिडिया रोज्न बाध्य भएँ। त्यसै कारण म अहिले कञ्चनपुरको रेडियो बेलौरीमा कार्यरत छु।

मलाई यहाँसम्म पुर्याउन विशेष हात रहेको ती अपरिचित केटी साथीलाई जो परिचित कहिले बनिन उसलाई हृदयदेखि नै नमन गर्न चाहन्छु। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1228