सुदूरपश्चिमको पर्यटन पुर्वाधार विकास गर्न माग

सेयर गरौं

धनगढी । सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले संघीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसंग प्रदेशको पर्यटन पुर्वाधार विकासका लागि थप बजेट व्यवस्था गर्न माग गरेको छ ।
प्रदेशका पर्यटन मन्त्री रमेशसिंह धामीले आइतबार काठमाडौं पुगेर संघीय पर्यटन मन्त्री सुदन किराँतीलाई ज्ञापन पत्र बुझाएर सुदूरपश्चिमको महत्वपूर्ण ऐतिहासिक र धार्मिकस्थलहरुमा पर्यटन पुर्वाधार विकास गर्नका लागि बजेट व्यवस्था गर्न माग गरेका हुन् । प्रदेशका पर्यटनमन्त्री धामी, पर्यटन सचिव देवकुमार ढकाल लगायतको टोलीले संघीय पर्यटनमन्त्री किराँतीलाई ९ बुँदे माग सहित ज्ञापन पत्र बुझाएको हो ।
देशमा सार्वजनिक अर्थतन्त्रमा आएको संकुचनसंगै सुदूरपश्चिम प्रदेश सरकारको बजेटमा पनि संकुचन आई प्रदेशको पर्यटन क्षेत्रको बजेट सिलिङ पनि घटेको छ । प्रदेश पर्यटन योजना कार्यान्वयन ईकाईका अनुसार गतवर्ष २२ करोड रुपैयाँ बजेट र रहेकोमा चालु आर्थिक वर्षमा पर्यटन क्षेत्रमा कार्यरत कर्मचारीको तलब भत्ता सहित ६ करोड रुपैयाँ मात्रै बजेट रहेको बताए । पर्यटन मन्त्री धामीले प्रदेशको १० वर्षे गुरुयोजनाको लक्ष्य पुरा गर्न चालुआर्थिक वर्षको बजेटले सम्भव नहुने भएकाले संघीय सरकारसंग थप बजेट माग गरी पर्यटन विकास गर्ने लक्ष्यका साथ ज्ञापन पत्र बुझाएको बताए । उनले मन्त्रालयलाई आफ्नो क्षेत्राधिकार भित्रको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सम्बन्धी काम गर्न केही जटिलता रहेको र सोको समाधान गर्न माग गरिएको बताए ।
ज्ञापन पत्रमा विदेशी पर्यटकहरुले आन्तरिक उडानको लागि महंगो हवाई भाडादर तिर्नुपर्ने विद्यमान व्यवस्थाका कारण विदेश पर्यटकहरु सुदूरपश्चिमसम्म आउन नसक्ने अवस्था रहेकोले आन्तसरक उडानमा नेपाली सरह नै विदेश पर्यटकहरुको भाडादर कायम गरिनुपर्ने माग गरिएको छ । सुदूरपश्चिमका विभिन्न ऐतिहासिक गढीहरु, दरबार, धार्मिक रुपले महत्वपूर्ण मानिएका पुराना मन्दिर, पुरातात्विक खोजको लागि विभागद्वारा अध्ययन गर्न पनि माग गरिएको छ ।
‘पर्यटक बोक्ने हरियो नम्बर प्लेटको सवारी साधनलाई प्रदेश पर्यटन मन्त्रालयले यातायात कार्यालयसंग समन्वय गरी दर्ता अनुमति दिने अधिकार दिनुपर्छ,’ ज्ञापन पत्रको अर्को बुँदामा भनिएको छ, ‘संघीय पर्यटन बोर्डको प्रदेशस्थित कार्यालयको नियमित र प्रभावकारी सञ्चालनका लागि संघीय सरकारले पहल गर्नुपर्छ ।’
प्रदेशको पर्यटन मन्त्रालयले संघीय मन्त्रालयसंग गेटा विमानस्थललाई क्षेत्रीय विमानस्थलको रुपमा स्तरोन्नती गर्न पनि माग गरेको छ । नेपाल वायुसेवा निगममार्फत् गेटा विमानस्थलबाट सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा साप्ताहिक उडानको अनुमति दिन समेत माग गरिएको छ ।
यसैगरी, नेचर गाईड र पर्यटन गाईड तालीम सञ्चालनका लागि सुदूरपश्चिममा नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटल म्यानेजमेन्छ (नाठन) को प्रदेश कार्यालय स्थापना गरी सञ्चालन गर्न पनि प्रदेश मन्त्रालयले माग गरेको छ । मन्त्रालयले नेपाल सरकारसंग प्याराग्लाईडिङ, रक क्लाईमिङ, बन्जी जम्प, जिप लाईन जस्ता साहासिक पर्यटन उद्योगहरु अनुमति दिने अधिकारी प्रदेश सरकारलाई दिन पनि माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1325