सुदूरपश्चिममा ‘लम्पी स्किन’बाट २५ हजार गाईवस्तु मरे, किसानलाई अर्बौको क्षति

सेयर गरौं

धनगढीः पशुमा लागेको ‘लम्पी स्किन’ रोगका कारण सुदूरपश्चिम प्रदेशका किसानले अर्बौ रुपैयाँ बराबरको क्षति बेहोरेका छन्। दुहुने भैँसी तथा गाईवस्तु लम्पी स्किन रोगले मर्न थालेपछि किसानको दैनिक आम्दानी नै बन्द भएको छ। सुदूरपश्चिम प्रदेशमा ३ लाख १० हजार पशु चौपाया सङ्क्रमित भएका छन्।

पशु चौपायाको मृत्युबाट सुदूरपश्चिमका किसानले ठूलो क्षति बेहोरेका छन्। यो रोगबाट करिब २५ हजार गाईवस्तु मरेपछि किसानलाई ठूलो नोक्सानी पुगेको छ। लाखौँको संख्यामा पशुहरु संक्रमित भएपछि दैनिक दूध उत्पादनमा कमी आएको छ। रोग नियन्त्रणको प्रयास भइरहेको पशुपन्छी विकास निर्देशनालयले जनाएको छ। सुदूरपश्चिम प्रदेश सरकारले रोग नियन्त्रणका लागि पशु चौपायालाई लगाउने खोपका लागि संघीय सरकारसँग समन्वय गरेर पीडित किसानलाई राहत र सहुलियतका कार्यक्रम ल्याउने जनाएको छ।

खोप लगाउन मात्र कैलालीमा दुई लाख डोज आवश्यक पर्ने देखिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र कैलालीका प्रमुख डाक्टर हेमराज अवस्थीले बताए। उनका अनुसार पहिलो चरणमा तीन सय, दोस्रो चरणमा दुई सय र अहिले दुई सय ८५ प्रति खोप खरिद मुल्य पर्ने गरेको छ। कैलालमिा मात्र दुई लाख खोपको डोज आवश्यक पर्ने देखिएको उनले बताए। यसका लागि चार करोड बजेट आवश्यक पर्ने देखिएको छ।

बाँकी ८ जिल्लामा पनि १६ लाख खोपको डोज खरिद गर्न ३२ करोड आवश्यक पर्ने देखिएको छ। लम्पी स्किन रोग लागेका गाई÷भैँसीमा ज्वरो आउने र शरीरको विभिन्न भाग तथा भित्रि तहमा गाँठागुठी देखिने, गाँठागुठीबाट पानी बग्ने र पाक्ने, पशु छटपटाउने, दुब्लाउँदै जाने, खुट्टा खोच्याउने, दूध उत्पादन घट्ने लगायत लक्षण देखा पर्ने गरेको पशुरोग चिकित्सकले बताएका छन्।

खोपबाट संक्रमण रोक्न सकिने भए पनि सुदूरपश्चिममा पर्याप्त खोप नभएको पशुचिकित्सको गुनासो छ। साथै लम्पी स्किनको उपचार थाहा नभएर पनि चौपाया मरेको डाक्टर अवस्थीले बताए। ‘चौपायालाई लम्पी स्किन हुँदा ज्वरो आउँछ। यसरी ज्वरो आउँदा सिटामोल खुवानुपर्थ्यो,’ उनले भने, ‘सही उपचार र संक्रमण फैलिनु अगावै खोप दिन नसक्दा पहाडी जिल्लामा धेरै पशु मरेका छन्।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1314