१९ आश्विन २०८१, शनिबार
आज भीम दत्त पन्तको ७१अौ स्मृति दिवस मनाईदै
सहिद भीमदत्त पन्तको आज ७१ अौ स्मृति दिवस मनाईदैछ । दिवसको अवसरमा आज बिहान डडेल्धुरा को बागबजार स्थिति पन्तको शालिकमा माल्यार्पण र साझ दिप प्रज्वलन गर्ने कार्यक्रम रहेको भीमदत्त स्मृति प्रतिष्ठानले जनाएको छ ।
१९८३ मंसिर १० गते डडेलधुरा को कारिगाउँमा जन्मिनु भएका पन्तको २०१० साल साउन १७ गते डडेलधुरा को आलिताल र डोटीको छतिवनको सिमानामा पर्ने गललेक भन्ने ठाउँमा हत्या भएको थियोे ।
जमिनदार र सामन्ती संस्कार बिरुद्ध आफ्नै घरबाट बिद्रोह गर्नु भएका पन्तले जोताह र किसानको पक्षमा आवाज बुलन्द गर्नु भएको थियो । किसानहरुलाई जाली तमसुक बनाउने र श्रम शोषण गर्ने ठालु हरुलाई कार्वाही गर्नुभएका पन्तले दलितको घरमा खाना खाएर छुवाछूत अन्त्य भएको घोषणा समेत गर्नु भएको थियोे ।
२००९ सालमा कञ्चनपुरको ब्रह्रमदेवमा राखिएको नुनको गोदाम कब्जा गरि किसानलाई बितरण गर्नु भएको थियो । किसान आन्दोलनको क्रममा उनका दुईवटा छोरा प्रेमराज र लिलाराज तथा छोरी रेवाको मृत्यु भएको थियोे ।
२०१० साल साउन १७ गते डडेलधुराको आलिताल र डोटीको छतिवनको सिमामा पर्ने गललेक भन्ने ठाउँमा नेपाल र भारत दुवै देशका सेनाको टोलीले संयुक्तरूपमा घेरा हालेर उनको हत्या गरेको थियो ।